Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कवि भेटघाट तथा सिर्जना वाचन कार्यक्रम सुसम्पन्न

कवि भेटघाट तथा सिर्जना वाचन कार्यक्रम सुसम्पन्न


  • 8.5K
    Shares

    कवि भेटघाट तथा सिर्जना वाचन कार्यक्रम सुसम्पन्न

    चर्चित नियात्राकार राजेन्द्रमान डङ्गोलको संयोजनमा राजधानीको एअरपोर्टस्थित एपेक्स बिजनेस होटलमा कवि भेटघाट तथा सिर्जना वाचन कार्यक्रम-२०८० सुसम्पन्न भएको छ ।

    साहित्यकार तथा साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमका प्रमुख अतिथि थिए- हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पा । थुप्रै नमुना कामको थालनी गरेका शेर्पाले हेलम्बुको ग्रेट ट्रेल (षडाक्षरी धर्मचक्र पर्खाल), कक्षा-१२ सम्मको निःशुल्क शिक्षा,संस्कृत तथा शम्भोटाको पठनपाठन, नि:शुल्क पोसाक तथा यातायात  एवम् औषधोपचारबारे यथार्थ जानकारी लिई आफ्ना सिर्जनामा अभिव्यक्त गर्न साहित्यकारहरूलाई हेलम्बु घुम्न हौस्याए । राजनीतिक नेताको भाषणमा जनाकर्षण नहुनुको कारण कथनी र करनीमा तादात्म्य नआउनु हो भन्ने उनको मन्तव्यको निष्कर्ष थियो । निजी संस्थाहरू फक्रँदै जाने र सरकारी ओइलाउँदै जाने आजको स्थितिमा व्यापक कायापलट भएन भने सरकारी विद्यालयसँगै गाउँ रित्तिने जोखिम बढेको उनको कथन थियो । हेलम्बु सर्जकहरूको निम्ति एउटा किमती विश्वविद्यालय हो भन्ने जिकिर गर्दै आफूले दैनिक उपभोग गरेको पानीको मुहान कस्तो छ भन्ने हुटहुटी शमन गर्न समेत हेलम्बु काठमाडौँवासीका निम्ति मूल गन्तव्य हुनुपर्ने बताए । हेलम्बुले शिक्षा र स्वास्थ्य क्षेत्रमा अपनाएको मोडल अन्य स्थानीय तहलाई पनि अनुकरणीय हुनसक्ने उनको तर्क थियो ।

    kabi vetghat.jpeg

    कार्यक्रममा नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेल, नवीन पल्लव, पत्रकार जयराम बिडारी, रूबी सत्याल, प्राज्ञ लक्ष्मी माली, सुपरिचित कवि स्नेह सायमी, बहुआयामिक सर्जक महेश प्रसाई, रामहरि अधिकारी, सूचक प्रकाशनका अध्यक्ष तथा कवि दीपक भेटुवाल, जयन्ती स्पन्दन,देशपोस्टका सम्पादक लोकमणि रिजाल,यमबहादुर ज्योति, राजेन्द्र सलभ, ईश्वर थोकर, कवि तथा गीतकार अलका मल्ल, कवि तथा नियात्राकार नन्दु उप्रेती,राजेन्द्रप्रसाद अधिकारी, कवि तथा सहायक प्रजिअ अमरदीप सुनुवार, देउडा गीत प्रस्तोता पार्वती भट्ट, पुष्पराज कर्णिकार, माधव घिमिरे 'अटल' र कार्यक्रम प्रस्तोता, नाटककार तथा कवि लक्ष्मी रूम्बालगायतले आआफ्ना रचना वाचन गरेका थिए ।

    लक्ष्मी रूम्बाले सहजीकरण गरेको सो कार्यक्रममा  राजेन्द्रमान डङ्गोलले आगन्तुक समादरणीय सर्जकहरूको गरिमामय उपस्थितिलाई आफूले नमन गरेको भन्दै स्वागत गरेका थिए भने अन्तमा रचना वाचन गरी कार्यक्रमको समापन गरेका थिए । एपेक्स बिजनेस होटलका महाप्रबन्धक सुरेश श्रेष्ठले आमन्त्रित अभ्यागतहरूप्रति सङ्क्षिप्तमा आभार प्रकट गर्दै आफू कला, साहित्य र सङ्गीतको पारखी रहेको सादर अवगत गराए । उनले आफ्नो वाणीद्वारा आगन्तुकहरूप्रति हृदयदेखि सम्मानभाव पनि दर्साए । 

    प्रकाशित मिति :फाल्गुण २६ २०८० शनिवार - १८:१४:५० बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij