२०८२ भाद्र ७ गते शनिवार
११४ वर्ष पहिले क्लारा जेट्किनले आरम्भ गरेको नारी दिवस आज विश्वभर मनाईंदै छ । सन् १९०८ मै न्यूयोर्क सिटीमा उठेको महिला हकहित र आवाजको बिज फैलंदै सन् १९११ मा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डसम्म पुग्यो । त्यसपछि सन् १९१७ मा रुसी महिलाहरूले ‘रोटी र शान्ति’ को माग गर्दै तत्कालीन सम्राट निकोलाश द्वितीयलाई पद त्याग्न बाध्य बनाएपछि त्यहाँ महिलाहरूलाई मतदानको अधिकार दिइयो । यस्ता घटनाक्रमले नारी दिवसले ब्यापकता पाउँदै गयो । १९७५ देखि राष्ट्रसंघले पनि यो दिवस मनाएछि नारी दिवसले आधिकारिक मान्यता पायो ।
आज नारी दिवस मनाइंदै गरेको सन्दर्भ आफ्नो हकहित प्राप्तिको निम्ति बहादुर महिलाहरूले गरेको विद्रोह र नेतृत्व गरेको आन्दोलनलाई हामीले बिर्सन हुँदैन । पश्चिमा देशका महिलाहरूले प्राप्त गरेको हक र अधिकार पुरुषको दयाले भन्दापनि उनीहरूको बीरतापूर्ण विद्रोहले हो भन्ने अनेक तथ्यहरू हामीबिच छ ।
नेपालमा नारी दिवस मनाउन सुरु भएको ६५ वर्ष भइसक्यो । २०१५ सालदेखि मनाउन सुरु गरिएको यो दिवसले नेपाली समाजमा नारी उत्थानको निम्ति केकस्ता योगदान दियो भनेर हेर्ने हो भने महिला नेतृहरूले यसको निम्ति अनेक दुःख, कष्ट र साधाना गरेको पाईन्छ । तर यो पुरुषप्रधान समाजमा उनीहरूले जतिनै संघर्ष र आन्दोलन गरेपनि नारी दिवस मनाएकै कारण या नारीहरूकै आन्दोलन र विद्रोहको कारण यीयी नारी अधिकारहरू स्थापित भए/प्राप्त भए भन्ने कुनैपनि ठोस उपलब्धि भेटिन्नन् । नेपालमा नारी उत्थान र उनीहरूको हकहित स्थापित गर्नको मंगलादेवी सिंह, साहना प्रधान, साधना अधिकारी लगायतकाहरूको योगदानलाई कम आँक्न हुँदैन तर यहाँ जतिपनि नारी अधिकार प्राप्त भएका छन्, ती सबैजसो नै राजनीतिक आन्दोलन र युगअनुकुलको परिवर्तनका कारण भएका छन् भन्दा अतिशयोक्ति हुँदैन ।
नारी दिवस र अधिकारको कुरा गर्दैगर्दा आजभन्दा ८२ वर्ष पहिले योगमायाले महिलाविरुद्धको भेदभाव, अत्याचार र सामाजिक कुरितीविरुद्ध ६८ जना महिलाका साथ लिएको सिंगो विश्वनै तर्साउने जलसमाधिलाई विर्सनु हुँदैन । आफ्नो हक अधिकार प्राप्तिको निम्ति योगमायाको बाटो आजको युग अनुकुल नहोला तर पुरुष नेतृत्वको चाकरी गरेर शक्ति आर्जन गर्ने सोच महिलामा हुँदासम्म र वास्तविक पीडितको पीडालाई प्रतिनिधित्व नगर्ने महिला हकअधिकार सम्वन्धी तारे होटल र सुविधासम्पन्न रिसोर्टहरूमा हुने लहडी गफले महिला अधिकार स्थापित हुन सक्दैन ।
यस्ता प्रसंगहरू कोट्याउँदै गर्दा नारी दिवसको अवसर पारेर नेपालको पत्रकारिता जगत्मा महिलाहरूको स्थान खोज्नु सान्दर्भिक हुनेछ ।
नेपाली पत्रकारिता जगत्मा महिलाको प्रवेशलाई खोज्दै जाँदा योगमाया पुत्री नैनकलालाई प्रथम महिला पत्रकार मान्नुपर्ने जिकीर गर्नेहरू पनि छन् । त्यसो त १९९२ सालमा नर्स विद्यावतीको लेख शारदा पत्रिकामा छापिएको तथ्य पनि छ । यी दुइ कुरालाई एकैछिन थाती राखी २००८ सालमा कुमारी कामक्षी र साधना प्रधानको सम्पादकत्वमा प्रकाशित पत्रिका ‘महिला’लाई आधार मान्दा नेपालको पत्रकारिता जगत्मा महिलाको प्रवेश भएको ७२ वर्ष भयो भन्न सकिन्छ ।
नेपालको पत्रकारिता जगत्मा महिलाको प्रवेश भएको ७२ वर्षबाट एकैचोटी आजको दिनमा फड्को मारेर आइपुग्दा त्यो ७२ वर्षे ईतिहासले हामीलाई उत्साहित पार्दैन । किनकी राजनीतिमा जस्तै पत्रकारिता जगत्मा पनि आजका दिनसम्म महिलाहरूले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने शक्ति आर्जन गर्न सकेका छैनन् । पुरुष हस्तक्षेप र बोलावाला नै कायम छ ।
त्यतिमात्रै होइन, अहिले पनि नेपालमा ८८ प्रतिशत महिला पत्रकारमाथि विभिन्न माध्यमबाट हिंसा हुनेगरेको तथ्य बाहिर आएको छ । यस्ता हिंसाका माध्यमहरूमा मुख्यतः अनलाईन, सहकर्मी, परिचित व्यक्ति, राजनीतिक दलसम्बद्ध व्यक्ति, सरकारी अधिकारीहरू रहेका छन् ।
यस्तो हुनुमा सामाजिक, सांस्कृतिक र पारिवारिक करण नै प्रमुख पक्ष हो तर अब यसो भनेर पुग्दैन । यसका विरुद्ध महिला पत्रकारहरूले ठाउँकाठाउँ बोल्ने हिम्मत राख्नुपर्दछ । अब नेपाली पत्रकारिता जगतको नेतृत्वमा पनि महिला महिला उपस्थिति जरुरी छ । यसको अर्थ बिना क्षमताकाहरू आएर कुर्चीमा थ्याच्च बस्न पाउनुपर्छ भन्ने होइन, तर क्षमतावान् महिलाहरूले यसक्षेत्रको उच्च स्थानमा रहन पाउनुपर्छ भन्ने हो । आवाजहीन हरूको आवाज बोल्ने महिला पत्रकारहरूको आफ्नै आवाज र हक अधिकार दमित हुन्छभने त्यसपछि के हुन्छ < युगअनुकुलको महिला हक अधिकार स्थापित गर्ने कुरा गफैमात्र हुन्छ ।
२०७५ साल भदौ ११ गते वर्तमान एमाले अध्यक्ष केपी शर्माओली प्रधानमन्त्री भएताका ठूला भनिएका पत्रिकामा काम गर्ने सम्पादकसँगको भेटपछि एउटा तस्वीर प्रकाशित भयो । उक्त तस्वीरमा २२ जना सम्पादकहरू प्रधानमन्त्रीसँग उभिएका थिए । तर त्यहाँ कुनैपनि महिलाको तस्वीर थिएन । किनकी ठूला भनिएका मिडियामा महिला सम्पादक थिएनन् । आजका दिनसम्म पनि यही स्थिति छ । राष्ट्रपति, प्रधान न्यायाधिश र सभामुख त भए तर देशको प्रधान मन्त्रीमा खोइ महिला ? भन्ने सवाल उठाउने ‘ठूला’ मिडियाका मालिकलाई पनि महिलाहरूले सोध्नुप¥यो– खै तिम्रो मिडियामा महिला प्रधान सम्पादक/ सम्पादक ?
२००८ सालमा सत्यनारायाणबहादुर श्रेष्ठ नेपाल पत्रकार संघको अध्यक्ष भएदेखि आजका दिनसम्म २३ जना पत्रकार महासंघको अध्यक्ष भए । खोई २३ जनामा महिला ? पत्रकारहरू अझ महिला पत्रकारहरूले यो सवाल उठाउनु पर्छ ? के पत्रकारहरूको संगठनको ७२ वर्षे इतिहासमा पत्रकार महासंघको अध्यक्ष बन्न कोहीपनि महिला पत्रकार सक्षम नभएकै हो ? कुनैपनि महिला पत्रकारहरू आफ्नो संघको नेतृत्व गर्ने ह्याउ र हुति राख्दैनन् ? अवश्य पनि राख्छन् तर यसो किन भइराखेको छ ? भन्ने सवाल उब्जाउने हो भने जवाफ सरल छ– पुरुषप्रधान समाजमा हरेक क्षेत्रमा पुरुष हस्तक्षेप चलेजस्तै नेपाली पत्रकारिता जगत्मा पनि त्यो चलिराखेको छ । नेपाली पत्रकारिता जगत् पुरुषको कब्जामा छ । त्यो कब्जा तोडिनुपर्छ । आजको दिनमा उठाउनैपर्ने सवाल हो यो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij