२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौँ । बोटलर्स नेपालका दुई कम्पनी बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल (तराई) लिमिटेडले चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार यी दुवै कम्पनीको खुद नाफा गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको तुलनामा घटेको देखिएको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा बोटलर्स नेपाल बालाजुले ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ८६.२४ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २७५ रुपैयाँबाट घटेर २४ रुपैयाँ सीमित भएको हो । तेस्रो त्रैमाससम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६९१ गुणा छ भने प्रतिशेयर नेटवर्थ ३ हजार २२९ रुपैयाँ छ ।
कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य घटेसँगै खुद नाफा घट्न पुगेको हो । गत आवमा कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब २१ करोड रुपै्रयाँ रहेकोमा चालू आवमा घटेर ७ अर्ब १८ करोड रुपैयाँमा झरेको छ ।
चुक्ता पूँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको यस कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडा कोषमा ५ अर्ब ७० करोड ९८ लाख रुपैयाँ सञ्चित गरेको छ ।
त्यस्तै चालू आवको तेस्रो त्रैमाससम्ममा बोटलर्स नेपाल (तराई) लिमिटेडले २६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २७.५८ प्रतिशत कम हो । गत आवको सोही अवधिमा कम्पनीले ३६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको सञ्चालन आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो । गत आवमा कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा चालू आवमा घटेर ५ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३९८ रुपैयाँबाट घटेर २८८ रुपैयाँ सीमित भएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४४ गुणा छ भने प्रतिशेयर नेटवर्थ ३ हजार ३९७ रुपैयाँ छ ।
चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij