काठमाडौं । २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार (चैत १५ गते) देखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अंगेजी विषयको परीक्षा दिंदैछन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।
यो वर्ष एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुँदै छन् । परीक्षाका निम्ति दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । देशका सबै स्थानमा व्यवस्थित र सुरक्षित रुपले परीक्षा सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँदै छन् ।
कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जानकारी दिएको छ । त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुँदै छन् ।
त्यस्तै जापानबाट २३ जना सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिँदैछन् । जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले अनुगमन गर्नेछ ।