२०८२ भाद्र ४ गते बुधवार
क्रियटिभ सेन्टर प्रालि तथा विवेक सिर्जनशील प्रकाशनको संयुक्त आयोजनामा विजयराज आचार्यद्वारा लिखित तथा सन्देश आचार्यद्वारा निर्मित लघु बालचलचित्र ‘किबोर्ड’को प्रिमियर सो एक विशेष कार्यक्रमबीच नेपाल एकेडेमीमा सम्पन्न भएको छ । पारिवारिक द्वन्द्व र असमझदारीले बालमस्तिष्कमा कस्तो नकारात्मक असर पर्छ भन्ने शिक्षा दिइएको उक्त चलचित्रको निर्देशन गोपाल आचार्यले गरेका छन् भने आलोक चौरेल, रश्मि भट्ट, रामभक्त महर्जन लगायतका कलाकारहरूको जीवन्त अभिनय रहेको छ । होम न्यौपानेको गीतलाई टेकेन्द्र नेपालीले सङ्गीत दिएका छन् । भावी जीवनबारे सोधिएको एक प्रश्नको सङ्क्षिप्त प्रतिक्रिया दिँदै बालचलचित्रका नायक चौरेलले भविष्यमा आफू कलाकारिता क्षेत्रमा नै लाग्ने बताए ।
सोही कार्यक्रममा विजयराज आचार्यकृत बालकथा सङ्ग्रह ‘स्वर्गमा मोबाइल’को विमोचनसमेत गरिएको छ । कृतिमाथि आफ्नो धारणा राख्दै समीक्षक तथा वरिष्ठ बालसाहित्यसाधक शैलेन्दु प्रकाश नेपालले 'समाविष्ट विषयवस्तु, पात्र र सन्देशका दृष्टिकोणले छ वटै कथाहरू पृथक् छन्' भने । 'राज्यपक्षले जति धेरै सोच्यो, त्यति धेरै बालबालिकाको विकास हुनेमा दुई मत छैन' भन्ने उनको अभिमत थियो । नेपालका अनुसार कथाका अनेक सन्दर्भ र कतिपय भाषिका प्युठानकै सेरोफेरोका छन् । 'स्वर्गमा मोबाइल' यो सङ्ग्रहभित्रको व्यङ्ग्यात्मक कथा हो । उनले हरेक कथाको साङ्गोपाङ्ग समीक्षा मात्र गरेनन्, रौँचिरा नै केलाए । लैङ्गिकमैत्री रूपमा बालिकाको उपस्थिति बेसी भएको उनको कथन थियो ।
प्रमुख अतिथि प्युठानका प्रतिनिधि सभाका सांसद सूर्य थापाले 'किबोर्ड'मा बालकका अडानका कारण नै बाबुआमाको सम्बन्ध विच्छेद रोकिएको परिघटनाबाट हाम्रो समाजले विशेष शिक्षा लिनु जरूरी भएको बताए । किबोर्डले १२० कृतिका सर्जक विजयराज आचार्यलाई नयाँ युगतिर पदार्पण गरेको उनले जिकिर गरे ।
कार्यक्रममा वरिष्ठ बालसाहित्यकार रामबाबु सुवेदी, सुशीला प्रधानाङ्ग, विजयराज न्यौपाने, छायादत्त न्यौपाने 'बगर' चलचित्र निर्देशक सुचित्रा श्रेष्ठलगायतका मूर्धन्य साहित्यकारहरूको पनि उपस्थिति थियो । उक्त कार्यक्रमलाई सर्जक विजयराज आचार्य स्वयंले सहजीकरण गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij