Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ठगेर विदेश भाग्नेविरुद्ध कडाइ गर्दै सरकार

ठगेर विदेश भाग्नेविरुद्ध कडाइ गर्दै सरकार


  • 3.2K
    Shares

    ठगेर विदेश भाग्नेविरुद्ध कडाइ गर्दै सरकार

    काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरू विदेशमा गएर लुक्ने प्रवृत्ति बढेसँगै सरकारले त्यस्ता अभियुक्तलाई इन्टरपोलमार्फत खोजी कार्य तीव्र पार्दै आएको छ । वैदेशिक रोजगार विभागले पछिल्लो समयमा वैदेशिक रोजगारीमा हुने ठगीका घटना बढ्न थालेपछि त्यस्ता अपराधीलाई विदेशबाट पक्राउ गरी कारबाही अघि बढाउन थालेको हो ।

    वैदेशिक रोजगारी कसुरका उजुरी र त्यसका अभियुक्तले गर्ने योजनामा समेत परिवर्तन हुन थालेपछि विभागले विदेशबाट समेत अभियुक्तलाई पक्राउ गर्ने योजना अघि बढाएको छ । नेपालमा युवाबाट रकम उठाउने र रकम सङ्कलन गरेर विदेश भाग्ने गरेका कारण पीडितले समयमा न्याय पाउन सकेका छैनन् । 

    विभागका महानिर्देशक डण्डुराज घिमिरेले विभागले नेपालमा ठगी गरेर संयुक्त अरब इमिरेट्स (युएई) मा लुकेर बसेका एक जना अभियुक्तलाई नेपाल ल्याएर कारबाही गरेको जानकारी दिनुभयो । उहाँका अनुसार ठगीका पीडित सन्तोष तामाङसमेत १८ जनाले विभागमा २०७९ असार १२ गते र अन्य पीडितले विभिन्न समयमा वैदेशिक रोजगारीमा ठगी उजुरी दिएपछि कसुरदार कालीकोट तिलागुफा नगरपालिकाका कमल विश्वकर्मालाई युएईबाट पक्राउ गरिएको हो । नेपालको इन्टरपोल शाखाले अन्तर्राष्ट्रियस्तरमा ‘रेड नोटिस’ जारी गरी एनसिबी अबुधाबीसँग समन्वय गरी युएर्ईमा फेला पारी विश्वकर्मालाई युएईबाट वैशाख १२ मा नेपाल झिकाई कारबाही अघि बढाएको थियो ।

    विश्वकर्माले वैदेशिक रोजगारका लागि युएईमा आर्मस् गार्ड र भिआइपी सेक्युरिटी गार्डको काममा लगाइदिने र मासिक तलब तीन हजार पाँच सय दिराम अर्थात् नेपाली एक लाख रुपियाँसम्म कमाइ हुने प्रलोभन देखाई छ जनाबाट ८२ लाख ६५ हजार १९० रुपियाँ लिएर फरार रहेका थिए । ठगीका अभियुक्तले युएई जानका लागि लागत आठ लाख रुपियाँ लाग्ने भनी विभिन्न किसिमको प्रलोभनमा पारी पीडित युवासँग पटक पटक गरी सो रकम लिई भ्रमण भिसामा युएई पठाई अलपत्र बनाएको विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । विश्वकर्माले युवालाई विदेश पठाइदिने प्रक्रिया हुँदै छ भनी झुक्याई युवाबाट रकम लिई ठगी गरेको दाबीसमेतका आधारमा विश्वकर्मालाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि विभागले नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखालाई पत्राचार गरेको थियो ।

    विश्वकर्मालाई वैदेशिक रोजगार न्यायाधिकरणबाट वैशाख १३ गते सात दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको र निज विश्वकर्मालाई केशव आचार्यसमेतको जाहेरीले वैदेशिक रोजगार ठगी कसुरमा न्यायाधिकरणको फैसलाले यसअघि नै सात वर्ष कैद र पाँच लाख रुपियाँ जरिबाना हुने ठहर गरी फैसला भएको थियो । सरकारले अधिकतम १० हजार रुपियाँ मात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय वैदेशिक रोजगार व्यवसायी सङ्घ (म्यानपावर) कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने गरेका कारण व्यक्तिगत ठगी बढेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    प्रकाशित मिति :बैशाख २८ २०८१ शुक्रवार - ०६:०६:१८ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij