२०८२ भाद्र २ गते सोमवार
रोमाञ्चक घोडायात्रा । डर र सौन्दर्यलाई अँगालेको पल । जीवन यात्राको एउटा अविस्मरणीय अध्याय ।
“भोलि बिहान पौने छ बज्दा घोडा तयार भइसकेको हुन्छ । हामी सात बजेसम्म निस्किसक्ने छौँ । ठाउँ उल्का रमाइलो छ । डेढ–दुई घण्टा त उतै बित्छ । जान–आउन साढे सात घण्टा लाग्छ । फर्कंदा कम्तीमा पनि चार बज्ला !” अघिल्लो साँझ ‘ढोरपाटन पर्यटन विकास संस्था’ का अध्यक्ष बेगबहादुर विश्वकर्माले सुझाएका थिए ।
आजको लक्ष्य– फुस्रेदेउराली । कुनै कविताको शीर्षकले दिने भावपूर्ण अभिव्यक्तिजस्तै लाग्छ, ४२०० मि. को उच्चतामा अवस्थित यो भूगोललाई चिन्ने नाम ।
बेगबहादुरले भनेका थिए– “पहिले गर्पादेउराली (४,००० मि.), त्यसपछि आउँछ– फुस्रेदेउराली ।”
अश्वारोही हुने अर्थमा उत्साहित थियौँ हामी । हामी– अर्थात् बाग्लुङ पर्यटन सम्भाव्यता अध्ययन भ्रमण टोली । टोलीको नेतृत्व गरेका छन्– पर्यटन व्यवसायी एवम् ‘गाउँ पर्यटन प्रवद्र्घन मञ्च नेपाल (भिटोफ–नेपाल)’ का अध्यक्ष गोपाल थापाले । साथमा छन्– सोही संस्थाका पूर्वअध्यक्ष बोधराज भण्डारीलगायत अग्निधर कँडेल, छविलाल श्रेष्ठ, डा. प्रेम शर्मा दम्पती एवम् आचार्यद्वय उत्तम र खगराज ।
साँच्चै भनुँ भने मेरो मनले त मिरमिरेमै गर्पादेउराली अधिरोहण गरिसकेथ्यो । त्यही भएर भनेकै समयमा ‘न्यु ढोरपाटन होटल’ को आँगनमा हाजिर भइसकेको छु । तर अचम्म चाहिँ के भने– सात बजेसम्म घोडाको कुनै सुरसार देखिन्न । बरु सातको सट्टा आठ बजे भनिदिएको भए यो चिसोमा उभिइरहनु त पर्थेन नि ! मनमा लागेको कुरा मनमै राख्छु म ।
पर्खनुको विकल्प रहेन ।
ढोरपाटन (२,८५० मि.) मा चलिरहेको बिहानी सिरेटोले मिठो चुम्बन लिइरहेछ । भुइँको तापक्रम शून्य डिग्रीमा ओर्लेको छ । घ्राणेन्द्रियले ढोरपाटनको माटोको सुगन्ध लिँदैगर्दा हाम्रो मुखबाट छुटेको न्यानो बाफ मिसिइरहेछ, ढोरपाटनकै वायुमण्डलमा ।
चिसिएका दुई हात रगड्न थाल्छु म । उसरी नै सिको गर्छन् छविलाल ।
र, भन्छन्– “यहाँका मान्छेहरू चिम्टाले पानी र हातले आगो च्याप्छन् ।”
त्यही बेला अलि पर उभिइरहेकामध्ये कसैको वाक्य फुट्छ– “यही होला ‘हाइ अल्टिच्युड थेरापी’ भनेको !”
समुद्री सतहमा गरिने ‘हाइपरबेरिक अक्सिजन थेरापी’ भनेको चाहिँ सुनेथेँ । किन्तु पहिलो पटक सुन्दै छु यो नवीन शब्दावली । नयाँ मौसम, उचाइ वा परिस्थितिमा आफूलाई अपनाउने अर्थमा भन्न खोजेका होलान् भन्ठान्छु म ।
सूर्यनाडीलाई जगाउन सके जतिसुकै उचाइमा पुगे पनि चिसो महसुस हुँदैन भन्ने सुनेथेँ । दाहिने नाकको प्वालबाट गहिरो श्वास लिन्छु । यद्यपि ज्यान तातेको महसुस हुँदैन । वायुलाई फोक्सोमा भरेर मात्र श्वासको कार्य के पूरा हुनु र ! योग र प्राणायाममा ध्यान नदिएकोमा पछुत्तो हुन्छ मलाई यति बेला ।
०००
साढे सात बजेतिर पूर्वी क्षितिजले परेली उठाएपछि उजेलिन थाल्छ ढोरपाटन । बिहानी घामले ढोरपाटनलाई रङ्ग्याउँदा मज्जाले रङ्गिन्छौँ हामी । बालसूर्यले थप्छ– बिहानी उत्साह । अपार उत्साहको पल । यस्तो लाग्छ– हामीले धेरैपछि घामसित साक्षात्कार गर्न पाएका छौँ । यो क्षणलाई धमाधम मोबाइलमा उतार्छन् सहयात्री उत्तम ।
मलाई सङ्गृहीत तस्बिर देखाउँदै उनी भन्छन्– “दाइ, यो त यस्तो पल हो, म फेरि यसलाई अनुभव गर्न सायदै सकुँला ।”
सही हो । यो दिनको यही पल त कहाँ फर्कन्छ र !
उज्जर ढोरपाटन, घामले तेजिएका पहाड र उनको आफ्नै तेजिलो मुखाकृति । कला न हो– फोटोग्राफी ! कम्ता कलात्मक लाग्दैन मलाई उनले कैद गरेको बालसूर्य । मानौँ, यो तस्बिर उनकै हातले कोरेको हो ।
तस्बिर एउटा मिठो सम्झनामात्र होइन; यो त भावनात्मक, कलात्मक एवम् आत्मिक–अभिव्यक्ति हो; सञ्चार हो । कथा, कथन हो र जीवनयात्राको जीवन्त अभिलेख पनि । तस्बिरमार्फत् भावना व्यक्त गर्न चाहन्छन् उत्तम । त्यही बेला म आफ्नो मस्तिष्कमा उनको भावनाको एउटा सुन्दर तस्बिर उतार्छु ।
मज्जा आउँछ आँगनमा टहलिदै गर्दा । अव्यग्र छौँ हामी ।
राजसी पहाडहरूले अँगालेका छन् ढोरपाटनलाई । अभिमानमा उभिएका पहाडका ती प्रत्येक चुचुराले आकाशको निलो क्यानभास छोएको प्रतीत हुन्छ । सिरसिरे वायुले बनैया सुमनको सौरभ ल्याइरहेछ हामीसम्म । र, संवेदी सिम्फोनी सिर्जना गर्दछ, जुन हिमालयको आत्मासम्मै प्रतिध्वनित भइरहेको हुन्छ ।
‘ढोर’को अर्थ गाईवस्तु वा चौपाया र ‘पाटन’को अर्थ अग्ला पहाडबिचको उचाइमा रहेका सम वा अर्धसम घाँसेमैदान । ढोरपाटन अर्थात् लेकाली चरन वा खर्क ।
अघिल्लो बिहान यसरी नै आँगनमा टहलिँदै गर्दा मेरो संवाद भएथ्यो स्थानीय नन्दे सुनारसँग ।
“पूर्वमा छेन्तुङ गुम्बा त्यसपछि खाल्टेखुल्टे, लामखुरे, पाखाथर, तल्लो चउर, भण्डारी गाउँ, तिब्बती डेरा, सलथान, बिजौरीखोला, उत्तरगङ्गा, न्वँही, खोङ्खोला, रासीवाङ, भुजी, जेभाङ, काङ्गाडिजा, थास्मर, म्हस, गाभा तथा पश्चिमतर्फ लुर्केधारा र निसेलढोर ।” उपत्यकामा बसेका बस्तीहरूको नाम औँल्याएथे उनले ।
अस्तिको दिन ढोरपाटन आइपुग्दा अँध्यारो गहिरिइसकेथ्यो । आकाशीय पिण्ड झैँ लाग्थे, बस्तीबस्तीमा पिलपिलाइरहेका बिजुली बत्ती । यति चाक्लो होला भन्ठानेको चाहिँ थिइनँ । भोलिपल्ट ढोरपाटनको विशालता देखेर पो छक्क परेथेँ म ।
जम्माजम्मी २,५०० घर धुरी र ५,००० जनसङ्ख्या भएकोे बताएथे उनै नन्दे सुनारले ।
ढोरपाटन मूलतः शिकार आरक्षण क्षेत्र । कुल १३५० वर्ग कि. मि. क्षेत्रफलमा फैलिएको यो शिकार आरक्षण सन् १९८३ मा स्थापना भएर सन् १९८७ मा राजपत्रित भएको थियो । समुद्रपारदेखिका शिकारका सोखिनहरू महङ्गो शुल्क तिरेर आउँछन् यहाँ । आरक्ष व्यवस्थापनको उद्देश्य खेल शिकार गर्न अनुमति दिनु र यहाँको पारिस्थितिक प्रणालीको संरक्षण गर्नु भन्ने रहेको छ ।
नौ बजेतिर लाइन लगाएर घोडाका साथ आइपुग्छन्– टेकु, पिलबहादुर, सिमलाल, भवीन्द्र, भीम, विक्रम, रामचन्द्र प्रतीकलाल, प्रकाश, बेगबहादुर र लोक । उनीहरू सबै विश्वकर्मा थरका । हो, तिनै विश्वकर्माको जनसङ्ख्या उल्लेख्य छ ढोरपाटनमा । विश्वकर्मा अर्थात् कारिगर वा कालिगड । शिल्पशास्त्रका व्यवहारिक ज्ञाता । भाँडाकुँडा वा हतियार निमार्णका साक्षात शिल्पी ।
मगर, तिब्बती, अडै, भण्डारी, कठेर, खड्का, कुमाई र केही नेवारको पनि बसोवास छ यहाँ । जीवित संस्कृति र विविध आदिवासी जनजातिहरूको भूमि हो– ढोरपाटन । उनीहरूको आतिथ्य र मुस्कानले मलाई सम्मानित अतिथिजस्तो महसुस गराइरहेको छ ।
हामीले चढ्ने घोडा भिन्नभिन्न तबेलाबाट ल्याउनुपर्ने रहेछ । ल्याउनुअघि तिनको पेटपूजा गराउन आवश्यक थियोे । यसर्थ ढिलो हुनु अस्वाभाविक थिएन । यद्यपि म विश्वास गर्छु कि उनीहरूसँग व्यावसायिक कौशलको कमी छ ।
कलापूर्ण शरीर । सुन्दर रङ । विशेष चिह्न । आकर्षक चाल । भावपूर्ण आँखा । लामा घाँटी, लामा जगर र झ्याप्प परेको पुच्छरले अझ सौन्दर्य थपेको छ घोडामा । काठी, रकाब, लगाम, हल्टर, बिट्स र हार्नेसजस्ता उपकरणले सुसज्जित छन् ती । घोडाको शारीरिक वैशिष्ट्यबाट प्रभावित हुन्छु म ।
मानवजातिको अद्वितीय साथी हुन्– घोडा । ईसापूर्व ३५००-४००० वर्षदेखि नै मानवले घोडालाई घरपालन गरेको मानिन्छ । त्यस बेलादेखि नै मानव समृध्दिमा घोडाको महत्त्वपूर्ण योगदान छ । प्राचीन र मध्ययुगीन युद्धमा घोडाहरूको विशेष भूमिका हुन्थ्यो । घोडाले नै मानिसलाई लामो दूरीमा यात्रा गर्न सक्षम बनायो । घोडाले नै कृषिकर्मलाई फलदायी बनाउन मद्दत पु¥यायो । आज पनि सांस्कृतिक र प्रतीकात्मक महत्त्व बोकेको छ घोडाले ।
“तपाईंहरू दुईजना यता आउनुस् त !” बोधराज भण्डारी र मलाई सङ्केत गर्छन् टेकु विश्वकर्मा ।
उनी आफ्नो घोडातर्फ डो¥याउँछन् हामीलाई ।
ढोरपाटनको घोडा व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् उनी । उनले नै बटुलेका हुन्, हाम्रा लागि चाहिने घोडाहरू ।
घोडसवारीको रोमाञ्चकता अँगाल्न मलाई सुझाव दिन्छन् टेकु । खै किन हो, उत्साहित देखिन्छन् उनी । म उनको नजरमा चम्किरहेको जोस बुझ्ने प्रयत्न गर्छु । लाग्छ– ढोरपाटनमा पर्यटनको जग बस्नेमा ढुक्क छन् उनी ।
सन् २०१८ थोरङ ला पार गर्ने क्रममा विदेशी सहयात्री बिरामी परेकोले एउटा घोडामा उनलाई राखेर अर्कोमा म चढेको थिएँ । त्यो त फगत बाध्यता थियो । उतिखेर घोडा चढेर लगभग एक कि. मि. पार गरेथँे हुँला । त्यसैको अघिल्लो साल मुस्ताङको लो–मान्थाङमा तस्बिर खिचाउनका लागि मात्र चढेथेँ । त्यो चाहिँ एउटा रहरमात्र थियो । घोडालाई स्पर्श गरेको अनुभव यतिमात्र हो मसँग । आजको घोडा चढाइ रहर र बाध्यता दुवै हो, किनकि घोडाविना आजै फुस्रेदेउराली पुगेर फर्कन असम्भव भनेका छन् उनीहरूले ।
ठुलो छ– घोडाको कद । कसरी चढ्ने होला भन्ने खुल्दुली भइरहेछ मनमा । घोडावाला टेकुले भने झैँ खुट्टालाई रकाबमा राख्छु । टेकु पछाडिबाट आड दिन्छन् । र, सजिलै घोडामा बस्छु म । घोडालाई लगाम खिच्ने प्रक्रियामा मलाई मार्गदर्शन गर्छन् उनी । उनले भनेका कुरा घुसेको छैन मेरो मगजमा ।
मलाई जसरी नै टेकुले बोधराजजीलाई पनि उकाल्छन् घोडाको पिठ्युुँमा ।
र, भन्छन्– “ल, तपाईंहरू जाँदै गर्नुस् है !”
समानान्तर रूपमा अगाडि बढ्छन्, हाम्रा घोडा । घोडाका खुरको लयबद्ध आवाज प्रतिध्वनित हुन्छ, शान्त ढोरपाटनमा । जमिनको विरुद्धमा घोडाको टापबाट सिर्जित ‘टक्...टक्...टक्...’ आवाजले ऊ विशिष्ट प्राणी भएकोको चेतना जगाउँछ ममा ।
जसै घोडा अगाडि बढ्छ, उसले लिएको गति पनि अप्रत्याशित रूपमा बढ्न थाल्छ । हामी असहज महसुस गर्छौं । घोडाको गतिसँगै अगाडि बढ्छ– प्रत्याशा, बाध्यता र त्रासको समिश्रण । हामीमुनिको घोडा आफ्नै बाटो तय गर्न कटिबद्ध देखिएपछि हामी दुवैमा मच्चिन्छ एउटा भयानक आतङ्क । चिन्तित नजर आदानप्रदान हुन्छ, बोधराजजी र मेरो बिचमा । हरेक पाइलामा तीव्र हुँदै जान्छ, हामीभित्रको भय ।
त्यही बेला टुप्लुकिन्छ एउटा खोला । सानो, सुरम्य तर निरुत्साहित अवरोध । बगिरहेको पानी र अनपेक्षित उबडखाबड भूसतहले झन् बढ्छ असहजता । कतै बङ्लङ्गै लडिने त होइन !
आतङ्कको क्षणमै लगाम छाड्छन् बोधराजजी ।
परिस्थिति चुनौतीपूर्ण बन्दै गइरहेको बेला अकस्मात् देखा पर्छन् टेकु । आश्वस्त उपस्थिति उनको । उनी फेरि लगाम खिच्न सिकाउँछन् हामीलाई ।
पछाडि फर्केर हेर्दा अश्वारोहीहरूको लामै लस्कर देख्छु । घोडाका टापबाट उठेका धुलाका कणहरूले अलौकिक चित्र बनाउँछन् र त्यसले काल्पनिक सौन्दर्यमा ठुलै भूमिका खेलेको भान हुन्छ ।
लगाममा आफ्नो पकड कायम गरेपछि अचम्मको शान्ति मिल्छ हामीलाई । घोडाको गतिलाई प्रभाव पार्ने एउटा सरल तर महत्त्वपूर्ण चाल पो रहेछ लगाम । अदृश्य लगाममै चलिरहेको मेरो देशका नेता र मैले चढेको घोडा उस्तै लाग्न थाल्छ मलाई ।
मैदानी सतह पार हुन्छ । घोडेटो छिर्छ पहाडका विशाल विस्तारमा ।
पहाडहरू कुनै स्थान विशेष मात्र होइनन्, यी त प्रकृतिको भव्यताको काव्यात्मक अभिव्यक्ति हुन् । हामीजस्ता यात्रुलाई यिनले आफ्ना सौन्दर्यमा डुबाउँछन् । पातलो हावामा श्वासप्रश्वास गराउँछन् । स्वर्गसरि धराको अँगालोमा हामी बेरिएको परिदृश्यका साक्षी पनि बनिदिन्छन् ।
उकालो घोडेटोमा कोमल नम्रताले भरिन्छन् घोडाहरू । लालीगुराँस र खस्रुका पातमाथि नाचिरहेछ घाम । तिनै पातमार्फत् फुस्फुसाउन थाल्छ हावा र सिर्जना गर्छ सुखदायी ताल । हामी प्रकृतिको अँगालोमा गहिरिएर अघि बढ्दा सुस्ताए झैँ लाग्छ सिङ्गो संसार । प्रकृति, घोडा र मबिचको यो असामञ्जस्यमा अचम्म लाग्दैन मलाई ।
यात्राले हामीलाई खोल्साखोल्सी र विचित्र भूगोलमा डुलाइरहेछ । प्रत्येक पाइलामा प्रकृतिको कलात्मकताको नयाँ पक्षको पर्दा उघ्रँदै जान्छ । सूर्यका किरणसँग खेल्दै पहाडहरूले मनमोहक प्रतिच्छाया फ्याँकिरहेछन् । त्यसले भूमिको क्यानभासमा सधैँ परिवर्तन भइरहने उत्कृष्ट कला चित्रित गर्दछ ।
३,३०० मिटर उचाइमा पुग्दा हामीलाई लम्पसारिएरै स्वागत गर्छ चेप्टेढुङ्गाले ।
“एकछिन सबैजना झर्ने कि !” विनम्र अनुरोध टेकुको ।
रकाबमा राखिएका मेरा दुवै घुँडा बेस्सरी कुँजिएछन् । उक्लनजस्तै असहज हुन्छ मलाई घोडाबाट ओर्लन । सहयोगी हात बढाउँछन् उनै टेकु । साँच्चै साहसिक एवम् जोखिमपूर्ण रहेछ घोडायात्रा ।
हाम्रो रमणीय बिसौनी बन्छ, कोमल ढलानमा लमतन्ने सुतेको चेप्टेढुङ्गा । टुसुक्क बस्छौँ हामी । थकित घोडा, तिनमा सवार यायावर र पैदलै उक्लिरहेका घोडेस्वामीलाई ख्याल राहत मिल्दैन । भादगाउँकोे चोक चोकमा बनाइएका फल्चाजस्तै लाग्छ चेप्टेढुङ्गा । उताको काठ, यताको ढुङ्गा । फरक यतिमात्र हो । कठिन यात्राको तनाव साझा गर्दै म घोडासँग मौन सौहार्दता बढाउँछु ।
चेप्टेढुङ्गा नजिकै सानो खोली बगिरहेछ– कुलुल्ल, कुलुल्ल । प्रकृतिको एउटा सुमधुर सिम्फोनी । तर हाम्रो उपस्थितिले क्षणभरमै क्षीण हुन्छ चेप्टेढुङ्गाको शान्ति ।
हाम्रासामु प्रकट भएका छन्, दुई खैरा पहाड । सूर्यले आफ्नो सुनौलो किरण फ्याँकेको छ, पहाडको छातीसम्म र छातीमुनिको भागमा भने छ– कालो छाया । उज्यालो र अँध्यारोको अद्भुत खेल देख्दैछौँ । प्रकृतिको क्यानभासजस्तै लाग्छ चेप्टेढुङ्गाबाट देखिएका तमाम दृश्य । यथार्थमा प्राकृतिक सौन्दर्यको साक्षी भएका छौँ हामी ।
केही छाप्राछुप्री देखिन्छन् ती कैला पहाडका काखमा ।
अग्निधर भन्छन्– “ढोरपाटनका मान्छेहरू गोठ बस्न आउँछन् यहाँ ।”
थप्छन्– “माथि ४,४०० मिटर उचाइको टीकाधारासम्म पु¥याउँछन् गोठ ।”
साँघुरिँदै गए पनि खर्क परम्परा अझै छ नेपालमा ।
“पहाडको त्यही छाती टेकेर जानुपर्छ । अब हामी हिँड्ने छौँ । माथि पुगेपछि फेरि चढ्नुहोला घोडा !” अवगत गराउँछन् टेकु ।
बिहानको १०।३० बजिसक्छ चेप्टेढुङ्गा छाड्दा । घोडा चढ्ने बिन्दुमा पुग्न झन्डै ५०० मिटर उक्लनुपर्छ ।
पाइला उठाउँछु ।
बिहान खाएको चिया, बिस्कुट र अन्डाले साढे तीन घण्टा त धानेकै हो । पेटको घट्टले फेिर अर्को घान माग्छ । एकातिर उकालो त अर्कातिर भोक । आफैँमा शारीरिक चुनौती हुन्– उकालो र भोक । एकसाथ उकालो र भोकसित सामना गर्छु । फेरि मेरो टाउको माथि आउँदै छ जवान सूर्य, धर्तीमा न्यानो किरण छर्दै ।
चुनौतीपूर्ण बन्छन् मैले उकालोमा टेकेका पाइला । बाटोले मेरो सहनशीलताको परीक्षण गरिरहेछ । मभित्रको भोक तीव्र हुँदै जाँदा त्यही अनुपातमा घट्दैछ मेरो ऊर्जा स्तर ।
गर्पादेउरालीमा भोजनले पर्खिरहेको छ । अन्य सहयात्री झैँ निरन्तर उठाउँछु म सङ्कल्पको पाइला ।
“पर्ख त राजेन्द्र एकैछिन !”
शारीरिक चुनौतीमा डुबिरहेको बेला तीस मिटर जति पछि रहेका डा. प्रेम शर्मा हठात् बोलाउँछन् मलाई ।
रोकिन्छु । गहिरो श्वास लिन्छु । उकालोले प्राणायाम सिकाउँछ मलाई ।
मलाई भेट्न आइपुग्छन् उनी ।
केही बिस्कुट दिँदै भन्छन्– “ल खाऊ !”
एकखालले उद्धारै हुन्छ मेरो ।
बदलामा उनलाई मेरो बोत्तलको पानी चुस्की लगाउन दिन्छु ।
यो आकस्मिक आदानप्रदान र सहयात्रा साझेदारी जीवनरेखा बन्छ हाम्रो साझा गन्तव्यको । बिस्कुट र पानीको आदानप्रदानले पुरानो विनिमय प्रणाली मेरो दिमागमा आउँछ ।
उकालो बाटोको छेवैमा गाडिएको छ, एउटा चारपाटे ढुङ्गेस्तम्भ ।
यसको अर्थ बुझ्न खोज्छु ।
“केका लागि गाडिएको हो यो ?” सोध्छु टेकुलाई ।
उनी भन्छन्– “ढोरपाटनबाट फुस्रेदेउरालीसम्म जाने बाटो यहाँ आइपुग्दा आधा हुन्छ । त्यसैको सङ्केत होला ।”
ढुङ्गा टिकाउ वस्तु भएकोले यसले समयको परीक्षासित सामना गर्न सक्छ । ढुङ्गेखम्बा बनाएर यसरी गाड्नाले स्थायित्व र दीर्घायु हुने विश्वास छ जनमानसमा । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्रतीकात्मक अर्थ निहित हुन्छन् ढुङ्गेखाँबामा ।
घोडासँगै हामी उकालोमा लयबद्घ पाइला उठाइरहेका छौँ । तिनीहरू बोझमुक्त छन् यति बेला । मेरो मथिङ्गलमा भने अघिदेखि नै एउटा कुरा खेलिरहेको छ– हिँड्नुको मज्जा लिन पनि हामीले पूरै यात्रा पैदल गर्नुपथ्र्यो ।
यस्तै सोचिरहेको बेला पुगिन्छ पहाडको कुममा ।
टेकु भन्छन्– “सर, चढ्नस् अब !”
फेरि घोडा चढ्छौँ हामी ।
टेकु भन्छन्– “अब छिट्टै पुगिन्छ गर्पादेउराली ।”
हामी जति जति उकालिन्छौँ, दृश्यहरू त्यति त्यति विस्तार हुन्छन् । निलो आकाशको विशाल विस्तारमुनि प्राकृतिक आश्चर्यका क्यानभास प्रकट हुँदै जान्छन् । एक साङ्ग्रिला देखा पर्छ हाम्रा नजर सामु ।
घोडाले थलीमा पु¥याउँछ हामीलाई । यसैको नाम हो– गर्पादेउराली ।
जादुमय लाग्छ, गर्पादेउरालीको संसार । यसलाई जीवन यात्राकै एउटा विशेष अध्याय स्विकार्छ मनले ।
घोडाबाट ओर्लिएर नजर डुलाउँदा देखिन्छन्– पुथाहिमचुली, चुरेन, गुर्जा, धौलागिरि, मानापाथी, अन्नपूर्ण र प्रतिष्ठित माछापुच्छ्रेको आधिपत्य । राजसी शृङ्खला सौन्दर्यको अद्भुत प्रस्तुति । एउटा दामी अट्टालिकाजस्तै लाग्छ– गर्पादेउराली । यस्तो पनि लाग्छ– पारि सुदूरतिर सेता घोडाहरू उभिएका छन्, हाम्रा घोडाहरूका जीवन्त रङ्गसँग विपरीत भएर ।
त्यति नै बेला मेरा नजर ठोक्किन्छन् हिमशैलका रङ्गमञ्चमुन्तिर समानान्तर फैलिएका काला पहाडहरूको लामबद्ध शृङ्खलामा । प्रकृतिकै रङ हुन्– कालो र सेतो । दृश्य आकर्षक लाग्छ आँखालाई ।
सहयात्रीहरू रमिरहेकै बेला गर्पादेउरालीमा बहेको हावाले वातावरणीय परिवर्तनको उदास कथा प्रतिध्वनित गराउँछ मेरो कानमा । रमणीय लाग्ने दृश्यभित्रै लुक्दारहेछन् मार्मिक सन्देशहरू ।
विश्वव्यापी उष्णताको प्रभावको अभिव्यक्ति हुन– काला पहाड । सौन्दर्यको क्षति हो– काला पहाड । जलवायु परिवर्तनको ज्वलन्त साक्ष्य हुन्– काला पहाड । पृथ्वीले सामना गर्ने पारिस्थितिक असन्तुलन र चुनौतीहरूका प्रतीक हुन्– काला पहाड ।
गर्पादेउरालीमा चलेको वायुले असन्तुष्टिको सन्देशमात्र बोकेको छैन, हाम्रो ग्रहका लागि मानवसँग स्वच्छ वातावरण र दिगो भविष्यको माग गरिरहेछ ।
हठात् रोकिन्छ हावाको उदास गनगन ।
“उः त्यो दहखर्क । त्योभन्दा माथिको सिस्नेभन्ज्याङ र पछाडिको सबैभन्दा अग्लो डाँडो चाहिँ फुस्रेदेउराली । लन्च गरेपछि हामी त्यहीँ जान्छौँ” जानकारी गराउँछन् जीवन पुन मगर ।
“कति बेर लाग्छ त्यहाँ पुग्न?” सोध्छु ।
“आधा घण्टा घोडामा । आधा घण्टा पैदल ।”
आधा बाटो प्रायः सम्म र आधा बाटो पूरै उकालो ।
फेरि चढ्छौँ घोडा । ‘स्फटिक’को मौलिक सौन्दर्यले अँगालेको छ बाटोलाई । हिउँमा कहिलेकाहीँ चिप्लन्छन् घोडाहरू । घोडा हिउँसँग नाचेजस्तै भान हुन्छ यो बेला र एक सूक्ष्म रोमाञ्च फैलिन्छ मभित्र । प्रकृति र साहसिकहरूको सामूहिक नृत्य झैँ लाग्छ मलाई । यसले यात्रामा उत्साहको तत्त्व त थप्छ । यथार्थमा यो डरलाग्दो सङ्केत हो यद्यपि निर्विवादरूपमा मनमोहक । मेरो लागि पूर्णतः नौलो अनुभूति ।
घोडाबाट ओर्लेपछि फुस्रेदेउरालीको कठिनतम् ढलान भेट्छौँ हामी ।
यति बेला मसँगै उकालो लाग्दैछन् उनै जीवन पुन मगर । ढोरपाटनका एक सम्मानित स्थानीय बुद्धिजीवी र समर्पित समाजसेवी हुन् उनी । हाम्रो आगमनदेखि नै साथ दिइरहेका छन् उनले । हिजोको जलजला भ्रमणमा पनि उनले यसरी नै साथ दिएका थिए । पर्यटकीय गन्तव्यका रूपमा ढोरपाटनको लोकप्रियता कम भएको अर्थमा उनी निराश देखिन्थे । तर, भिटोफ–नेपालले ढोरपाटनका लुकेका रत्नहरूमा प्रकाश पार्ने र यहाँको सांस्कृतिक समृद्धि प्रदर्शन गर्नेमा उनको विश्वास छ ।
फुस्रेदेउराली अर्थात् ४२०० मिटरको उचाइमा गर्वका साथ उभिन पुग्छु म । संसारको शीर्ष भूबिन्दु त होइन, तथापि यस्तै महसुस हुँदोरहेछ, यहाँ आइपुग्दा । मूलतः खर्क नै हो यो । अलि पर छ टीकाधारा नामको अर्को खर्क । स्थानीय भाषामा ‘धारा’को अर्थ ‘डाँडो’ भन्छन् जीवन पुन ।
उनी थप्छन्– “वर्षाको बेला निला, पहेँला, सेता, बैजनी र गुलाबी फूलहरूले ढपक्कै ढाकिन्छन् यी खर्क ।”
प्रकृतिको भव्यताले घेरिएको छ– फुस्रेदेउराली । आकाशको विशाल क्यानभासमुनि खुलेका छन्– हिमालसहितका रुकुमको दुर्गम भूगोल । हामीमाथिको आकाशको उज्यालो पृष्ठभूमिमा नाचिरहेका छन् चराहरू । प्रकृतिको एउटा भव्य रङ्गमञ्चजस्तै प्रतीत हुन्छ– फुस्रेदेउराली ।
यहीँबाट अलगिन्छन् डोल्पो र रुकुमतर्फका परम्परागत गोरेटा ।
विस्मयकारी परिवेशमा छौँ हामी । यसैको फाइदा उठाउँदै सहयात्रीहरू सौन्दर्य कैद गर्नमा व्यस्त छन् ।
म चाहिँ अग्निधरजीको छेउमा पुग्छु । उनी पर्यटन व्यवसायी होइनन् तर भिटोफ र ढोरपाटनको संयोजक उनी नै हुन् । उनको प्रयासविना यो भ्रमण कदापि सम्भव थिएन । पर्यटनले मात्र यहाँको समाज रूपान्तरण हुन सक्ने जिकिर गर्छन् उनी ।
म सोध्छु– “पर्यटन प्रवद्र्घनसँग सम्बन्धित सङ्घ संस्थाहरू हुँदाहुँदै यहाँको पर्यटनमा तपाईंको चासो हुनुको रहस्य के होला?”
“म पनि यही क्षेत्रको मान्छे हुँ । यसर्थ यो क्षेत्रका लागि केही गर्नु मेरो पनि दायित्त्व हो । यहाँको आर्थिकस्तर माथि उठाउन पर्यटनले मात्र सम्भव छ भन्ने विश्वास गर्छु” सहज जवाफ उनको ।
ताप्के नतात्दै बिँड तात्नुको अर्थ त सायदै होला तर उनको जस्तै सोच अरूमा पनि भइदिएको भए त ढोरपाटन व्यस्त पर्यटकीय गन्तव्य बनिसकेको हुन्थ्यो होला सायद ।
“यो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन कसको भूमिका के हुनुपर्छ ?” अर्को प्रश्नको झटारो बोधराजजीलाई हान्छु म ।
उनी भन्छन्– “प्रमुख दायित्त्व त सरकारकै हो । यद्यपि नेपालको सन्दर्भमा सरकारबाट मात्र व्यापक प्रयासको अपेक्षा गर्नु यथार्थपरक नहुन सक्छ । यो ठाउँलाई पर्यटकीय गन्तव्यमा सफल रूपान्तरण गर्न मूलतः स्थानीय र निजी क्षेत्रहरूबिचको सहयोगात्मक साझेदारी आवश्यक छ ।”
ढोरपाटनले आफ्नो वर्तमान अस्पष्टताबाट बाहिर निस्कन सके यो एक अद्वितीय र समृद्ध सांस्कृतिक गन्तव्यका रूपमा विकास हुनेमा दुई मत छैन ।
फुस्रेदेउराली छाड्दासम्म आइरहेको घामको न्यानोपन मलिन भइसक्छ ढोरपाटन आइपुग्दा ।
चराहरूको क्षीण आवाज । उत्तरगङ्गाको सुसाइ । प्रकृतिको सिम्फोनी बनिरहेछ, ढोरपाटनको चलिरहेको वायु । हेर्दाहेर्दै छायाको लम्बाइ बढ्दै जान्छ । ढोरपाटनलाई घेर्ने डाँडामाथि पुगेर घामले आकाशलाई सुन्तला, गुलाबी र कफीका रङहरूमा चित्रित गर्छ । लुप्त सूर्यको किरणले सम्झनामा कोरिएका दिनभरका यावत्् गतिविधिलाई साहसिक कथाका रूपमा स्मरण गराउँछ ।
र, बनिदिन्छ– मेरो अविश्वसनीय यात्राको एउटा साक्ष्य ।
२०८० पुस १४ गते
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij