राजनीतिक अस्थिरता अर्को संस्करण फेरि सुरू भएको छ । हिजो धारे हात लगाउनेहरू 'बेड पार्टनर' बनेका छन् भने ओछ्यानमा सँगै सुतेका साथीहरू वैरी दरिएका छन् । र, भनिएको छ- यही हो राजनीति । जनताले यही पीपलपाते खेललाई आँखा चिम्लेर राजनीति बुझिदिनुपर्ने विवशता छ । प्रतिपक्षीकै शब्दमा एकजना अस्थिर पात्रको वरिपरि राजनीति परिक्रमा गरिरहेको छ उता ती पात्रले यसलाई छलाङमय पराक्रम बुझेका छन् । सत्तालिप्सालाई नै राजनीतिक साध्य मान्ने भालेहरूका निम्ति प्रतिपक्षी भूमिकाको हिराभन्दा सत्ताको जौ-दाना नै प्यारो बनेको छ । अजङ्गका पहाड पल्टाउन सकिने विश्वासको वीज अविश्वासको विषवृक्षमा परिणत भएको छ । आंशिक फेरिएका पात्र र रतीभर नफेरिएको प्रवृत्ति सर्वाधिक खतरनाक तगारो हो भन्ने स्वयम् राजनीतिको केन्द्रमा तर मारेका र मार्न मरिहत्ते गरेका सबैलाई थाहा छ ।
उथलपुथल भाष्य
के सत्ता परिवर्तनपछि कायापलट नै हुनेवाला छ त ? अनि अहिलेको फेरबदल उलटपुलट नै हो त ? एउटा पक्षले थमाइदिएको चाबी अर्कोपक्षलाई हस्तान्तरण गर्दा सत्ताको वर्तमान चित्र विचित्र भयो त ? सम्भवतः लाभ लिनेहरू लपक्क भए होला र खोसिनेहरू सनक्क भए होला किन्तु जसका नाममा राजनीति गरेको स्वाङ पारिएको छ तिनका लागि.. ? अनि न विचार छ, न सिद्धान्त नै । न मार्गचित्र छ, न रहलपहल बाँकीको पनि लागू गर्ने हैसियत नै । न शासकीय स्वरूपमा हेरफेर भएको छ, न अर्थतन्त्रको संरचनामा नै । न सार्वजनिक सेवा प्रदायनमा नयाँ विधि तय भएको छ, न भ्रष्टाचार न्यूनीकरणको नवीन खाका निर्माण नै । न शिक्षामा आमूल परिवर्तनको मार्ग खन्न खोजिएको छ, न जनसमरले मार्गनिर्देशन गरेको समाज स्थापनार्थ नै । फेरि भनिएको छ, आफू बाँचुन्जेलसम्म उथलपुथल ! यो दिवङ्गत गिरिजाप्रसाद कोइरालाको 'ग्र्यान्ड डिजाइन' जस्तै पहेली बनेको छ । यसलाई जनताले या त सियाँलमा बसेर उद्यान निर्माण गर्ने गफाडीको गफ अर्थ्याउन सक्छन् या सुँगुरको कानबाट रेशमको थैली बनाउने कसम । खाली सामान्यजनले आजसम्म उनीबारे बुझेको कुरा के हो भने उनी षडयन्त्र, दाउपेच, घेराबन्दी र व्यवधानलाई कागले झैँ चाल पाउन सक्छन् र लात्ताले हानेर पछार्न पनि । यो जोखिम मोल्ने अदम्य साहस उनीसँग मौजुद छ, चाहे त्यो राष्ट्रको हितमा होस् या अहितमा ।
भगवान् किस्सा
एउटा दिशाविहीन र सिद्धान्तविहीन पार्टी छ नेपालमा जसको लाज ढाक्ने लगौँटी या त जननायक ठानिएका दिवङ्गत पात्र छन् या प्रजातन्त्र नामक पारदर्शी जामा । उसलाई न अनुशासन पालना गर्नुपर्छ, न आफ्नै वाचा-कसमको सम्झना नै । त्यो पार्टी(दल) वास्तवमा पाटी(सत्तल) जस्तै छ । कहिले आफैँले मुख्यमन्त्री बनाउँछु भनेको उम्मेदवारलाई मत दिँदैन, त कहिले आफ्नो प्रत्यासी जिताउँछ र बराबर मत आउनुपर्ने बेड पार्टनर बनाएको सहयात्रीको प्रत्यासीलाई धुलो चटाउँछ र पनि आफ्नो इमानको कथा हालेर कहिल्यै थाक्दैन । धेरैपटक पलङ परिवर्तन गरी आएकालाई आफ्नो पलङमा सुतुन्जेल पतिव्रता देख्छ र अर्काको पलङमा जानासाथ नगरवधू सम्झन्छ । आफ्नो काखमा बस्न आए वास्नादार र अर्काको पिँढीमा देख्नासाथ दुर्गन्धित अर्थ्याउँछ । यस्तो लाग्छ दुई ठुला पार्टी तलको किस्सामा पुकारिएका भगवान् का वसमा छन् । यस्तो छ किस्सा- दुई जना महापण्डित विपरीत दिशाबाट आइरहेका थिए । कुरैकुरामा दुवैले आफूले आफूलाई भगवान् दाबी गर्दै पाखुरा सुर्किन थाले । अहङ्कारको पारो चढ्न थालेपछि मुक्कामुक्की नै गर्न थाले । ठिक त्यही बेला एउटा जँड्याहा सोमरसले फिटान भएर आइपुग्यो । ती दुई जनाले आआफू भगवान् भएको जिकिर गरेपछि उसको कन्सिरी तात्यो र मुख छोड्यो- 'तिमीहरू के को भगवान् ? भगवान् त म हूँ ।' जँड्याहाको कुरा सुनेपछि दुवै पण्डित ट्वाँ परे । अनि सिद्ध गर्न चुनौती दिए । उसले दुवैलाई तेस्रो बाटोतर्फ लग्यो जहाँबाट एउटा कुख्यात भट्टीतर्फ पुगिन्थ्यो । भट्टीमा जँड्याहा देखापर्नासाथ भट्टीवाल्नीले भनी- 'हे भगवान्, तँ फेरि मुन्टिस् ?' त्यसपछि जँड्याहाले भन्यो- ' देख्यौ त को रहेछ भगवान् ?' यसरी जँड्याहाले आफ्नो दाबी पुष्टि गर्यो । हो, यही किस्सा त लागू भएको छैन हाम्रो वर्तमान राजनीतिमा ?
चाबीको चमत्कार
के सदावहार प्रधानमन्त्री बन्ने प्रारब्ध पाएका प्रचण्डको हातमा सत्ताको चाबी जनताले थमाएका हुन् ? उनीहरूले त तेस्रो पार्टीमा झारिदिएका होइनन् र ? अनि उनैको टेको र बैसाखीविना सत्ता चलाउने हिम्मत र गणित छैन भने उनलाई अस्थिर भनेर दुत्कार्नुको अर्थ के रहला ? उनले त चुनौती दिएका छन्- दुइटा पार्टी मिलेर सत्ता सञ्चालन गर्नका निम्ति । अनि 'पानी तताएर दिइनस् भने म.......!' भन्नेलाई चिसो पानीले नुहाउन बाध्य पारेका छन् । चाबी त्योसँग छ जसलाई कसैले १७००० + २ भन्छन् तर त्यतै नटाँसिई सत्ताको चास्नी चाख्न पाउन्नन् । कोही सुर न तालको हिन्दूराज्य र चुनावपूर्व गठबन्धन नगर्ने बेमौसमी बाजा बजाएर बिच्क्याउन खोज्छन् । दाइभाउजूका आदेशपालक मन्त्रीलाई परिवर्तन गर्न खुट्टा कमाउँछन् । कुनै बेसरम मन्त्री झन्डा फहराउँदै अख्तियारको कार्यालय पुग्छन् । यसरी धोकैधोकाको खेती गर्छन् र इमानको गफ गर्छन् । कुनै सत्तापक्षको लहरमा उभिन्छन् र आफ्नै सहयात्रीको राजीनामा माग्छन् । अब त दुई ठुला दलले 'एकपटक मूर्ख बनाऊ,तिमीलाई धिक्कार छ; दोस्रोपटक मूर्ख बनाऊ, मलाई धिक्कार छ ' भनी सोच्ने बेला भएन र ? त्यसो त भित्ता लाउन नसकेका ओलीले लगाएको मीतको पनि गुह्य खुल्दैछ, अलिअलि गर्दै । दृष्टिविहीनहरूको देशमा बनेका काना राजाको पनि दिनगन्ती सुरू भएको त होइन ? भन्ने ठाउँमा छ राजनीति यतिखेर । काँग्रेसको काँध चढेर सिंहदरबार छिरेकाले पारा देखाउन सुरू गरेका छन्, हालसालै नियुक्त मन्त्रीहरूको राजीनामा मागेर । यसरी अविश्वासको पुनः शिलान्यास भइसकेको छ । पुनः देश अस्थिरता भड्खालोतिर जाँदै त छैन ? संशयको कालो बादलले त्यतैतिर सङ्केत गरेको पनि हुनसक्छ ।
अन्तमा यावत् आलोचनाका बाबजुद अस्थिरताको कारखाना ठानिएका उनैको हिम्मतका कारण आफ्नो, बिरानो बराबर ठानिएका छन् प्रचण्डको शासनकालमा । भ्रष्टाचारको उद्योग चलाउने भाउजूतिर अनुसन्धान नसोझियोस् भनेर भुटानी शरणार्थी काण्ड छानबिनमा खटिएका सुरक्षाकर्मीलाई गृहमन्त्री विदेश भएको मौका छोपी चिहिलबिहिल पार्ने र सत्ता ढाल्ने धमास दिनेले आरोप लाग्यो भने आफ्नै उपाध्यक्षलाई समेत बाँकी राख्दैनन् भन्ने दृष्टान्त हेरेका छन् कि छैनन् ? यस्तै कदम अन्य पक्षबाट पनि समयमै उठाइएको भए सायद नेपाल भ्रष्टाचारमुक्त राष्ट्रमा उहिल्यै दरिन सक्थ्यो कि !
ReplyForward
Add reaction
प्रकाशित मिति :चैत्र ६ २०८० मंगलवार -
०७:३४:०८ बजे