२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १७ औँ वर्ष पार गरी १८ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू गरेको छ । सोही अवसरमा बैंकले बृहत रक्तदान, विभिन्न सामाजिक कार्यहरू र बैंकमा १० वर्ष भन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीहरूलाई सम्मान गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डा. महाबीर पुनद्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातवरण संरक्षण तथा प्लास्टिक रिसाइकलको लागि ५ लाखको आर्थिक सहयोगका गरेको छ । यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा सञ्चालित बृहत रक्तदान कार्यक्रममार्फत १६६ युनिट रगत सङ्कलन गरेको छ ।
सो अवसरमा बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरूमार्फत गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, दृष्टिविहिन नागरिकहरूलाई सेतो छडी वितरण, अनाथलय, बाल आस्रम तथा बृद्धा आस्राममा विभिन्न सामाग्री वितरण, फोहोरमैला व्यवस्थापनको लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरता जस्ता विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गरेको छ ।
साथै, बैंकका वर्तमान सञ्चालकहरू, पूर्व सञ्चालकहरू, संस्थापक सेयरधनी तथा बैंकका उच्च पदाधीकारीहरू, शाखा प्रबन्धकहरूको उपस्थितिमा सञ्चालन भएको उक्त समारोहमा बैंकका अध्यक्ष भरतराज ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैङ्कको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाइल बैङ्किङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैङ्किङ्ग आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij