Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सङ्घर्ष र सङ्कल्पको सटीक कहानी : स्नेही छोरी

सङ्घर्ष र सङ्कल्पको सटीक कहानी : स्नेही छोरी


  • 4.8K
    Shares

    सङ्घर्ष र सङ्कल्पको सटीक कहानी : स्नेही छोरी

     जब बादल टुट्छ, पानी पर्छ; जब बिउ टुट्छ, बिरूवा बन्छ; जब माटो टुट्छ, गैरी खेत बन्छ- जब टुटेको महसुस हुन्छ, संयोगले जिन्दगी झन् सुन्दर स्वरूपमा रूपान्तरित हुन्छ । यदि गृहत्याग गरी परिवारसँग टुट्न इन्कारेकी भए गणेश कुमारीको रूपान्तरण आजकी ओजस्वी एवम् यशस्वी धम्मवती गुरुमाको रुपमा पाउने सायद कुनै गुन्जाइस हुँदैनथ्यो । थेरवादी बुद्धधर्मको ज्ञानको पानस बल्दैनथ्यो होला ।

    भनिन्छ नि-
    गुणा सर्वत्र पूज्यन्ते न महत्यो ऽपि सम्पदः
    पूर्णेन्द्रु: किं तथा वन्द्यो निष्कलंकको यथा: कृशः।
                             अर्थात्
    गुण नै पुजिने हो सर्वत्र । धनी त्यति पुज्य हुँदैन। भर्खर उदाएका द्वितीयाका चन्द्र जसरी पुजिन्छ पूर्णचन्द्रको त्यही ढङ्गले पूजा हुँदैन । धनीलाई भन्दा स्वाभाविक रुपमा गुणीलाई बढी आदर,सत्कार गरिन्छ ।
                                ***
    प्रसङ्ग हो- यथार्थवादी उपन्यास 'स्नेही छोरी'को ।
    बर्मेली भिक्षु 'र वे थ्वं' महास्थविरद्वारा लिखित सत्य घटनामा आधारित उपन्यास 'तमि छेत'को नेपाली भाषामा भाषान्तर । उनकै शब्दमा यो उपन्यास जीवनको वास्तविक घटनामा आधारित छ । अन्य उपन्यासमा झैँ कल्पना, मनोविश्लेषणमा आधारित कथानक छैन ।

    'खाली खुट्टाले नै किन नहोस् सही बाटो हिँड्नुपर्छ, सुनका जुत्ता  गलत होइन' भनी सोच्ने एउटी महान् नेपाली विराङ्गनाको अदम्य साहसको रोचक, यथार्थ तथा हृदयविदारक घटनाक्रमको इतिवृत्तमात्र हो यो । 'तमि छेत'लाई नेपालीमा अनुवाद गरेर 'स्नेही छोरी' शीर्षक दिई बडो मेहनतपूर्वक काम गरेका छन् मोतीकाजी शाक्यले । उनी यसर्थ पनि साधुवादका पात्र हुने नै भए।

    पारिवारिक र निजी खुसीलाई धितो राखेर किस्ता किस्तामा आउने पीडा, दु:ख र दर्दलाई सहजै सहन राजी हुनु आफैँमा असामान्य चेतना हो । सांसारिक जीवनलाई सुखमय बनाउने दर्मियानमा झेलेका ऊहापोह, पाएका आपत्, विपत् र हासिल गरेको सर्वोत्तम ज्ञानको बेलीविस्तार हो- स्नेही छोरी । एउटा व्यापारिक घरानाकी गणेश कुमारी कसरी शासनधज धम्माचरिय, अग्गमहागन्थवाचकपण्डित, भाषा थुवा भिक्षुणी धम्मवतीमा रूपान्तरित हुन सकिन् र यो मार्गमा अग्रसर हुने सिलसिलामा उनले केकस्ता झैझमेला खेपिन्- यही सेरोफेरोमा घुम्छ उपन्यासको विषयवस्तु ।

    बर्मेली स्थविर धम्मावुधको देशनाबाट प्रभावित एउटी चौधवर्षे चञ्चल किशोरी थेरवादी बौद्धधर्मप्रति कसरी त्यतिविधि आकर्षित भइन् कि जसले किशोर वयमा बर्मामा गई आफ्नो साध्य पूरा गर्न तम्तयार रहिन् भन्ने निकै मार्मिक कहानी छ यसमा । आमा र एउटा दाजुबाहेक सारा पारिवारिक तगारो, बाटोमा बिछ्याइएका असहयोग र झन्झटका काँडा छिचोलेर झमझम पानी परेको बिहान भाले नबास्दै आफ्ना दुई जना सहेली- शुभलक्ष्मी र मनोहरादेवी तथा तिनकी आमा लक्ष्मीमाया र सहोदर दाजु मानकाजीका साथ उनले घर छाडेकी थिइन् । कष्टसाध्य हिँडाइ, क्लान्त शरीर, जुकाको अविराम आक्रमण सहँदै बल्लतल्ल भीमफेदी चेकपोस्ट पार गर्छिन् तर दाइ मानकाजी बुवा हर्षमानले रोक्ने जाहेरी दिएका कारण त्यतै रोकिन्छन् । सकसपूर्ण ढङ्गबाट कुशीनगर पुग्छिन् उनी सखीहरू र लक्ष्मीमायाका साथ । कुशीनगरमै शीलवती बन्ने सिलसिलामा स्थविर धम्मावुधले उनको नाम दिन्छन्- धम्मवती भने उनका सँगीहरू शुभलक्ष्मीको माधवी र मनोहरादेवीको मागधी ।

    उनीहरूले लाख यत्न गर्दा पनि  बर्मा जाने प्रवेशाज्ञा हम्मेसी मिल्दैन । जसका कारण निराश बनेर दुई जना साथी- माधवी र मागधी-मातृभूमि नै फिर्ता  हुन्छन् केही समयपश्चात् किन्तु धम्मवती भने हरतरहले भिक्षु धम्मावुधसँग बर्मा जाने निधो गर्छिन् ।  गोरखपुर रेल वे स्टेसनमा दुई दिशातिर जाने रेलमा चढ्ने अन्तिम बिदाइका बखत धम्मवतीले छुट्टिँदै गरेका  साथीहरूलाई सम्बोधन गर्दै भन्छिन्- "यसरी दोबाटोमा छुट्टिनु परे पनि उसबेला नेपालमा हामीले एकसाथ गरेको प्रतिज्ञा नबिर्सनू !" 

    यसरी सखीहरूलाई छुट्याइदिने रेल वे स्टेसन बन्न पुग्छ- गोरखपुर रेल वे स्टेसन । लाग्छ- बहाना बनाउनेले इतिहास बनाउँदैन । यसर्थ किञ्चित निराश हुन्नन् गन्तव्यको शिखर चुम्न निस्किएकी शीलवती । यसैबीच धम्मवतीलाई सारनाथ,बोधगया, राजगृहका चैत्य र नालन्दाको प्रसिद्ध विश्वविद्यालय हेर्ने सुअवसर मिल्छ । यता साथीहरू नेपाल पुगेपछि पुनः घरबाट आफूलाई फिर्ता गर्न कोही न कोही आउने भयले पिरोल्न थाल्छ धम्मवतीलाई र तत्काल उनी अर्को उपाय खोज्छिन्, आफ्नो दृढसङ्कल्प पूरा गर्न । यदाकदा मनमनै सोच्थिन्- "जिन्दगीका निर्णयहरू सधैँ आफ्नो हातमा हुन्नन्, कहिलेकाहीँ त समयले जे दिन्छ त्यसैलाई स्वीकार्नुपर्छ ।" फेरि अर्को मनले भन्थ्यो- "बालापन छोडेर, बुबाआमाले देखाएको गन्तव्य मोडेर त यहाँ आइपुगेँ भने अब त दुनियाँलाई खाँचो भएको असल र ज्ञानी मान्छे बन्नैपर्छ म ।"  'यदि मैले अर्काको बाटो उज्यालो बनाउने लक्ष्यलाई पछ्याएँ भने मेरो बाटो पो कसरी अँध्यारो बन्ला र' भन्ने विचारले लगातार मार्गनिर्देशन गरिरह्यो उनलाई । भित्रभित्रै लागिरहन्थ्यो- कठिनाइहरू यसैले आउँछन् ताकि हामी दुई कदम अघि बढ्न सकौँ ।

    बङ्गाली विहारमा असमञ्जस पलहरू बिताउँदै गर्दा पन्जाबीहरूले उनीहरूबीच कुराकानी हुन्थ्यो । अपरिचित ती मान्छेहरूको कुराकानी पूरै नबुझे पनि पैदलमार्गमार्फत बर्मा जान सकिने कुरा घुइरो घुइरो बुझिन् । र, उनीहरू परिवारसहित जाने भए आफू पनि उनीहरूसँगै जाने बताइन् । काम छिटो फत्ते होस् भन्ने तृष्णा र अधीरताका कारण उनले अर्चनीय स्थविरहरूबाट गालीसमेत खानुपर्यो । तर, अन्ततः उनको दृढताको अघि स्थविरले नै सम्झौता गर्नु पर्ने भयो ।

    आसामबाट बर्माको सीमान्त सहर मिचिनासम्म जाने स्यान जातिका माहुतेको आठ जनाको टोलीसँग पैदलै पैदल एक हप्ता लगाएर जाने निधो भयो । अटप्पे वनको गोरेटो छिचोल्नु पर्ने थियो । कुनै बखत बौद्धधर्म अन्वेषक चिनियाँ भिक्षुहरू फा हि यान र हुएन साङ हिँडेको बाटो जस्तो । खरखरे पहाडको खोंच । बुट्यान र बोटहरूले भरिएको घना जङ्गल । शिरपोशझैँ प्रतीत हुने सेता बादलका चोइटाले ढाकिएका पहाडका माथ । अनगन्ती पक्षीहरूको सुमधुर कलरव । मन्द हावाको मौन झोक्का । न भूतको पश्चाताप, न भविष्यको चिन्ता । जङ्गलमै गाँस, जङ्गलमै बास ।

    तर मध्यरातमा ओडारको नजिकै लस्कँदै आएको बाघले झस्काइदिन्छ सबैलाई । बिथोलिदिन्छ मिठो निद्रा । माहुतेहरू भरभराउँदा अगुल्टा लिएर बाघ भएतर्फ लाप्पा खेल्न निस्कन्छन् भने शीलवतीको मनमा भयको भयङ्कर पाउलो पलाउँछ । सन्त्रासबीच पनि उनी सोच्छिन्- 'सुनको जुत्ता लगाएर अरूले हिँडाएको बाटो हिँड्नुभन्दा खाली खुट्टा आफूले रोजेको बाटो हिँड्नुको बेग्लै मज्जा !'

    अर्को दिन खुरिखन्ड होचा पहाडको बीच हिँड्ने सिलसिलामा चुलबुल गर्दै अघिअघि दौडिँदा शीलवती  झन्डै अजिङ्गरको आहार बनेकी । भयभीत चीत्कारले मात्र बालबाल बचेकी । रमणीय वातावरणले पुलकित शीलवतीलाई आकाशगङ्गाको तिरैतिरको परिभ्रमण अनुभूत भएथ्यो उतिखेर । कहिले आरोह त कहिले अवरोह । कहिले थकाइले चुर, कहिले प्रचुर रङ्गीचङ्गी फूलको महकले मखलेल ।

    अर्को दिनको बास- नाग जातिको थातथलोतिर । संयोगले यताको धाननाचजस्तै बाली फस्टाएकामा देवदेवीप्रति अनुगृहीत भई खुसियालीमा नाचिने नाच । दनदनी बलिरहेको अग्नि साक्षी राखेर मुकुटले आभूषित हुँदै  गरिने महिला पुरुषको सामूहिक नृत्य । न बाजाको धुन,  न गीतको लय । र,  पनि अति आकर्षक बान्कीको नर्तन । मनै लोभ्यायो धम्मवतीको । अर्को दिन पनि नेटो काट्ने उपक्रम जारी नै छ । रनवन छिचोल्ने क्रम पनि निरन्तर छ । पशु, पन्छी र वनबुट्यानसँग लुकामारी खेल्ने सिलसिला अटुट छ ।

    अब त भोक, तिर्खा, थकान र अनिद्रा साथी नै बनिसकेका छन् । आँसु होइन, पसिना बगाउनेतिर अभ्यस्त भइसकेका छन् सोदेश्य लम्केका यायावरहरू । छैटौँ दिन बितिसकेछ । त्यो दिन त हिम्मतसाथ यात्रा गरी मिचिना जाने सडक अपराह्न नै भेटिनु पर्ने दिन । तर हठात् बाटो बिराएर लक्ष्यविहीन बन्न पुगे उनीहरू । 'काशी जाने कुतीको बाटो' जस्तै बन्यो केही क्षण । कठिनाइसहित विजेता बन्न खोजेकाहरूले इतिहास रच्न लागेको दिन सुदिन बनेर जन्मेन । अपराह्न भेटिएको बाटोले समयमै गन्तव्य पुर्याउन सक्दैनथ्यो, त्यही भयो । छिप्पिसक्यो रात । मुस्किलसँग पुगे मिचिना जाने बाटोमा अवस्थित सानो गाउँमा । अझ पथप्रदर्शन गर्ने जिम्मेवारी पाएका माउतेहरू त दुई घण्टापछिमात्र ।

    मिचिना पुगे उनीहरू अर्को दिन । अफबाहमा टिकेको नेपाली समाजको प्रतिविम्बन त्यहाँ पनि प्रस्ट देखियो जब नेपाली केटीलाई बर्मेली भिक्षुले भगाएको भन्ने अफबाह भुसको आगोझैँ सल्कियो । चेकपोस्टमा प्रवेशाज्ञासँग सम्बन्धित कागजात खोजियो जुन थिएन धम्मवतीसँग । खासतः त्यहाँका स्थानीय प्रवासी नेपालीले आशङ्का र अज्ञानताका कारण लहैलहैमा स्थविर धम्मावुधलाई कानुनी कारबाही गराउन खोजेका थिए, परन्तु भइदियो ठिक उल्टो । जमानत पेस गर्न नसक्ने भएपछि कानुनत: धम्मवती सुरक्षाफन्दामा पर्ने नै भइन् । त्यतिखेर उनलाई लाग्यो- "एउटा जितका निम्ति कैयौँ चोटि हार्न तयार भइयो भने सम्झनुपर्छ जित पक्का छ ।" यही आहानले ढुक्क त भइन् अपितु मुटुको ढुकढुकी भने मन्थरिएन । वृहत् बहसपश्चात् पनि उनको मोलमिन सहर गई शीघ्रातिशीघ्र त्रिपिटक पढ्ने योजना तत्काल सफल हुने देखिएन । अनेक कानुनी झमेला त्यहाँमात्र आएनन् । उनको जमानत स्थानीयले बुझाएपछि याङ्गुन त पठाइयो परन्तु त्यसपछि पनि स्थानीय कानुनले लघारिरह्यो शीलवतीलाई । यसरी सकसपूर्ण तवरले भएको उनको धर्मयात्राको अप्ठ्यारो समाप्ति भयो । तिनै दर्दैदर्दले क्लान्त शिक्षार्थीले २००९, असोज ८ गते खेमाराम विहारमा प्रवेश पाइन् र एक वर्षको छोटो अवधिमै सद्धम्मपाल परीक्षामा प्रथम श्रेणीमा प्रथम भइन् । ती एक अपरिचित अनागरिका मानिपो (नेपाली केटी) नै 'शासनधज धम्माचरिय' उपाधिद्वारा विभूषित भइन् । परियत्ति र परिपत्ति अभ्यास गर्न सक्षम बनिन् । साँच्चि नै जीवनमा दुइटा दिन निकै अमूल्य हुँदारहेछन्- एउटा व्यक्ति जन्मेको दिन र अर्को आफूले आफू किन जन्मिएको हो भनेर पत्ता लगाई मनन गरेको दिन । यस्तै भयो शीलवती धम्मवतीको त्यो दिन ।

    'समय मूल्यवान् हुन्छ र अझ मूल्यवान् त सत्य हुन्छ' जुन पथ हिँड्नका निम्ति न त जोकोही सहजै राजी हुन्छ, न समर्थवान् नै । तर त्यही मूल्यवान् समयलाई धम्मवतीले यथासमयमै पर्गेल्न सकिन् ।

    मूल कथ्य नै यथार्थ घटनामा आधारित यो उपन्यास पठनीय र सङ्ग्रहणीय त छँदैछ; अर्ती, उपदेश र सङ्कल्पका शृङ्खलाले भरपुर पनि छ । भाषिक र वर्णविन्यासको लेन्सबाट यो कृतिलाई हेर्न खोजियो भने चाहिँ पटक पटक पाठकको आँखा बिझाउँछ, मनमा ठेस पुग्छ । यति महत्त्वपूर्ण सामग्रीलाई प्रकाशन गर्दा किन यतातर्फ किञ्चित ध्यान नदिइएको होला भन्ने सवालसमेत लगभग वाक्य वाक्यमै खट्किन्छ । 

    प्रकाशित मिति :बैशाख १३ २०८१ बिहिवार - १५:३७:५९ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij