२०८२ मंसिर १२ गते शुक्रवार
विराटनगर । सङ्घीय सरकारले आज सार्वजनिक गरेको वार्षिक बजेटमा कोशी प्रदेशका उद्योगी व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेट कार्यान्वयनमा विशेष ध्यान दिएमा सरकारले घोषणा गरेको कार्यक्रम र योजना पूरा हुने फलदायी हुने उहाँहरूको भनाइ छ ।
सरकारले उत्पादन एवं निर्यात बढाउन र मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन ‘कृषिको विकासका लागि एक दशक’ कार्यक्रम आर्थिक सुधारमा कोसेढुङ्गा सावित हुने उनीहरूको विश्वास छ ।
यस्तै बजेट वक्तव्यमार्फत घोषणा गरिएको प्रधानमन्त्री छोरी कार्यक्रमका लागि विनियोजन गरिएको रु १० करोडबाट देशभरमा हिंसा तथा विपद्मा परेका गरिब एवं विपन्न महिला लाभान्वित हुने भनाइ छ ।
विशेषगरी विराटनगरमा निर्माणाधीन अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला गौरवको योजनामा राख्नुले यस क्षेत्रमा खेलकुद र पर्यटन विकासमा मद्दत पुग्ने भन्दै यहाँ उत्साह छाएको छ ।
मोरङ सुनसरी क्षेत्रका उखु किसानलाई प्रोत्साहन गर्ने सरकारको निर्णयले उखु कृषक र उखुसँग आबद्ध चिनी कारखानामा काम गर्ने मजदुरको जीवनस्तरमा सुधार आउने नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतको भनाइ छ ।
“कोशीलाई औद्योगिक हब, विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, आर्थिक सुधार आयोग, पर्यटकीय गन्तव्य प्रोफाइल तयार गर्नेजस्ता कुरा आउनु बजेटको निकै सकारात्मक पक्ष हो”, उनले भने ।
अध्यक्ष राउतले केही तयारी वस्तुको पैठारी महसुल र अन्तःशुल्क वृद्धि गरिने कार्य सकारात्मक देखिए पनि विराटनगरले वर्षौंदेखि माग गर्दै आएको औद्योगिक क्षेत्र, प्रदर्शनी केन्द्र र चक्रपथबारेमा बजेट मौन देखिएकोमा भने गुनासो व्यक्त गरे ।
मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठीले आलु, प्याज, फलफूल र स्याउमा मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनु स्वागतयोग्य भएको चर्चा गर्दै औद्योगिक विकास र उद्यमशीलताका लागि छुट्याएको बजेटको कार्यान्वयन पक्ष कस्तो हुन्छ हेर्न बाँकी रहेको प्रतिक्रिया दिए ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले कृषिमा लगानी दशक घोषणा गर्नु, १६ लाख पर्यटकलाई भित्र्याउने, स्टार्टअप बोर्डको गठन, सीपमूलक तालिम, विद्यालयमा खुवाउने खाजा, स्थानीय उत्पादनको प्रयोगजस्ता राम्रा कार्यक्रम ल्याएको भन्दै प्रशंसा गरे ।
मोरङ उद्योग व्यापार सङ्घका उपाध्यक्ष अनिल सारडाले बजेटले मुलुकको समग्र विकासमा सहयोग पु¥याउने बताउँदै विराटनगर जुट मिललाई सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । सरकारले हेलमेटलगायतका उद्योग स्थापनामा सहुलियत दिने व्यवस्थाले उद्योग वृद्धिमा सहयोग पुग्ने उनले धारणा राखे ।
मोरङ उद्योग व्यापार सङ्घका पूर्वअध्यक्ष महेश जाजुले रु १२ खर्ब राजस्व असुली गर्ने लक्ष्य चुनौती पूर्ण छ भन्दै कृषि, पर्यटक, विद्युत्, शिक्षा तथा विज्ञानमा बजेट खर्च हुनु राम्रो हो भने ।
मदिरा, सुर्तीजन्य पदार्थबाहेक अन्य औद्योगिक उत्पादनमा अन्तःशुल्क वृद्धि भएमा स्वदेशी उत्पादनमा मूल्य वृद्धि भई तस्करीलाई प्रोत्साहन हुने उहाँको बुझाइ छ ।
अर्थविद् प्राडा वेदराज आचार्यले बजेटको सैद्धान्तिक पक्षा राम्रो भए पनि यसलाई मूर्तरूप दिन चाहिने आर्थिक स्रोतमा अत्यन्त ठूलो दबाब रहने प्रतिक्रिया दिए ।
वर्तमान बजेटले अनुत्पादक क्षेत्रको खर्च कटौती गरी उत्पादनशील, कृषि र सिँचाइ क्षेत्रमा खर्च वृद्धि गरिएमा बजेट समग्रमा राम्रो रहेको अन्य सरोकार भएकाहरूको समेत प्रतिक्रिया छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij