Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षा

शैक्षिक संस्थामा राजनीतिकरण अन्त्य गर्न प्रधानमन्त्रीलाई प्राज्ञिक समूहको ध्यानाकर्षण

शैक्षिक संस्थामा राजनीतिकरण अन्त्य गर्न प्रधानमन्त्रीलाई प्राज्ञिक समूहको ध्यानाकर्षण


  • 2.9K
    Shares

    शैक्षिक संस्थामा राजनीतिकरण अन्त्य गर्न प्रधानमन्त्रीलाई प्राज्ञिक समूहको ध्यानाकर्षण

    काठमाडौं । प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरूमा राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन् ।  सोमबार त्रिभूवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद व्यक्त गर्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् । उनीहरूले विश्वविद्यालय र सबै शैक्षिक संस्थाहरूमा राजनीतिको गन्ध आउन दिनु नहुने बताए ।

    प्रधानमन्त्रीलाई भेटेर धन्यवाद ज्ञापन गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्रिभूवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले सबै राजनीतिक दलहरूले विश्वविद्यालय र प्राज्ञिक संस्थामा राजनीतिक अन्त्य गर्नुपर्ने बताए । उनले कुनै शैक्षिक संस्थामा पनि राजनीतिकरण, हस्तक्षेप र खेलवाड हुनेछैन भनेर राजनीतिक दलहरूले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताए ।

    प्राध्यापक डा. अर्जुन कार्कीले विश्वविद्यालयको र प्राज्ञिक क्षेत्रको सुधारका लागि राजनीतिक नेतृत्वले विश्वविद्यालयको नेतृत्व चयन गर्दा योग्यता,क्षमता र प्रतिवद्धताकै आधारमा छान्नुपर्ने बताए । उनले दलीय निकटताको हिसावले नभएर योग्य मानिस र क्षमतावान मानिस छान्दा नै विश्वविद्यालयको सुधार हुने धारणा राखे । उनले विश्वविद्यालयको नेतृत्व सुधार गर्नु अपरिहार्य र महत्वपूर्ण पक्ष भएको बताए ।

    उनले विश्वविद्यालय र प्राज्ञिक संस्थाहरूमा भएको पाठ्यक्रममा समयानुकुल परिवर्तन, रुपान्तरण र शिक्षकहरूलाई आकर्षित गर्न टिकाउने, अनुसन्धानको क्रियाकलापमा संलग्न गराउनेदेखि क्याम्पसको परिसरभित्र प्राज्ञिक संस्कृति, बौद्धिक वातावरण निर्माण गर्ने कुरामा ध्यान दिन जरुरी रहेको बताए । उनले विश्वविद्यालयमा प्रमुख व्यक्ति मात्रै राम्रो ल्याएर सबै पक्षको सुधार हुन्छ भन्ने अपेक्षा गर्नु नहुने भन्दै समग्रतामा हेर्न आवश्यक रहेको बताए ।  

    त्यस्तै उद्यमी र वैज्ञानिक डा.प्रतिभा पाण्डेले शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप नहुने बनाउन प्रधानमन्त्रीको प्रतिवद्धता रहेको भन्दै सबै राजनीतिक दलहरूले पनि राजनीतिक हस्तक्षेप नहुने बनाउन प्रतिवद्धता जनाउनुपर्ने बताए । उनले सबै राजनीतिक दलहरूले प्रतिवद्धता जनाएमात्रै देशले फड्को मार्ने बताए । उनले शैक्षिक संस्थाबाटै देशको भविष्य निर्माण हुने भएकाले देशको भविष्य दिनको तीन सयको दरले विदेशमा जाने कुराले देश विकास सम्भव नरहेको जिकिर गरे ।

    उनले नैराश्यजनक स्थितिलाई अब आशाजनक स्थितिमा लैजानुपर्ने बताए । उनले देश बनाउने हो भने शैक्षिक संस्था अर्थात जरालाई नै पानी र मल दिनुपर्ने बताए । युवाहरूको पलायन हुँदै जाने र फर्किन नैराश्य हुने स्थिति परिवर्तन गर्नु आजको आवश्यकता भएको बताए । 

    भेटमा प्रधानमन्त्री प्रचण्डले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँहरूमा पनि अवलम्वन गर्ने बताए । प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई अहस्तक्षेपको नीतिमा प्रतिवद्धता व्यक्त गर्न अनुरोध गर्नेहरूमा डा. गौरीशंकरलाल दास, डा. गोविन्द पोखरेल, डा. सन्दुक रूइत, डा. अर्जुन कार्की, डा. जेपी अग्रवाल, डा. नरेशमान बज्राचार्य, डा. असिम ढकाल, डा. भगवान कोइराला, डा. विष्णु उप्रेती, डा. धर्मकान्त बास्कोटा, डा. देवेन्द्रराज पाण्डे, डा. लवदेव अवस्थी, डा. मदन उपाध्याय, डा. महेश मास्के, केदारभक्त माथेमा लगायत ६६ जना प्राज्ञिकहरू थिए ।

    प्रकाशित मिति :बैशाख ३ २०८१ सोमवार - ११:१३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij