
२०८२ भाद्र ७ गते शनिवार
०८४ मा सम्पन्न हुने आम निर्वाचनमा सके बहुमतै ल्याउने, नसके पनि ठूलो पार्टी बनिछाड्ने ‘मिशन’ लाई पुरा गर्न यस उपनिर्वाचनमा इलाम–२ बाट जित निकाल्नै पर्ने निचोडका साथ आफ्नो सम्पूर्ण शक्ति लगाएर होमिएको रास्वपा उम्मेदवारको जमानत नै जफत गराउँदै नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले सहज जित निकालेका छन् ।
स्थानीय तहको निर्वाचनमा काठमाडौं र धरानको मेयरमा स्वतन्त्र उम्मेदवारको जितको मेसो र विशेषतः पुराना दलप्रति युवा मतदाताको विकर्षणका बिच ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नयाँ नाममा मनग्य मत बटुलेको रास्वपा चितवन र तनहूँको उपनिर्वाचनमा शानदार जित निकाल्न सफल भएपछि त्यही सपना बोकेर इलामको निर्वाचनमा होमिएको थियो । तर, चर्को स्वर, अभिनयपूर्ण भाषण, सामाजिक संजालमा सस्तो प्रचार, चाहिनेभन्दा बढी चमकधमकबाट जित निकाल्ने सपना इलाममा तुहिएपछि उसले यस उपनिर्वाचनबाट गतिलै पाठ सिकेको हुुनुपर्छ ।
आफूलाई सबैभन्दा लोकतान्त्रिक र पुरानो पार्टी दावी गर्ने नेपाली काँग्रेसको विशेषतः संस्थापन इतरपक्ष चुनाव अघि गठवन्धन गर्नु जनता र मतदातालाई धोखा हो भन्ने उद्घोषका साथ यस उपनिर्वाचनमा होमिएको थियो । गठवन्धन धोखा हो भन्ने सन्देश दिनकै लागि भएपनि आफूलाई जिताइदिन उसले गरेको अनुनयलाई मतदाताले टेरेनन् । इलाममा काँग्रेसले प्राप्त गरेको र गुमाएको मत यसको प्रमाण हो । बझाङमा कलमले भोट नकाट्दा आफूले हार ब्यहोर्नुपरेको भनेर चित्त बुझाइरहेको काँग्रेस एमाले अध्यक्ष ओलीले भन्नुभएझैं बुढो भएकै हो ?
इलाम २ मा सम्पन्न उपनिर्वाचनले ०५६मा सम्पन्न आम निर्वाचनबाट एमालेले काठमाडौं उपत्कामा हासिल गरेको जीतलाई सम्झाउँछ । ०५४ सालमा एमाले पार्टी फुट्यो । एमाले फुटाएर मालेका अध्यक्ष बनेका वामदेव गौतम र उनको पार्टीेले ०५६ मा सम्पन्न आम निर्वाचनमा एमालेलाई पहिचान विरोधीको प्रचार गरेर उसलाई काठमाडौं उपत्कामा ठूलै धक्का दिने उद्देश्य लियो । मालेको यस अभियानमा नेवाः समुदायमा ‘पहिचानवादी’ भनेर चिनिएका धेरै नेवाः नेताहरूले पनि साथ दिए । तर परिणाम ठीक उल्टो निस्कियो । उपत्यकाको जम्मा १२ वटा निर्वाचन क्षेत्रमध्ये ललितपुरको तीनवटै र काठमाडौंको ७ मध्येबाट ५ वटा क्षेत्रबाट जित निकाल्दै एमालेले आफ्नो मजबुत साङ्गठानिक हैसियत देखायो भने माले शून्यमा सिमिति भयो ।
यस उपनिर्वाचनमा पनि ठीक यस्तै भयो । पहिचानवादीको छवि बनाएका विभिन्न संघ, संगठन र व्यक्तिहरूको समर्थन थेगिमलाई थियो । धरानका मेयर हर्क साङपाङले त उनकोे पक्षमा विभिन्न आमसभाहरूमा प्रभावकारी भाषण नै दिएका थिए । तर, एमालेलाई पहिचान विरोधी पार्टीको रुपमा चित्रित गर्दै उसलाई कोशी प्रदेश र त्यस प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा व्यवधानमात्र होइन, निषेध नै गर्ने प्रयास गर्दै आएका पहिचानवादीहरू आफ्नै उम्मेदवार खडा गरेर उपचुनावमा होमिएको भएपनि उनीहरूले जित निकाल्न सकेनन् । ७० प्रतिशत भन्दा बढी क्षेत्रीबाहुन इतरका जनसंख्या भएको इलाम –२ बाट आफ्नो सशक्त उम्मेदवारका वावजुद पनि जीत निकाल्न नसक्नु सोचनीय छ । तर, थेगिमले प्राप्त गरेको सम्मानजनक मतबाट भने पहिचानवादीहरूले आफ्नो मुद्दालाई जिवीतै राख्ने नैतिक बल प्राप्त गरेका छन् ।
यस उपनिर्वाचन रास्वपा र काँग्रेसलाई अफापसिद्ध भएपनि नेकपा एमालेको भने दुबैहातमा लड्डु परेको छ । बझाङ १ (क) मा सम्पन्न उपनिर्वाचनबाट एमालेले काँग्रेसको हातबाट प्रदेश सभा सदस्य फुत्काउन सफल भएको छ भने इलाममा कमजोर भनिएका उम्मेदवारलाई पनि आफ्नो पार्टीको बलियो सङ्गठनको आधारमा जिताउन सफल भएको छ ।
उपनिर्वाचनको यस नतिजाबाट एमालेलाई ०८४ को निर्वाचनमा एकल बहुमत निकाल्ने दृढताका साथ अघि बढ्न थप बल प्राप्त भएको छ । तर, एमालेका पनि अनेक दुःख र कमजोरी रहेका छन् । विशेषतः एमाले अध्यक्ष केपी ओलीको आफूविरोधीलाई मुन्टै उठाउन नदिने र निषेधै गर्ने प्रवृत्ती र एमाले भित्रको विभिन्न गुट÷उपगुट उसको निम्ति घातक हुनसक्छ । तर, बलियो र तल्लो तहसम्म जरा गडेको संगठन र जुझारु कार्यकर्ता हुनु यहीबेला वैकल्पिक र विश्वसनीय राजनीतिक पार्टी नहुनुको फाइदा उठाउँदै ०८४ को आम निर्वाचनमा उल्लेख्य जनमत हासिल गर्ने सम्भावना भने उसले बोकेर बसेको छ ।
यस उपनिर्वाचनमा आएको नतिजाबाट यति भन्न चाहिँ सकिन्छ– मतदाताले काँग्रेसलाई तिमीले भन्दैमा हुँदैन र रास्वपालाई ‘नयाँ’ भन्दैमा नयाँ हुँदैन भन्ने स्पष्ट सन्देश दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij