Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

विद्यार्थी भर्ना अभियानमा नेता–मन्त्रीकै बेवास्ता

विद्यार्थी भर्ना अभियानमा नेता–मन्त्रीकै बेवास्ता


  • 2.7K
    Shares

    विद्यार्थी भर्ना अभियानमा नेता–मन्त्रीकै बेवास्ता

    मकवानपुर । ५ वैशाख २०७५ मा बाग्मती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले विद्यालय भर्ना अभियानलाई समर्थन गर्दै एकै दिन तीन जना बालबालिकाको अभिभावकत्व गरे । उनीहरूलाई पौडेलले सामुदायिक विद्यालयमा भर्ना गराए ।

    नेपाल सरकारले सुरु गरेको भर्ना अभियानअन्तर्गत पौडेलले पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीमा दुई बालबालिका भर्ना गराइ आफूले अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धता जनाए । सोही दिन उनले मनहरीकै महेन्द्र किरण माविमा एक बालकलाई आफूले अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराए । उनले मनहरी–६ जोगीटारका स्थानीय ६ वर्षीय सन्जित ब्लोन र जेसिका प्रजालाई राष्ट्रिय मावि सुनाचुरीमा कक्षा एकमा भर्ना गरिदिएका हुन् । उनीहरू दुवै जना ६–६ वर्षका थिए । तर ती बालबालिका अहिले कति कक्षामा पुगे ? स्कुल पढ्दै छन् वा पढ्न छाडे पौडेललाई थाहा छैन । ‘मैले अभिभावकत्व ग्रहण गरेको हो तर अहिलेको अवस्था थाहा छैन,’ पौडेले भन्छन्, ‘२०७६ सम्म त ख्याल गरेको थिएँ, पछि मैले नि भ्याइनँ ।’

    पूर्वमुख्य मन्त्री पौडेलले अभिभावकत्व ग्रहण गरेका सन्जित ब्लोन अहिले भारतको मृकबजार भन्ने ठाउँमा गुम्बामा लामा विद्या पढ्दै छन् । ‘भर्नापछि उहाँहरू फर्केर आउनुभएन, मलाई दुई जना छोराको खर्च धान्न पनि समस्या नै थियो अनि भारत पठाएँ,’ सन्जितका बुबा भीमबहादुर ब्लोनले भने, ‘यहाँ मलाई खर्च धान्न पनि समस्या थियो, अहिले उनीहरू उता पढ्छन् र अलिअलि पैसा पनि पठाउँछन् ।’

    अर्की बालिका जेसिका, यस वर्ष कक्षा ४ मा अनुत्तीर्ण भइन् । पौडेलले २०७५ सालमा स्कुल भर्ना गरेर शैक्षिक सामग्री र विद्यालय पोसाकसमेत सहयोग गरेका थिए । अहिले उनलाई शैक्षिक सामग्रीको जोहो गर्न धौधौ भएको बुबा ज्ञानबहादुर प्रजाले बताए । ‘उनकी आमाको पनि मृत्यु भयो, दिदी रेबिकालाई पनि मामा घरमा राखेर पढाएका छन्, मेरो त ८ सन्तान, पढाउने खर्च नै छैन,’ ज्ञानबहादुरले भने ।

    पूर्वमुख्यमन्त्री पौडेलले मनहरीकै महेन्द्रकिरण माविमा भर्ना गराइका सुमन चेपाङ (वर्ष ६)को पनि अभिभावकत्व ग्रहण गरेका थिए । सुमन पनि आफूलाई थाहा नभएको पौडेलले बताए ।

    पौडेलले मात्रै होइन, सोही भर्ना अभियानअन्तर्गत प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले पनि हेटौंडा उपमहानगरपालिका–५ स्थित बालज्योति माविमा ४ वर्षीय युयब राईलाई नर्सरी कक्षामा भर्ना गराएका थिए । उनी पनि अहिले विद्यालयमा छैनन् । विद्यालयका प्रध्यानाध्यापक भरत अर्यालका अनुसार दाहालले विद्यालय भर्ना गरेका बालक पछिल्लो वर्षबाटै विद्यालयमा छैनन् । उनको खोजीमा दाहालले पनि विद्यायमा चासो देखाएनन् ।

    यसैगरी, संघीय सरकारका तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि मकवानपुर जिल्ला मनहरी गाउँपालिकामा रहेको महेन्द्र किरण माविमा स्थानीय ६ वर्षीय सविन थिङ र विश्वास थोक्रालाई अभिभाकत्व ग्रहण गरी भर्ना गरेका थिए । उनीहरू दुवै अहिले विद्यालयको सम्पर्कमा छैनन् । विद्यालयमा अभिभावकको जिम्मेवारी लिएका खतिवडाले पनि बालबालिकाको खोजी गरेका छैनन् । ‘अहिले विद्यालयको रेकर्डमा उनीहरू छैनन् । नेताज्यू पनि सोध्न आउनुभएको थाहा छैन,’ विद्यालय प्रशासनले भन्यो ।

    बाग्मती प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले पनि दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका थिए । उनले रौतहट जिल्ला घर भएका निराकर रायमाझी र लीलाकर रायमाझीको अभिभावकत्व ग्रहण गरेका थिए । ढुंगेलले हेटौंडा–२ स्थित सिद्धार्थ माविमा भर्ना गराएका रायमाझी दाजुभाइमध्ये निराकारले लगत्तै अर्को वर्षबाट स्कुल छाडे । दुई वर्षपछि लीलाकारले पनि स्कुल छाडे । पूर्वअर्थमन्त्री ढुंगेलले कुनै चासो देखाएनन् ।

    उनीहरूको पढाइ खर्च बेहोर्ने भन्दै अभिभावकत्व ग्रहण गरेर विद्यालय भर्ना गराएका ढुंगेलले त्यसयता ती बालबालिकाको खोजी नै नगरेको विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले बताए । मन्त्रीका सन्तान बनेर विद्यालय भर्ना भएका उनीहरू अहिले कहाँ छन् भन्ने कुरा विद्यालयलाई समेत थाहा नभएको विद्यालयका पूर्वप्रधानाध्यापक मोहन शर्मा बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    प्रकाशित मिति :बैशाख ९ २०८१ आइतवार - ०४:४७:२५ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij