२०८२ भाद्र ४ गते बुधवार
नेपाल प्रज्ञा–प्रतिष्ठान तथा नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा काठमाडौँमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ । सम्मेलन ४, ५ र ६ असोज, २०८१ मा प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा हुने भएको हो ।
सम्मेलनका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ(विमल निभा)को संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ, जसको सदस्य–सचिवमा नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्य रहेको आचार्यले अवगत गराए ।
अन्य सदस्यमा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, नेपाल प्रज्ञाप्रतिष्ठनका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, वरिष्ठ कलाकार एवम् नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, पुस्तकालयविद् भोला श्रेष्ठ, प्राज्ञ त्रैलोक्यमान बनेपाली, बालसाहित्यकार अनुराधा, साहित्यकार अनन्त वाग्ले, साहित्यकार तथा समालोचक महेश पौड्याल तथा प्रज्ञा–प्रतिष्ठानका प्रतिनिधि राजकुमार श्रेष्ठ रहेका छन् ।
नवगठित समितिका सदस्यसचिव आचार्यका अनुसार सम्मेलनमा दक्षिण एसिया तथा अन्य मुलुकका गरी २५ अन्तर्राष्ट्रिय प्रतिनिधि तथा नेपालका १०० प्रतिनिधि सहभागी रहने छन् । कार्यक्रममा बालसाहित्यसँग सम्बन्धित पुस्तक विमोचन, विविध विषयबारे लेखिएका कार्यपत्रको प्रस्तुति, परिचर्चा, बालपुस्तक प्रदर्शनी, कला प्रदर्शनी, लेखक–बालबालिका साक्षात्कार तथा नाटक मञ्चन समेत रहने आचार्यको कथन थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij