Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

किमाथाङ्का नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै

किमाथाङ्का नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै


  • 1.9K
    Shares

    किमाथाङ्का नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै
    images

    किमाथाङ्का (सङ्खुवासभा) । चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि भोटखोलाको दैनिकी सहज बन्दै गएको छ । 

    यही जेठ १२ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तिब्वत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा एक समारोहका बीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ नाका पुनःसञ्चालनमा आएको घोषणा गर्नुभएको थियो । 

    कोरोना महामारीका बेला चीन सरकारले विसं २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो ।

    नाका पुनःसञ्चालनमा ल्याइ सीमावर्ती क्षेत्रमा सहज आवतजावतको व्यवस्था मिलाउन भोटखोलावासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । 

    नाका सञ्चालनमा आएपछि भोटखोलाका व्यापारीले तीन दिनमा रु एक करोड बराबरको कारोबार गरेको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । 

    नाका सञ्चालन भएपछि यहाँका ४३ जना व्यापारीले भोटखोलामा उत्पादित जडीबुटी, स्थानीयस्तरमा निर्मित हस्तकलाका सामग्रीबाट रु एक करोड कारोबार गरेका अध्यक्ष भोटेले बताए । 

    “भोटखोलाका नागरिकले परिचयपत्रका आधारमा किमाथाङ्का  नाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । हिमाली क्षेत्रमा उत्पादन हुने परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा सहजै प्रवेश पाएको छ । उत्तरी क्षेत्रमा रहेका व्यापार नाका खुलेसँगै सीमा क्षेत्रमा राज्यको उपस्थिति बढ्दै छ”, अध्यक्ष  भोटेले भने । 

    भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । त्यस क्षेत्रमा करिब पाँच हजारको बसोबास छ । 

    आलु र कोदोमात्र उत्पादन हुँदै आएको त्यस क्षेत्रका नागरिकले सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु भित्राएर जीविका चलाउँदै आएका थिए । 

    बन्द नाका खुलेपछि त्यो अवसरबाट बञ्चित भएका स्थानीयले अब चिनियाँ भूभागमा गएर रोजगारी गर्न पाउने अवसर खुलेको छ । 

    किमाथाङ्कामा विसं २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो तर द्वन्द्वका कारण विसं २०५७ सालदेखि सदरमुकाम खाँदबारीबाट सञ्चालन हुँदै आएको छ ।

    नाका खुलेपछि भोटखोलाका किमाथाङ्का, च्याम्ताङ्ग, चेपुवा, हटियालगायतका स्थानीयलाई राहत मिलेको छ । सदरमुकामबाट सडक यातायात नजोडिएकाले खच्चरबाट उपभोग्य वस्तु ढुवानी गर्दा महँगो पर्दै आएको थियो । 

    किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेरमात्र नाकामा पुग्न सकिन्छ । खाँदबारी किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीबाट किमाथाङ्काको दूरी एक सय ६२ किमी छ ।

    प्रकाशित मिति :जेठ २० २०८१ आइतवार - ०६:३२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij