२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘घरज्वाइँ’को दुई लुक्स सार्वजनिक भएको छ।
आइतबार सार्वजनिक भएको पोस्टरको एउटा लुक्समा दयाले बन्दुक बोकेका छन्। जहाँ उनी रिसाहा अवतारमा प्रस्तुत छन्। उनी यो पोस्टरमा सिङ्गल छन्।
अर्कोमा भने उनी मिरुनाका साथ डोकोहरू बोकेर मिरुनाको पछिपछि हिँडिरहेको देखिन्छ। मिरुनाले एउटा डोको बोकेर अघिअघि हिँड्दा दयाहाङले ६ वटा डोको एक्लै बोकेर कतै हिँडेको देखिन्छ। उनीहरुको हाउभाउ देख्दा कतै खेतमा काम गर्न हिँडेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ।
अनिल बुढा मगर निर्देशीत फिल्मको अधिकांश सुटिङ पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरूमा गरिएको थियो। झन्डै एक महिना लगाएर छायांकन गरिएको यो फिल्मलाई जनक घर्ती मगरले लगानी गरेका हुन्।
फिल्मलाई निर्देशक अनिलले नै कथा, पटकथा, संवाद लेखेका हुन्। उनलाई लेखनमा विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका थिए।
फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले लगायतका कलाकारले अभिनय गरेका छन्।
आगामी असार १८ गते प्रदर्शनमा आउने यस फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन्। जिएम मुभिजको ब्यानरमा निर्मित फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ।
फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij