२०८२ माघ ११ गते आइतवार
काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ ।
बिहीबारको बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेपछि आज पुनः बैठक भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागबाट पछि नहट्दा सहमति हुन सकेको छैन ।
संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलका अन्य सदस्यमा नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र सांसद ज्ञानेन्द्रबहादुर कार्की तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij