२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को नौ महिनामा सुनको आयात २० प्रतिशतले घटेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको वैदेशिक व्यापार तथ्याङ्क अनुसार साउनदेखि चैत मसान्तसम्ममा १६ अर्ब १२ करोड २५ लाख ८२ हजार रुपैयाँ बराबरको १९ लाख १ हजार ८६४ ग्राम सुन आयात भएको छ ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा १७ अर्ब २८ करोड ७ लाख ८२ हजार रुपैयाँ बराबरको २३ लाख १६ हजार ५८६ ग्राम सुन आयात भएको थियो ।
राजश्व संकलनमा भने वृद्धि
विभागले सार्वजनिक गरेको तथयाङ्क अनुसार सुनको आयातमा कमी आएतापनि सुन आयातबाट सरकारलाई प्रप्त हुने राजश्व संकलनमा भने वृद्धि भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब ४१ करोड ८४ लाख ९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत अर्थिक वर्षमा भने १ अर्ब ९६ करोड ९१ लाख १ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
कोटा बढाउदा पनि भित्रिने परिमाणमा भने गिरावट
विभागको तथ्याङ्क अनुसार सरकारले सुन आयात कोटा बढाउदा पनि भित्रिने परिमाणमा भने गिरावट आएको छ । कोभिड महामारीलगत्तै विदेशी मुद्रा सञ्चिति घट्न थालेसँगै सरकारले आयात कडाइ गर्न भन्दै सुनको कोटा घटाएको थियो ।
उक्त समयमा सरकारले सुन आयातको दैनिक कोटा २० किलोबाट घटाएर १० किलोमा सीमित राखेको थियो । तर गत असोजबाट भने सुन आयात गर्ने दैनिक कोटालाई २० किलो नै पु¥याइएको छ । र, परिमाण बढाउँदा पनि सुन आयात भने बढ्न नसकेको भन्सार विभागको तथ्याङ्कमा देखिएको छ ।
किन घट्यो सुनको आयात ?
सुनको आयात कम हुनुमा अवैध कारोबार, मूल्य वृद्धि र खपत घट्दै गएको व्यवसायीहरू बताउछ । आर्थिक मन्दी, सुनको मूल्यमा आएको वृद्धि र सरकारको नीतिको कारण सुनको आयात घटेको नेपाल सुनचाँदी ब्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।
सुनको भाउ लगातार बढ्दै गएको कारण पनि सुनको माग घटेको उनी बताउछन् । २०७९ चैतबाट सुनको कारोबार एक लाख रुपैयाँ माथि नै भइरहेको छ । २०७५/७६ मा प्रति तोला सुनको मूल्य ६० हजार रुपैयाँको हाराहारीमा रहेको थियो । अहिले सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ भन्दा बढीको हाराहारीमा पुगि सकेको छ ।
‘सुनको भाउ बढ्दै गएको छ । तर क्रयशक्ति बढेको छैन । सुन किन्ने मान्छे नै नभएपछि आयात हुने कुरो नै भएन’, उनले भने, ‘एक त अन्तराष्ट्रियस्तरैमा सुनको भाउ महँगो भएको छ । साथै, सरकारले पछिल्लो समय भन्सार बढायो यसको प्रभाव पनि सुनको आयातमा परेको हो ।’
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सुनको भन्सार १० प्रतिशतबाट १५ प्रतिशतसम्म पुर्याएको थियो । उनले मूल्यवृद्धि मुख्य करण रहेको बताउँदै देशको आर्थिक गतिविधि सक्रिय रूपमा चलायमान नहुनु, उपभोक्तासँग प्रयाप्त क्रयशक्ति नहुँदा बजारमा सुनको माग घट्दा आयातमा समेत कमी आएको जीकर गरे ।
चाँदीको आयात पनि घट्यो
विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको नौ महिनामा सुनको साथै चाँदीको आयात पनि घटेको देखिएको छ । गत आर्थिक वर्षको नौ महिनामा ८८ लाख ४३ हजार ७१२ ग्राम चाँदी आयात भएकोमा चालु आवमा १२ लाख २३ हजार ७३१ ग्राम चाँदी आयात भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij