२०८२ भाद्र ७ गते शनिवार
प्रविधिको भरपूर प्रयोग, युवाहरूको अल्पज्ञान् र शारीरिक आलस्यले मुलुकको राजनीति सामाजिक सञ्जाल केन्द्रित हुने भय हाबी भएको छ । क्षमतावान् र उच्च शिक्षा हाँसिल गरेका व्यक्ति उनीहरूबाटै सिकारको हुनु बेर छैन । २०७९ को आमनिर्वाचनले यस्तै–यस्तै संकेत दिएको थियो ।
प्रविधिको प्रभाव पहिले–पहिले शहर केन्द्रित थियो । तर, पछिल्लो समय तीव्र गतिमा गाउँ पुगेको छ । आजभोलि अधिकांश ग्रामीण इलाकामा समेत विभिन्न मोबाइल सेवा प्रदायक कम्पनीले सेवा प्रवाह गरिरहेका छन् । यसको उल्लेख्य प्रभाव पौढ र वयोबृद्धभन्दा किशोर–किशोरी र तन्नेरीहरूमा देखिन्छ ।
उनीहरूमध्ये अधिकांश प्रविधिको सदुपयोगभन्दा दुरुपयोग गरिरहेका छन् । त्यसको परोक्ष प्रभाव राजनीतिमा पनि देखिँदै गएको छ । गत वर्षको निर्वाचनमा संघ र प्रदेशमा भन्दा स्थानीय तहमा यसको असर परेको यथार्थ हो । जसका कारण विश्वका प्रसिद्ध विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त योग्य र शिक्षित व्यक्ति कोमाका साँचि भए ।
भलै उनीहरू कोही अमुक दलका प्रतिनिधि थिए, कोही स्वतन्त्र थिए । यद्यपि अधिकांश अयोग्यको सत्तारोहण वा आगमन भने सत्य होइन । तर, केही त्यस्ता प्रतिनिधिको आगमनले आमसर्वसाधारण आजित छन् । यो प्रविधि, अल्पज्ञान् र शारीरिक आलस्यको परिणाम हो ।
ठीक त्यस्तै परिणाम उपनिर्वाचनमा दोहोरिनु दुर्भाग्य हुनेछ । पछिल्ला संकेत भने उस्तै देखिन थालेका छन् । निर्वाचनमा होमिएका, सामाजिक सञ्जालको प्रयोग र प्रशस्त फ्यान–फ्लोवर्सले अचेल भाइरल छन् ।
देश तथा विदेशमा रहेका नेपालीहरूले उनीहरूलाई ओभर कन्फिडेन्ट बढाइदिएका छन् भने सामाजिक सञ्जाल चलाउने उनीहरूकै पछाडि दौडिएका छन् । हुन त उनीहरूमध्ये नब्बे प्रतिशत उपनिर्वाचनका भोटर होइनन् । तथापि झुट हजार बार दोहोरिए सत्य हुने लोकोक्ति छ ।
भर्खरै जन्मिएका बवुरो तर बडा कहलिने राजनीतिक दल र केही मानिसहरू सामाजिक सञ्जालका बलशाली पक्ष हुन् । उसले यहीँ फोर्सबाट स्थापित हुन खोजिरहेको छ । इलाम–२ मा पनि प्रविधिको भरमजदुर प्रयोग हुनेछ ।
पुराना दललाई यसको भय व्याप्त छ । उनीहरूमा प्रविधिको ज्ञान शून्य नभए पनि प्रयोगमा रुचि देखिँदैन । इलाममा नयाँ पार्टीको बलियो संगठन र बलशाली उम्मेदवार नभए पनि प्रविधि छ भन्नेमा ढुक्क छन् ।
पुराना स्थापित राजनीतिक दलसँग वर्षौँ पहिले निर्माण भएका संगठन छन् भने प्रतिनिधि पनि छन् । तर पनि उनीहरूलाई चुनौती पक्कै छ । इलाम मात्रै नभएर देशका अधिकांश निर्वाचन क्षेत्रका मतदाता नयाँ पुस्ताको खोजीमा छन् । पुराना राजनीतिक दल र तिनका नेता, कार्यकर्ताप्रति वितृष्णा छ । उनीहरूका कर्तुतले झन् हैरान छन् । यसर्थ नयाँको खोजीमा हुनु स्वभाविकै हो ।
नयाँको नाउमा प्रविधिको बलशाली र भाइरल छनोटले देश र जनताका लागि घात हुनेछ । यद्यपि नयाँ योग्य भए सत्ता र शक्तिमा पुर्याउनु अन्यथा हुनेछैन । पुराना स्थापित केही नराम्रा होइनन् ।
अधिकांशको अनैतिक व्यवहार र लालचको विकल्पमा नयाँ जन्मिनु पुरानालाई सुध्रिने वा सक्किने मौका प्रदान गर्नु हो । आशा गरौँ इलामेली जनताले योग्य प्रतिनिधि छनोट गर्नेछन्, प्रविधि होइन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij