
२०८२ भाद्र ७ गते शनिवार
मेलापात र घरधन्दाले बा आमाको सास फेर्ने फुर्सद नहुने । बेफुर्सदी बा आमा देख्दा लेखपढ गर्नुछ भनेर चुप लागेर बस्न मन नमान्ने । बिहानीको झिसमिसेमै हँसिया र नाम्लो बोकेर पुगिन्थ्यो कि त पन्थेको भिर होइन भने मोहोरियाको पाखो ।
मगरदाई नउठ्दै घाँसको भारी पुगेनभने माथि भिरबाट गुल्टन्थे यामानका ढुंगाहरू । अनि जिउको परवाह नगरी भाग्नुपथ्र्यो भिरैभिर किनकी मगरको हातबाट जोगाउनु थियो हँसिया र नाम्लो । मगर दाई भन्थे– हाम्रो बनमा तिमीहरू आउन पाउँदैनौ ।
घाँसको भारी पुर्याउन ढिला भयो भने स्कुल जान ढिला हुने । स्कुल ढिला भयोभने प्रार्थना (एसेम्ब्ली)मा उभिनुपर्ने अनि बस्थ्यो पुठ्ठामा सिम्कनाको डाम ! खुत्ती खाईस् भन्थे साथीहरू । बाध्यताको यस्तो ईच्छाशक्तिले उज्यालो नहुँदै पुर्याउँथ्यो – कि त पाँडे चौतारा र पन्थेको भिर, कि त धर्मेगौंडो हुँदै अँधेरीखोला र मोहोरियाको पाखो ।
घाँसको भारी पुगेपछि अलमल गर्ने कुनै छुट हुँदैनथ्यो । कस् भाई टाप ! ‘पापीले उक्लन र ओर्लन नसक्ने’ विश्वास गरिएको अक्करे धर्मेगौंडा बाँदरको चालमा ओर्लेर जराङखोलाको बगर छिचोलेपछि आइपुग्थ्यो तालखोला । तालखोला तरेर खत्रीपातलको उकालो एकै सासमा काट्नु छ । किनकी छपिन्टारीमा बिसौनी छ । बिसौनी सँगै मकैबारी छ, मकैबारीमा बोडी छ अनि ‘चोरेको’ बोडीले मेटाउनु छ, भोक र प्यास ।
छपिन्टारीको बिसौनीमा घाँसको भारीलाई आराम गर्न दिएर मकैबारी छिरेपछि हातलाग्थ्यो १०/१५ कोसो बोडी । झिसमिसेमा ओह्रालो हानिएको जिउ घाँसको भारी बोकेर छपिन्टारीसम्म उक्लंदा भोक र तिर्खाले लखतरान हुन्थ्यो अनि दिन्थ्यो त्यही बोडीले त्राण । त्यही कुरो मित्र अशोकले बाँझो छपिन्टारीतिर औंल्याउँदै सम्झाए ।
यसपटकको गाउँ जवाइमा छपिन्टारीको याद आयो । अहो ! फल्ने बेला नभएपनि मकै र बोडीको बोट सराबरी उम्रेको होला । १०/११ वर्ष वयको स्कुले जीवनको सङ्घर्षका ती दिनहरूमा भोक र तीर्खा मेटाइदिने छपिन्टारीको मायाले तानेपछि साथी अशोक र म त्यहाँ पुगियो । तर देख्न चाहेको चिज भेटिएन । गायब थिए मकै र बोडीको बोटहरू । उम्रिएको थियो फगत् सिरु र गन्दे ।
छपिन्टारी त थारै पल्टिएको रहेछ !
अहो ! खै छपिन्टारीमा फल्ने मखैको घोगा अनि बोडीको कोसो ?
गोरखा, भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा ‘अक्कल’ले आफ्नो गाउँपालिकालाई ‘ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ र समृद्धि, समाजवाद उन्मुख नमुना गाउँपालिका’ बनाउने सोच अगाडि ल्याउनुभएको छ । छपिन्टारीमा उम्रेको सिरु र गन्देबाट त्यो प्राप्त हुँदैन । त्यसैले, थारै बसेका कैयन् ‘छपिन्टारी’मा फलाऔं फेरि मकै र बोडीहरू र बेचौं शहरतिर अनि ल्याऔं समृद्धि । सबै मिली बनाऔं सोच, बनाऔं वातावरण ।
छपिन्टारी थारो होइन, बनाइएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij