२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । मलेसियामा मानसिक समस्यामा परेका एक व्यक्तिलाई नेपाल एयरलायन्सले नेपाल ल्याउन नमानेको खुलासा भएको छ ।
बझाङको केदारस्यूँ गाउँपालिका–७ घर भएका ३२ वर्षीय दीपकबहादुर धामीलाई नेपाल एयरलाइन्सले ल्याउन नमानेपछि हिमालय एयरलाइन्सको उडानमार्फत नेपाल ल्याइसकिएको छ ।
धामी वैदेशिक रोजगारीका लागि विगत १८ महिनादेखि मलेसियामा कार्यरत रहेको र केही समययता उनी मानसिक रूपमा असन्तुलित थिए । उनी मलेसियाको एउटा चाइनिजको मार्केटमा हेल्परका रूपमा काम गर्दै आएका थिए ।
घर परिवारले उनलाई नेपाल फर्काइदिन भनी त्यहाँ रहेको नेपाली दूतावासलगायत सम्बन्धित निकायमार्फत् सम्पूर्ण प्रक्रिया पूरा गरी बिरामीका साथमा एक जना जिम्मेवार व्यक्ति पठाउँदा पनि नेपाल एयरलाइन्सले नेपाल लैजान नमानेको सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति मलेसियाले एक विज्ञप्तिमार्फत जनाएको छ ।
सबै प्रक्रिया पूरा गर्दा पनि केही न केही बहाना बनाउँदै पटकपटक फिर्ता पठाएपछि दूतावासलाई गुहार्न पुगेको जनाउँदै समाजले दूतावासका प्रथम सचिव प्रेमबहादुर बुढाथापा र टेकबहादुर बुढा आफैंले दूतावासको गाडीमा राखेर बिरामीलाई विमानस्थलमा पु¥याउँदा पनि नेपाल एयरलाइन्सले जहाजमा चढाउन नमानेको जनाएको छ ।
यात्रा क्रममा केही भएको खण्डमा स्वयं जिम्मेवार हुनेछौं भनी आग्रह गर्दा पनि नेपाल एयरलाइन्सका कर्मचारीले गरेको यो व्यवहारप्रति समाजले गम्भीर ध्यानकर्षणसहित आपत्ति जनाएको छ । दुई दिनदेखि क्वालालम्पुर विमानस्थलमा अड्किएका उनलाई बुधबार नेपाल फर्काउन सफल भएको समाजले जनाएको छ ।
बिरामीको सुरुवाती अवस्था सामान्य रहेको र अस्पतालको औषधि खाइरहेका उनले एकाएक आफ्नो मानसिक सन्तुलन गुमाएका थिए । सकुशल नेपाल ओर्लिएका उनको अहिले बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको समाजले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij