२०८२ भाद्र ३ गते मंगलवार
‘अस्पताल र अदालतमा प्रवेश गरेपछि घर लथालिङ्ग हुन्छ ।’
बुढापाकाको यो भनाइ अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छ । उखान, टुक्का, गाउँखाने कथा, कथनहरु कुनै अनुभवबाट नै खारिएर समाजमा स्थापित भएका हुन्छन् । त्यसैले त भनिएको “आगो ताप्नु मुडाको कुरा सुन्नु बुढाको ।” रोग कसैको लागि प्रिय बस्तु होइन । न त यो योजनाबद्ध हिसाबले भित्रिन्छ, न त यसका लागि उपयुुक्त समय नै चाहिन्छ । कामको चाप, चाडपर्व, बन्द, कर्फ्यु, लकडाउन कुनै पनि बेला यसले आक्रमण गरेपछि अरु सबै काम छोडि बाध्य भएर बिरामीको उपचारमा लाग्नु पर्दछ ।
कोरोना संक्रमणको वर्तमान अवस्थामा अस्पताल जानु कसैका लागि पनि रहरको विषय होइन । “झिकिदे गाँड भन्दा उल्टो थपिदे गाँड” भनेझैं रोग निदान गर्न अस्पताल जाँदा उल्टै रोग थपिन सक्छ । तैपनि समस्या परेपछि अस्पताल त जानै प¥यो । सरकारी अस्पतालमा हुने ढिलासुस्ती, नातावाद र शक्तिको प्रयोग एवं भिडभाड टाढाको अस्पताल जानलाई जोरविजोर प्रणाली यी सबै कुरालाई मध्यनजर राखी काठमाडौंस्थित घरनजिकैको एउटा सामुदायिक अस्पतालमा उपचार गराउन बाध्य भइन्छ । जहाँ सप्ताह महायज्ञ लगाएर सुरु गरिएको जननेताको नाममा स्थापित अस्पतालमा प्रवेश गर्नासाथ ठुलै माछा हाता लागेझैं अस्पतालले व्यबहार गर्यो ।
साँच्चै भन्न् पर्दा जनजनबाट दुई चार हजार जम्मा गरि सुरु गरिएको अस्पतालको शीलान्यास गर्दा यो पङ्क्तिकार पनि उपस्थित थियो । कुनै ब्यापारीको नीजि सम्पत्ति लगानी गरी मुनाफा कमाउने उद्देश्यका साथ खुलेको अस्पताल उपचार र चेक जाँचको खर्चमा कुनै कम नभएको अझ केही पक्षमा त झन् महँगो भएको अनुभूती गरायो । अस्पताल त सेवामुखी हुनु पर्ने हो तर यहाँ त मुनाफा बाहेक अरु कुनै उद्देश्य नभएको लाग्न थाल्यो । सामान्य दमको परिक्षणमा पनि पचासौं थरिको समस्या देखियो । सुधारको अवस्था हेर्नलाई केही जाँच पटकपटक गर्नु पर्छ तर सुरुकै जति खर्च लाग्नेगरी प्राय सबै जाँच पटकपटक धेरै बिल उठ्ने गरी परिक्षण गर्नुको राज अर्कै रहेछ । वास्तवमा प्रष्ट रुपमा भन्नुपर्दा ल्याब एउटा कमाउने भाँडो रहेछ । सरकारी अस्पतालमा ३ हजार देखि ४ हजार ५ सयसम्म लाग्ने परिक्षण यहाँ ११ हजार ५ सय लाग्ने रहेछ । अस्पतालैपिच्छे ओपिडी सेवादेखि उपचारसम्मको फरकफरक शुल्क तोक्दै बिरामीबाट बढी शुल्क असुल्ने गरिएको रहेछ । बिरामीको नाम गरेर एक पटक बोलायो कि कम्तीमा पनि ५००० सकिन्छ । त्यस्तो किसिमको परिक्षण दिनभरिमा कति हो कति बयान गरि साध्य छैन ।
पैसा उठाउने नीति कर्मचारीको कर्कस स्वर र त्यस्तै व्यबहार, मानवीय समवेदना रीत्तोेरीत्तो भएको अवस्था । त्यसमाथि बिरामीको आफन्तलाई उल्टै झर्को फर्को त सामान्य कुरा भयो । त्यतिमात्र होइन, बिरामीका आफन्त र अस्पताल कर्मचारीमा सधैंजसो वाद विवाद मात्र सुनिन्छ । जब उपचारको खोजिमा अस्पताल पुगिन्छ त्यहाँ त पुरै अशान्त वातावरण । सामान्य बिरामीलाई पनि आइसियुतिर पुर्याइहाल्ने । कसरी हुन्छ भर्ना गर्नु नपर्ने बिरामीलाई जतिसक्दो छिटो भर्ना गराइहाल्ने । वास्तवमा भन्नुपर्दा एक लाख भित्र उपचार सकियो भने त अचम्म मान्नु पर्ने रहेछ । बिना रोगको झोलाकोझोला औषधिको प्रयोग, त्यसमाथि बिरामीको सम्बन्धित ब्यक्तीले चासो र अवलोकन गर्न पनि नपाउने । अरु निजी सामुदायिक भनिएका अस्पतालको अवस्था पनि खासै फरक छैन । बिरामी ल्याउने एम्बुलेन्स, औषधि पसलेदेखि लिएर क्यान्टिनसम्मको कमाउने सेटिङ मात्र । स्वास्थ्य गुम्यो भने सबै थोक गुम्छ। स्वास्थ्यसङ्ग सम्झौता गर्न मिल्दैन । यस्ता अस्पताललाई राम्रोसङ ज्ञान छ । त्यसैलाई कमजोरी सम्झी यस्ता अस्पतालले कोरोनाको बाहनामा लुटपाट मच्चाइरहेका छ्न् । सेवा त नाम मात्रको हो । नियमन गर्ने निकाय खै कता छ ? सायद उसले पनि मुनाफाको केही हिस्सा हात लगाउँदो हो र त चुपचाप देखिन्छ । न भ्रष्टाचार लाग्ने, न कुनै चेक जाँचको मिल्ने दर भाउ छ । जति मन लाग्यो उति शुल्क लिन पाउने, कोही बोल्न नसक्ने, बिरामी ऋण काढेर अस्पतालमा भर्ना भएको छ । क्या गजबको ब्यापार ! हुने खानेको राम्रो व्यावसाय अहिले अस्पताल र चिकित्सा अध्ययन बनेको छ ।
सिङ्गो विश्व कोरोनाको कहरले थलिएको अवस्था छ । मुलुक आर्थिक रुपले टाट पल्टदैछ । तर यहाँ त अधिकांश अस्पताल मालामाल हुँदैछन् । वास्तवमा कोरोना सबैका लागि कहर भएन कमाउने खेती पनि भयो । तीन महिनाको कमाइ एकै महिनामा जो गर्नु रहेछ । यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । प्राय यस्ता अस्पतालहरुको अवस्था सबै उस्तै छ । मुठीभरका धनाढ्यहरुको अवस्था बेग्लै छ । तर अधिकांश निम्न र मध्यम वर्गीयहरुको पहुँचमा यस्ता अस्पतालहरु छैनन् । सरकारी अस्पतालले सर्वसाधारणलाई प्रभावकारी सेवा दिन समेत असफल भएका छन् । सरकरी अस्पतालमा उपचारका लागि बिरामीले घन्टौं कुर्नुपर्ने अवस्था अझै कायमै छ । आम नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिनुपर्ने सरकारी अस्पतालभित्रकै लापरबाही र बेथितिका कारण बिरामीहरु मर्कामा परेका छन् भने कतिले ज्यानै गुमाउनु परेको छ । पश्चिमा विकसित मुलुकमा स्वास्थ्यको जिम्मेवारी देशले लिन्छ । तर नेपालमा जुनजुन तन्त्र आएपनि स्वास्थ्य सर्वसाधारणको पहुँच भन्दा बाहिर छ । बिरामीले आफुले चाहेको चिकित्सकबाट सेवा लिन पाउने व्यबस्था सुनिश्चित हुनु पर्ने प्रावधान भएपनि सो प्रावधान कागजमै सिमित छ । खै कसरी भन्ने स्वास्थ्य मौलिक हक हो भनेर ? यस्ता ज्यादतीको भण्डाफोर गर्न तत्काल सम्बन्धित निकायले कदम चालोस् । मुलुकमा सरकार भएको आभास जनमानसमा बोध गराओस् ।
लेखक : त्रिभुवन विश्व बिद्यालयमा मानवशास्त्र बिभाग स्नातकोत्तर तहमा अध्यनरत विद्यार्थी हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij