Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

एकै विद्यालयका आधा दर्जन कृति विमोचन

एकै विद्यालयका आधा दर्जन कृति विमोचन


  • 2.9K
    Shares

    एकै विद्यालयका आधा दर्जन कृति विमोचन

    बाल साहित्य समाज तथा हिमरश्मि हाई स्कुलको संयुक्त आयोजनामा एउटै विद्यालयका सर्जकहरूका छ वटा कृतिहरू सार्वजनिक भएका छन् । संभवतः यो एउटा नयाँ अभिलेख नै हुनुपर्छ । तारकेश्वर नगरपालिकामा अवस्थित हिमरश्मि हाईस्कुलका विद्यार्थी र शिक्षकले यस्तो नजिर स्थापित गरेका हुन् । 'बहुप्रतिभाशाली शिक्षक केशरी अम्गाईको पहलमा यो अद्भुत कार्य सुसम्पन्न भएको हो ।' प्राचार्य लोकेन्द्र बहादुर खड्का अभ्गाईको खुलेर प्रशंसा गर्छन् । हुन पनि एक महिनाभित्र अहोरात्र मेहनत गरी यो सुकार्य सम्पन्न गर्नु कम्ता धामा थिएन । यही कठिनतम कर्मलाई सहजै सम्भव तुल्याए अम्गाईले । आख्यानकार, कवि, बालसाहित्यकार तथा अनुवादक अम्गाईले आफ्नो पहिलो बालकथा 'मुसाको दरबार' पाठकमाझ ल्याए भने उनका छात्रछात्राले अन्य पाँच वटा विभिन्न कृति ।

    प्रतिष्ठा केसीको 'यादका पानाहरू' कथासङ्ग्रह, सेनोरिटा थापाको 'परित्यक्त छोरी' कथासङ्ग्रह, रश्मि पोखरेल र रहस्य पोखरेलको 'बालगुञ्जनका आवाजहरू', कवितासङ्ग्रह, प्रविज्ञा कार्कीको 'त्रासको तुर्लुङ र अन्य कविता' कवितासङ्ग्रह तथा पल्लवी तामाङको 'मुस्कान पछाडिको पीडा' कथासङ्ग्रह छन् ।

    यीमध्ये 'मुसाको दरबार'माथि ठट्यौलो किसिमले सारगर्भित समालोचकीय मन्तव्य राखे बालसाहित्यकार नेत्र तामाङले भने 'यादका पानाहरू'माथि साङ्गोपाङ्ग टिप्पणी गरे, उन्मुक्त अभियन्ता तथा नागार्जुन वाङ्मयका सचिव माधव घिमिरे 'अटल'ले । त्यसरी नै 'मुस्कान पछाडिको पीडा' र 'परित्यक्त छोरी'माथि आफ्नो समीक्षात्मक मन्तव्य राखे, गोलढुङ्गा साहित्य परिषद् का देवेन्द्र अर्याल 'आँसु'ले । उता 'त्रासको तुर्लुङ र अन्य कविता' एवं 'बालगुञ्जनका आवाजहरू' माथि बाल साहित्य समाजका अध्यक्ष तथा बाल अध्येता प्रमोद प्रधानले सान्दर्भिक एवं समसामयिक शल्यक्रिया गरे ।

    कार्यक्रमका प्रमुख अभ्यागत प्रमोद प्रधानले बाल साहित्य लेखनबारे अत्यन्त समसामयिक प्रशिक्षणात्मक भनाइ पनि राखे । उनले एउटा कृति प्रकाशित गर्नुलाई मात्र संसार विजय गरेको नसम्झी निरन्तर क्रियाशील साधनाको आवश्यकता तथा औचित्यमाथि प्रकाश पारे । समीक्षात्मक टिप्पणी बालबालिकालाई हतोत्साहित पार्ने कोणबाट नभई सिर्जनशील कोणबाट राख्न टिप्पणीकारहरूलाई आग्रह गरे ।

    यसरी नै ओप्सका अध्यक्ष तथा कार्यक्रमका सभापति हिमरश्मि स्कुलका प्राचार्य लोकेन्द्र बहादुर खड्काले १३०० विद्यालयमध्ये आफ्नो विद्यालयले मात्रै यो वृहत् कार्यक्रम सम्पन्न गर्न सकेकोमा सन्तोष व्यक्त गरे । उनले गुणस्तरीय शिक्षाका नाममा एसईईको नतिजा मूल प्रवेशद्वारमा टाँगेर बालबालिका भर्ना लिने निजी स्कुलप्रति व्यङ्ग्य कस्दै यो त विद्यालयको स्वाभाविक दायित्व भएको जिकिर गरे । बालकमा भएको प्रतिभा प्रस्फुटन गर्न सघाउनु नै शिक्षाको वास्तविक गुणस्तर भएको उनको दाबी थियो ।

    कार्यक्रममा साउथ वेस्टर्न स्टेट कलेजका सह-प्राचार्य हरि सिंह, प्रज्ञा परिषद् सदस्य डा. कौशिला रिसाल, सञ्चारकर्मी सुशान्त न्यौपाने, बालसाहित्यकार डा. यादेवी ढकाल, बाल साहित्य समाजका महासचिव विजयराज आचार्य लगायत बालसाहित्यका मूर्धन्य सर्जकहरूको उपस्थिति थियो ।

    कार्यक्रममा मञ्चासीन अभ्यागत तथा मञ्चाभिमुख अतिथिहरूको स्वागत लोकार्पित सबै पुस्तकका सम्पादक केशरी अम्गाईले गरेका थिए भने समापन सभापतिको भूमिकाका लोकेन्द्र बहादुर खड्काले गरे ।

    प्रकाशित मिति :माघ १५ २०८० सोमवार - ०८:२८:०७ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij