२०८२ भाद्र ४ गते बुधवार
हेलम्बु गा.पा. अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले राज्यले संविधानमा अभिलिखित नि:शुल्क शिक्षा र स्वास्थ्यको आधारभूत अधिकारलाई सम्मान गर्नुपर्ने बताएका छन् । 'पर्यटनका निम्ति साहित्य' नारा अन्तर्गत हेलम्बु आई साहित्य कार्यक्रम संयोजन गरेका साहित्यकार, स्थानीय विद्यार्थी तथा शिक्षकलाई सम्बोधन गर्दै उनले आफ्नो गाउँपालिकामा १२ कक्षासम्मको शिक्षा र स्वास्थ्य नि:शुल्क भएको सगर्व उद्घोष गरे ।
कुनै बेला बर्थिङ सेन्टरमा वार्षिक चार जना मात्र आएको दर्दनाक चित्र प्रस्तुत गर्दै उनले अहिले दुई सयभन्दा बेसीले प्रसूति सेवा लिइरहेको आँकडा उल्लेख गरे । ६० किमि लामो ग्रेट ट्रेल बनाएर पर्यटक आकर्षित गर्ने योजनालाई मूर्त रुप दिएका उनले दीर्घरोगी स्थानीयबासीलाई नि:शुल्क औषधिलगायत अनेकानेक सुविधा उपलब्ध गराएको बताए । एक प्रसङ्गमा राज्यले विश्वव्यापी तापक्रम वृद्धिलाई बडो गम्भीर ढङ्गले लिएर ठोस हरहिसाबका साथ विश्व समुदायमाझ पेस भई क्षतिपूर्ति दाबी गर्नुपर्ने जिकिर गरे ।
राजधानीबाट आमन्त्रित साहित्यकारहरू आरएम डङ्गोल, डा. बिन्दु शर्मा, राजेन्द्रमान डङ्गोल, स्नेह सायमी, लक्ष्मी माली, माधव घिमिरे 'अटल', जयराम बिडारी, लक्ष्मी रूम्बा, प्रभा बरालले आआफ्ना सिर्जना पस्किए ।
प्रा.डा.ऋषिराम शर्मा, केशव पुडासैनी 'बिमल', कुमारी लामा र राजकुमार बानियाँले साहित्य र पर्यटनबारे आआफ्ना भनाइ राखे । 'अबको हेलम्बु कस्तो हेलम्बु ?' भन्नेबारे उनीहरूले आआफ्ना कोणबाट प्रस्ट्याए । स्नेह सायमीले हेलम्बुको पानीको अधिकार र अबको विकासको बाटोबारे आफ्नो अभिमत राखे । सिर्जना वाचनको बीचबीचमा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए भने शिक्षक जगत् ठकुल्लाले सुदूरपश्चिममा अत्यन्त लोकप्रिय देउडा गीत सुरिलो स्वरमा गाएका थिए ।
सो कार्यक्रमको आकर्षक सहजीकरण शिक्षक यमबहादुर ज्योतिले गरेका थिए भने अध्यक्षता विद्यालयका प्रधानाध्यापक केशव पनेरूले गरेका थिए । कार्यक्रममा कुमारी लामा, स्नेह सायमी, राजेन्द्रमान डङ्गोल र माधव घिमिरे 'अटल' विद्यालयलाई पुस्तकहरू हस्तान्तरण पनि गरेका थिए ।
अध्यक्ष शेर्पाले आमन्त्रित साहित्यकारहरूका हेलम्बुका विषयमा लेखिएका सिर्जना समेटेर एउटा पुस्तक प्रकाशित गर्ने वाचा समेत गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij