Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सत्ताको उलटपुलट : उर्लिएका स्वार्थका स्वरहरू

सत्ताको उलटपुलट : उर्लिएका स्वार्थका स्वरहरू


  • 4.3K
    Shares

    सत्ताको उलटपुलट : उर्लिएका स्वार्थका स्वरहरू

    भनिन्छ, कागलाई बेल पाकेर न हर्ष न विस्मात् ! त्यस्तै भएको छ सामान्यजनका निम्ति सत्ता उलटपुलटको सङ्ग्राम ।

    ओशो रजनिश भन्छन्- ' राजनीति त उसका निम्ति हो, जसका लागि अरू केही छैन । जो मूर्ति बनाउन सक्दैन, जो चित्रमा रङ भर्न सक्दैन, जो गीत गाउन सक्दैन, र जो अन्य कुराका निम्ति सर्वथा अयोग्य छ उसका निम्ति हो राजनीति । राजनीतिका निम्ति बुद्धि चाहिन्न किनकि बुद्धिमान मान्छेले त्यतिविधि बेइमानी गर्न सक्दैन, त्यति सारो धोका दिन सक्दैन, त्यति धेरै झुट बोल्न सक्दैन । यो नीच चेतना नभएको मान्छे राजनीतिमा सफल हुनै सक्दैन ।'

    उनको यो कथन अरूका हकमा कति सही होला मन्थनको विषय बन्ला किन्तु हाम्रो सन्दर्भमा भने सोह्रै आना सही भन्न सकिन्छ,आजसम्मका राजनीतिक परिघटना पर्गेल्ने हो भने । त्यही जगमा ढसमस्स थियो पुरानो गठबन्धन र जसमा लपक्क  टाँसिएको छ, नयाँ गठबन्धन नामक लाजको पसारो । घ्यु बेचुवा र तरबार बेचुवाबीच स्वार्थको साइनो त गाँसिएको छ तर त्यो चुँडिन निमेषभर नलाग्ने विगतले छर्लङ्ग पारिसकेको छ ।
    एउटा लोककथा बडो सान्दर्भिक बन्नसक्छ यहाँ ।

    कथामा सिंहासन ताकेर दौडिएका थिए- कुकुर र गधा । जब दौडमा प्रतिस्पर्धा गरिरहेको कुकुरलाई हर चोकमा हमला गरे सजातीय कुकुरले, तब उसलाई लड्दै र भिड्दै अघि जानुपर्ने भो । रस्साकस्सीले निकै समय रूमलियो ऊ । सँगै ऊ हतोत्साहित र घायल पनि थियो  । फलतः गधाले बाजी मार्यो, सिंहासनमा बस्ने प्रतिस्पर्धामा । यदि कुकुरले सजातिसँग लडभिड गर्न नपरेको भए दौडमा जित्न  कुनै सकस पर्दैनथ्यो । मूलतः यसै कुरालाई हेक्का राखेर बनेको थियो पुरानो गठबन्धन । तर यहाँसम्म आइपुग्दा विजातीयबीचको लगनगाँठो तासको महल बनेको छ ।

    आफ्नै विगतबाट आहत पुष्पकमल दाहाललाई यो कार्यकालमा विघटनको डिलमा पुगेको पार्टीलाई त्राण दिन पनि केही उत्कृष्ट र उल्लेखनीय काम गर्नैपर्ने तीव्र दबाब थियो । भ्रष्टाचारले तहसनहस पारेको अर्थतन्त्रलाई लयमा ल्याउन तथा सार्वजनिक खपतकै निम्ति किन नहोस् भ्रष्टाचार विरूद्ध आफू शून्य सहनशील भएको पुष्टी गर्नुपर्ने बाध्यता थियो । उनलाई यतिखेरसम्म ज्ञात भइसकेको छ कि आगामी दिनमा सङ्गठन नजान्ने, सदस्यता नचिन्ने, आन्दोलन नभोगेको, क्रान्ति नरूचाएको र नरूचाउने, राणा शासन ढल्दाको शासना र पञ्चायत भत्काउँदाको प्रताडनालाई गँजडीको गफ ठान्ने,यातना,जेल र विद्रोहलाई वाहियात मान्ने अपितु सामाजिक सञ्जालबाट आफ्नो धारणा बनाई मतदान गर्नेको सङ्ख्या दिन दुगुना र रात चौगुना बढेको यथार्थलाई गौर गरी बुझेका प्रचण्डले आफू बाँचुन्जेल नै किन नहोस् साख गर्ल्यामगुर्लुम भएको देख्न चाहने कुरै भएन । आफू नै निर्णायक शक्ति बन्नका निम्ति उनले ओलीलेझैँ साम,दाम,दण्ड, भेदलाई प्रयोग नगर्ने कुरै भएन । यसैका निम्ति लगातार केही न केही गरेर सञ्चारमाध्यममा आफू छाउने मेलोसमेत नेपाली काँग्रेसले बन्द गर्न थालेपछि उनले देउवाको पुच्छर समातेर सत्ताको वैतरणी तरिरहेको वर्तमानलाई लात मारे र नयाँ यात्रा तय गरे ।

    जब उनी भुटानी शरणार्थी प्रकरणको पर्दा खोल्न तम्सिए तब नाभी बुढानीलकण्ठतिर जोडिएको भेउ पाइहाले । एकातिर विपक्षीदेखि सर्वसाधारणसम्मले यो कदमलाई उनको आँटसँग दाँज्न थाले भने सत्ता सहयात्री सबैभन्दा ठुलो दलले चरम असहयोग मात्र गरेन, सत्ता गिराउने धम्की नै दियो । अनुसन्धानमा जुटेका सुरक्षाकर्मीलाई सरूवा गरेर हायलकायल पार्यो । गृहमन्त्री विदेश रहेको समय पारी ती लगनशील र कर्तव्यनिष्ठ सुरक्षाकर्मीको बिल्लीबाठ बनाउन बाध्य पारेपछि प्रधानमन्त्रीलाई चिसो पस्नु अस्वाभाविक थिएन । त्यसपछिका भ्रष्टाचारविरोधि गतिविधि केवल हात्तीको देखाउने दाँतमा रूपान्तरित हुँदै गए किनकि सबैभन्दा ठुलो दलका नेता, कार्यकर्ता कतै न कतै जोडिएकै हुन्थे ।

    उता कोशीमा गुमाएको मुख्यमन्त्री र राष्ट्रिय सभा सदस्यले पनि गठबन्धनमा अदृश्य दरार ल्याएकै थियो । त्यसमाथि काँग्रेसको हालै बसेको महासमितिको कुम्भमेलाले काँग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने र जनयुद्धको जगमा सत्ताको रसास्वादन गर्दै त्यसै विरूद्ध अनर्गल आरोप लगाउने बेमौसमी बाजा बजाएकाले अधीर बनेको माओवादीलाई बिच्क्याइदियो । 'मलाई 'नि पोइल जान मन ला'को, आमाले 'नि धकेलेकी'मा पुगे प्रधानमन्त्री दाहाल । मीत फर्काउनुका अदृश्य पहेली र गूँढ रहस्य भने अन्य थिए- खासगरी अख्तियारमा वयान दिन जाने मन्त्री सानदार झन्डा हल्लाउँदै गए मानौँकि टेरामक्स प्रकरणमा उनले स्वर्ण पदक पाएका हुन् र गोल्डन ट्रफी उचाल्न साइत गरी निस्केका हुन् । त्यसमाथि उखु र दुधको बक्यौता दिन नसकेका, आर्थिक सूचकाङ्कले सकारात्मक मोड ल्याउन नसकेका मुलुकका अर्थमन्त्री प्रधानमन्त्रीको निर्देशनलाई कुल्चिँदै दाजु र भाउजूका खर्च टार्ने भण्डारेका रूपमा प्रस्तुत हुन थाले । एकातिर प्रधानमन्त्रीको निर्देशन अर्कातिर उनका तीव्रतर पाइला हुँदा समेत देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्ने अख्तियारी नदिएपछि बालकोटको दाम्लो चुँडाएका उनले बुढानीलकण्ठको साङ्लो बाँकी राख्ने कुरै हुँदैनथ्यो । अन्ततः उनले पुनः बालकोटकै ओत खोजे जसका निम्ति ओली उधुमले तड्पिरहेका थिए ।

    यही परिवेशमा एकार्कालाई धारे हात लाउनेहरू हात जोड्न बाध्य भए । त्यसो त प्रचण्ड आफैँले आफू जिउँदो रहुन्जेल उथलपुथल भइरहने किन्तु कसैसँग नलतारिने भनेर स्विकारेका मात्र छैनन् व्यवहारमै पुष्टि गरिदिएका छन् । र, त राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भन्छन्- 'देशको राजनीतिक इतिहासको विनिर्माण प्रचण्डले गरे । चाहे भने त्यो इतिहासको पुनर्निर्माण पनि उनैले गर्न सक्छन् । अरू त सबै उनका पुच्छर हुन् । यी पुच्छरहरू यसैका निम्ति योग्य थिए/छन् । देशको हित/अहितको मूल्याङ्कन नगर्ने हो भने २०४६ पछिका सबैभन्दा सफल राजनीतिककर्मी प्रचण्ड नै हुन् ।'

    अधिकांश ठाउँमा तर्कविहीन कुरा दोचार्ने यी पुरातनपन्थी पूर्व पत्रकारले यहाँनिर आंशिक सत्य बक्नु संयोग मात्र नहुनसक्छ । यदि एमाले माओवादीले गरेको 'कोर्स करेक्सन'को स्याल हुइयाँलाई वास्तवमै सार्थकता दिन खोजे र यति,ओम्नी, वाइडबडी, नक्कली शरणार्थी र सहकारी घोटाला प्रकरण जस्ता नयाँ काण्ड मात्र घटाएनन् भने पनि काँग्रेससँग गरेको सम्बन्धविच्छेदले किञ्चित सार्थकता पाउला अन्यथा सुरूआतमा उल्लेख गरिएझैँ आम जनमानसलाई हर्ष न विस्मातको यो कथित नयाँ गठबन्धन एमालेले यसअघि मन्त्र बनाएको 'ठगबन्धन'मा रूपान्तरित नहोला भन्न सकिन्न । 

    प्रकाशित मिति :फाल्गुण २४ २०८० बिहिवार - १०:५०:२५ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij