Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कक्षाकोठाको अभाव हुदाँ भुइँमा बसेर पढ्न बाध्य विद्यार्थी

कक्षाकोठाको अभाव हुदाँ भुइँमा बसेर पढ्न बाध्य विद्यार्थी


  • 8.4K
    Shares

    कक्षाकोठाको अभाव हुदाँ भुइँमा बसेर पढ्न बाध्य विद्यार्थी

    चितवन । चितवनको एक सरकारी विद्यालयले कक्षाकोठा अभावमा विद्यार्थीलाई भुइँमा राखेर पढाउन बाध्य भएको छ । भरतपुर महानगरपालिका–४ को श्री राष्ट्रिय आधारभूत विद्यालयमा नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमा नै राखेर पढाउने गरिएको हो ।

    विद्यालयमा अहिले २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् तर नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमै राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर थापाले बताउनुभयो । “नर्सरीका विद्यार्थीलाई चौरमा नै राखेर पढाएका छौँ”, उहाँले भन्नुभयो, “कोठा नै पुग्दैन, भुइँमा राख्न बाध्य छौँ ।”

    विसं २०२४ मा बनाइएको विद्यालय भवन जीर्ण भइसकेको छ । “भवनको छतबाट प्लास्टर उप्किएको छ । कक्षाकोठाका भित्ता चिराचिरा परेका छन् । शिक्षक वा विद्यार्थी को–को घाइते हुने हुन् भनेर सधैँ मनमा त्रास भइरहन्छ”, प्रअ थापाले भन्नुभयो ।

    विसं २०१९ मा स्थापना भएको यो विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ भइरहेको छ । विद्यालयमा तीन जनाको मात्रै सरकारी दरबन्दी छ । चार निजी स्रोतका शिक्षक छन् । आन्तरिक स्रोत नहुँदा उनीहरुलाई तलब दिन धौधौ छ । विद्यार्थीसँग उठाउने सामान्य रकम, विभिन्न दाताको सहयोगबाटै शिक्षकलाई जति सकिन्छ उति तलब दिने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम सापकोटाले बताउनुभयो ।

    “शिक्षकहरुलाई भनेजति तलब दिने स्रोत नै छैन, सहयोग गर्नुस् भनेर अत्यन्तै कम रकममा काम लगाएका छौँ, यसोभन्दा मलाई निकै दुःख लाग्छ”, अध्यक्ष सापकोटाले भन्नुभयो । गत वर्ष भरतपुर महानगरपालिकाले दरबन्दी विद्यार्थी कम भएको भनेर दुई जनाको कटौती गरेको थियो । काटेको दरबन्दी विद्यार्थी सङ्ख्याका आधारमा फिर्ता गर्न भनेर आग्रह गर्दा पनि महानगरको शिक्षा शाखाले नसुनेको गुनासो विद्यालयको छ ।

    भरतपुर महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको समस्याबारे जानकार रहेको र आगामी वर्षको बजेटमा भवन बनाउने रकम राखिने बताउनुभयो । विद्यालयको एक बिघा नौ धुर जग्गा छ । यसको उपयोग गरेर आन्तरिक आम्दानी हुन थालेपछि विद्यालयमा नेतृत्व हत्याउन भने तँछाडमछाड हुने गरेको अध्यक्ष सापकोटा बताउनुहुन्छ । रासस

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १०:५१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij