Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

अलपत्र ऊ !

अलपत्र ऊ !


  • 7.7K
    Shares

    अलपत्र ऊ !
    images

    बाध्यताको बसाइ काठमाडौंमा छ, वृद्ध बाआमा गाउँमा हुनुहुन्छ । बेलुकी खाना खाएर बिस्तरामा पल्टने बेला घरको सम्झना बेसरी आयो । बाआमाको न्यास्रो लाग्यो । हैन, भोलि बिहानै घर जान्छु, बाआमालाई भेट्छु, घरमा रहेछ भने मासभटमास पनि बोकेर आउँला । बिहानै घर जाने निर्णयका साथ म सुतें ।

    –––


    मोटरसाइकल थानकोटबाट ओह्रालो लाग्यो । खल्ट्याङमल्ट्याङ् बाटोको कारण मोटरसाईकलको गती धिमा छ । घरमा पुगेर बाआमासँगै खानाखाने कल्पना मनमा छ । म बिस्तारै जाँदो छु । त्यसो त द्रुत गतीमा मोटरसाइकन नहाँक्ने मेरो बानी नै हो । 

    सिम्ले पुग्नु अघि एउटा सानोसानो खोल्सा आउँछ । जाँदा आउँदा किन हो, मलाई त्यही खोल्सामा लघुशङ्का गर्ने बानी परेको छ । यस पटक पनि त्यस्तै भयो । त्यहाँ पुग्नासाथ मलाई पिसाव लाग्ने । तर यसपटक त्यो त्यहाँ फरक दृश्य देखियो ।

    वृद्ध वृद्ध लाग्ने एकजना मान्छे खोल्सामा अलपत्र पल्टिएको छ । हेर्दा अग्लो अग्लो । गहुँगोरो । तालुमा कपाल निकै कम छ । आँखीभौं समेत खुइलिएझैं लाग्ने ती वृद्धको मुहार निकै चाउरिएको छ । शरीरमा कपडा त छ, तर छैन भन्दापनि हुनेगरी च्यातिएको छ । उनको शरीरको झुत्रो कपडा निकै मैलो देखिन्छ । गोडामा जुत्ता चप्पल छैन, हल्का खुलेको उनको मुखमा दाँत देखिँदैन । उनको छेवैमा पाउरोटीका केही टुक्रा फ्याँकिएको छ । हेर्दा उनलाई हेला फोहोर गरी कसैले त्यहाँ अलपत्र छोडेको सहज अनुमान गर्न सकिन्छ । 

    उनलाई देखेपछि मेरो पिसाव त्यसै रोकियो । म विस्तारै ती वृद्धछेउ गएँ । उनको शरीरबाट हल्का गन्ध आइरहेको थियो । त्यो गन्धले भन्थ्यो– उनले ननुहाएको धेरै भयो । उनी आँखा चिम्मको अवस्थामा थिए । 
    विस्तारै उनीछेउ पुगेर बोलाएँ ‘बा !.....’ 
    करिव ५ सेकेण्डपछि आँखा झिमझिम पार्दै साऽऽऽनो आँखा खोलेर उनी बोले ‘को हो ? ठूलोकान्छा हो ?’
    ‘होइन बा !’ मैले जवाफ फर्काएँ ।
    ‘को त ?’ वृद्ध बोले ।
    ‘म बाटो हिँड्ने बटुवा बा !’ 
    मेरो जवाफ सुनेपछि बुढा बोले ‘अनि यहाँ किन आएको त ?’
    ‘माथि बाटोबाट तपाईंंलाई देखेर’ मैले उनलाई ढाटें ।

    यति सवाल जवाफ भइसकेपछि बुढाले मलाई त्यहाँ नबस्न आग्रह गरे । उनलाई कसले किन यो अवस्थामा छोड्यो मैले थाहा पाउनैपर्छ भन्ने मलाई लाग्यो । मैले वृद्धलाई झोलाबाट झिकेर पानी दिएँ तर उनले खान मानेनन् । उनले बिस्मित स्वरमा यतिमात्र जवाफ फर्काए– ‘खान्न बाबु !’ अनि मैले उनलाई अनुनयको भावमा उनलाई कसले त्यहाँ छोडे भन्ने सोधें । उनले आफ्नै सन्तानले त्यसरी अलपत्र पारेको बताए । 

    उनको कुरा सुनेर मलाई निकै खिन्नताबोध भयो । यस्तो समस्या अहिले निकै बढ्दै गएको छ । मैले घरका बाआमा सम्झिएँ । आफ्नै बाउलाई यसरी अलपत्र छाड्ने सन्तानको नाम के रहेछ मलाई जान्न मनलाग्यो । मेरो प्रश्नमा सन्तानको नाम उनले बताउन चाहेनन् । बरु आफ्ना सन्तानहरु कहाँकहाँ बस्छन् त्यो चाहिँ खुलाए– बुढानीलकण्ठ, बालकोट, खुमलटार, बालुवाटार अनि सिंहदरबार । अनि मैले उनको नाम सोधें । उनले पहिलो नाम मात्र बताए– ‘बिचार’ ।

    म झल्यांस्स ब्यूँझिएँ । अनि जर्याकजुरुक उठेर कुम्लोताम्लो कस्नथालें किनकी मलाई घर जानु छ– बा आमा भेट्न !

    प्रकाशित मिति :चैत्र ७ २०८० बुधवार - ०७:५७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij