Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

जाँडरक्सी खानेको खोजी–खोजी सम्मान

जाँडरक्सी खानेको खोजी–खोजी सम्मान


  • 2.6K
    Shares

    जाँडरक्सी खानेको खोजी–खोजी सम्मान

    तानसेन । सुन्दा अचम्म लाग्न सक्छ, जाँडरक्सी खानेलाई खोजी खोजी सम्मान । हाम्रो समाजमा जाँडरक्सी खानेलाई गाली गरिन्छ । प्रहरीले पक्राउ गर्छ र थाना चौकीमा लैजान्छ । उसलाई थुन्छ । कानुनी कारबाही गर्छ । तर, पाल्पामा भने ठीक उल्टो गरिएको छ । 

    नियमित रूपमा जाँडरक्सी खाने व्यक्तिलाई खोजीखोजी सम्मान गरिएको छ । रिब्दीकोट गाउँपालिकाले पालिकाभरीका नियमित रूपमा जाँडरक्सी खाने ६० जनालाई गाउँपालिकाकै कार्यालयमा जम्मा गरी टिका, फूलमाला लगाएर र पोसाक वितरण गरी सम्मान गरेको छ । 

    रिब्दीकोट गाउँपालिका १ ख्याहाका एक पुरुष रक्सी खाएरै श्रीमतीसहित गाउँपालिकाको सभाहलमा छिरे । आफू जस्तै नियमित रक्सी खाएर हिँड्ने दर्जनौं व्यक्तिलाई गाउँपालिकाले टीका, फूलमालासहित पोसाकबाट सम्मानित गरेको देख्दा उनी निकै खुसी देखिए । मञ्चमा गए । रक्सीको नसाले आफूलाई बहुला बनाएको गीत उनले गाए । कक्षा ८ मा पढ्दै गरेको छोरीलाई सम्झिए र भने, ‘छोरी अब चिन्ता नलिउ, मैले आजदेखि रक्सी खान छोडें । तिमीलाई चाहेजति पढाउने प्रतिबद्धता जनाएँ ।’ सम्मानित भएका सबै रक्सी खानेहरूले ताली पिटे । मञ्चमा बसेका अतिथिहरूले समेत आँसु झारे । 

    रिब्दीकोट ३ खस्यौलीका अर्का पुरुषले पालिकाको सम्मान कार्यक्रममा आउँदासम्म बिहानदेखि ३ गिलास रक्सी खाइसकेका थिए । गाउँपालिकामा प्रहरीहरू देख्दा आफूलाई पक्राउ गर्न बोलाएको हो कि जस्तो सन्तलाई लागेको थियो । तर, रक्सीकै नसामा पनि गाउँपालिकाले फूलमालाले सम्मान गरेपछि उनको दिमागमा केही हलचल भयो । ‘साथीभाइको संगतले रक्सी खान सिकियो, रक्सीले त हाम्रो जीवनै बर्बाद पारेको रहेछ ।’ आजैदेखि रक्सीको मात्रा घटाएर छोड्ने उनले मञ्चमै पुगेर वाचा गरे । 

    पालिकाभित्र जाँडरक्सी सेवनबाटै धेरै मानिसको घरबार बिग्रिएको, परिवार लथालिंग भएको, परिवार, समाजमा दिनहुँँ झंै झगडा कलह भएको, अन्त्यमा कम उमेरमै मृत्यु भइरहेका घटनाहरूलाई ध्यान दिएर रिब्दीकोट गाउँपालिकाले सम्मान गरेको हो । स्थानीय सरकार भनेकै जनताहरूको दुःखमा साथ दिने, सु–संस्कृत समाज निर्माण गर्ने, विकृति विसंगति हटाउने, समाजमा मेल मिलापको वातावरण बनाउने, जनताको अभिभावकत्व ग्रहण गर्ने भएकाले गाउँपालिकाले नियमित जाँडरक्सी खाने व्यक्तिलाई खोजी खोजी सम्मान गरेर रक्सी खाने मन विचार बुद्धिलाई सही काममा मोड्नका लागि पहिलोपटक अभियान सुरु गरेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । 

    गाउँपालिकाले पुरुष मात्र होइन नियमित रक्सी सेवन गरी घरवार लथालिंग भएका महिलालाई पनि फूलमालाले सम्मान गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

    प्रकाशित मिति :फाल्गुण १८ २०८० शुक्रवार - ०६:५७:४७ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij