Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

धुमधामका साथ उँभौली मनाउँदै किरात समुदाय

धुमधामका साथ उँभौली मनाउँदै किरात समुदाय


  • 2.0K
    Shares

    धुमधामका साथ उँभौली मनाउँदै किरात समुदाय
    images

    काठमाडौं । पूर्वका किरात बस्तीहरुमा आजदेखि उँभौली पर्व प्रारम्भ भएको छ । वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किरात राईहरुले धुमधामका साथ यो पर्व मनाउछन् ।

    किरात राईको बसोबास रहेका पूर्वी पहाडी जिल्लाका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ, तथा राजधानी काठमाडौँलगायत सहरमा यो पर्व धुमधामका साथ मनाइदैँ छ ।

    उँभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस् सबैमा सुख शान्ति रहोस् र दैवीप्रकोप तथा विपत्ति नआउन भनी कृषि युगदेखि नै मनाउन थालिएको किरात संस्कृतिका अध्येता शुभराज राईले बताए । त्यसैगरी उँभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेँसीतिरबाट लेकतिर सर्ने सङ्केत गर्न तथा अन्नबाली लगाएको खुशियालीमा मनाइन्छ ।

    प्रकृति पूजक किरात समुदायले नदी तथा खोलामा माछा उकालो (उभो) पानी आउने ठाउँतिर बसाइ सरेको समयलाई उँभौली भनेको पाइन्छ । भाषा, संस्कार तथा संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उँभौलीका अवसरमा संसारभर छरिएर रहेका किरात आपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउ“दै आएको किराया उदयपुरका सदस्य निशान राईले बर्ता ।

    उँभौलीका अवसरमा सामूहिक रुपमा भेला भई दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा साकेला नाचिन्छ । राईहरु हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर साकेला नाच्दै यो पर्व मनाउँछन् भने सुनुवार ढोल बजाएर स्यादर नाच्छन् । हाल युवापुस्तामा साकेलाको आकर्षण बढ्दै गएको छ । युवाले साकेलामा माया प्रेमका शब्दहरुलाई जोडेर गाउने चलन पनि बढ्दै गएको छ । किरात बस्तीमा प्रशिक्षण नै सञ्चालन गरी साकेला नाच नाचिन्दैछ ।

    यसैबीच, खोटाङबाट रासस समाचारदाताले पठाएको समाचारअनुसार साकेला उँभौलीको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घर–घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरामा साकेला नाच्ने गरिन्छ । जिल्लाको किरात ऐतिहासिकस्थल तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुङ, रुपाकोट, मेरुङ, जन्तेढुङ्गा, छोङ्खालगायतका धार्मिक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ ।

    किराती राई समुदायको घनाबस्ती रहेको माँझ किरात खोटाङका हरेक गाउँ तथा बस्तीहरुमा साकेला सिली प्रदर्शन गर्दै उँभौली चाड मनाउने गरिएको छ । छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरा सुरुवाल, ढाका टोपी किराती मौलिक भेषभूषामा ठाँटिएर हरेक किरातीका घरघरमा नाच्दै गाँउदै हर्षोल्लासका साथ मनाइने यो पर्वमा किरात समुदाय मात्र नभई गैरकिरात समुदायका युवायुवतीहरुसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् ।

    बालकदेखि वृद्धवृद्धासम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले यो आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गरिन्छ । हात÷खुट्टाको चालले पङ्तिबद्ध रूपमा साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रियाहरु प्रदर्शन गरिन्छ ।

    किरात ऐतिहासिकस्थल मझुवागढीबाट औपचारिकरुपमा सुरुआत गरिने साकेला उँभौली महिना दिनपछि दिक्तेलको माटीकोरे खेल मैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गर्ने चलन छ । समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घ संस्थाका प्रतिनिधिलगायतलाई सहभागी गराएर साकेला सिली नाचिन्छ ।

    साकेला उँभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गरिएको छ । साकेला उँभौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाड मान्ने गरेका छन् । रासस

    प्रकाशित मिति :जेठ १० २०८१ बिहिवार - ११:४०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij