२०८२ भाद्र २ गते सोमवार
नेपाली युवा राम्रो आम्दानी र रोजगारी पाउन ज्यानै जोखिममा राखेर काम गर्छन् भन्ने उदाहरण धैरै थिए, त्यसमा थपियो रुसी सेनामा भर्ती पनि। विभिन्न प्रलोभनमा अबैध बाटो हुँदै रुसी सेना लागेर युक्रेनसँगको युद्धमा होमिन पनि पछि परेनन्। यसैक्रममा ६ नेपालीले ज्यान गुमाइसके। एक जना युक्रेनले बन्धक बनाएको पुष्टि सरकारले नै गरेको छ। यी तथ्यांक आधिकारिक रूपमा सरकारले सार्वजनिक गरेका हुन्। पुष्टि नभएका अन्य तथ्यांकमा मृतक र बन्धकको संख्या बढी आइरहेका छन्।
मृतक र बन्धकको संख्या बढ्न थालेपछि सरकारी निकायहरूले घुमाउरो बाटोबाट नेपालीहरूलाई रुस पुर्याउने गिरोहमाथि निगरानी बढाइएको बताएका छन्। यसै क्रममा पूर्वसुरक्षाकर्मी, मेनपावर, शैक्षिक परामर्श दिने ‘कन्सल्टेन्सी’ सञ्चालकसहित १२ जना पक्राउन नै परे। अनि खुल्यो– ‘कसरी रुसी सेनामा पुगिरहेका छन् नेपाली युवा ?’ गिरोहले भारत पुर्याएका अझै केही नेपालीहरू दिल्लीका होटलहरूमा रहेको आशंका प्रहरीको छ। नेपाल सरकारले भारतीय प्रहरीको पनि सहयोग लिएर अनुसन्धान गरिरहेको बताएको छ।
को–को परे पक्राउ ?
प्रहरीका अनुसार अवैध रूपमा नेपालीलाई रुस पठाउने प्रमुख एजेन्ट पूर्वसुरक्षाकर्मी भएको खुलेको छ। पूर्वसुरक्षाकर्मीसमेत रहेका उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्माले हालसम्म १८ जनालाई रुस पठाइसकेको प्रहरीले जानकारी दिएको छ। काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२ जनालाई सार्वजनिक गर्दै काठमाडौं प्रहरी परिसर काठमाडौंले उक्त गिरोहमा पूर्वसुरक्षाकर्मीहरूसमेत रहेको खुलाएको हो।
विश्वकर्मासँगै पक्राउ पर्ने अन्यमा जोरपाटीका सन्तोष रोका, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका मनिष न्यौपाने, काठमाडौं–१६ का रोजल महर्जन, बूढानीलकण्ठका क्षितिज गिरी, सिराहाका दिपेन परियार, काभ्रेका सुवास लामा र चितवनका गोकर्ण अर्याल छन्। त्यस्तै, ओखलढुंगाकी सुजाता दाहाल, लमजुङका ईश्वर अधिकारी बाराका सन्तोष नेपाल र दाङका द्रोण डाँगी पनि यो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।
गिरोहले नेपाली युवाबाट प्रतिव्यक्ति ७ देखि १० लाख लिएर रुस पुर्याउने गरेका थिए। भिजिट भिसा लगाएर नेपालबाट भारत हुँदै रुसको सैनिकमा भर्ना हुने र राम्रो आम्दानी हुने भन्दै प्रलोभन दिने गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसएसपी भुपेन्द्र खत्रीका अनुसार यो गिरोहले नेपाली युवालाई भारत, यूएई हुँदै रुससम्म पुर्याएको दाबी गरे। खत्री भन्छन्, ‘उनीहरूको साथबाट नगद २७ लाख ६० हजार ५ सय, ४३ वटा पासपोर्ट, मोबाइल, ल्यापटप, प्रिन्टरलगायतका सामान बरामद गरिएको छ।’
पक्राउ परेकामध्ये सुजाता दाहालको साथबाट २७ र ईश्वर अधिकारीको साथबाट १६ वटा गरेर ४३ वटा राहदानीसमेत प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार, दाहाल पहिले कन्सल्टेन्सी चलाउँथिन्। उनले रसिया जाने नेपालीको कागजात मिलाउने, भिसा प्रक्रिया गर्ने लगायतका काम गर्दै आएकी थिइन्। रुसी सेनामा जाने युवाहरूको भिजिट भिसा मिलाउनेलगायत रुसी सेनामा भर्ना हुन अनलाइन अप्लाई गर्ने लगायतका काम गर्ने गर्थिन्। प्रहरीसँगको बयानमा सुजाताले आफूले कन्सटेन्सीको काम स्वरूप कागजातको प्रक्रिया मात्रै गरेको तर, युवाहरूलाई प्रलोभन दिएर रुस नपठाएको बताएकी छन्।
यसरी पार्थे प्रलोभन
प्रहरीका अनुसार यो गिरोहले नेपाली पासपोर्ट भएका अन्य धेरै व्यक्तिलाई पनि रुस लैजाने तयारी गरेको थियो। उनीहरूले ‘रुसी सेनामा भर्ना हुन सजिलो छ, धेरै कमाइ हुन्छ र ग्रिनकार्ड चाँडै बन्छ’ भन्दै नेपाली युवालाई प्रलोभनमा पार्ने गरेका थिए। गिरोहको ‘टार्गेट’मा सुरक्षाफोर्सका कर्मचारी तथा पूर्वसैनिक तथा प्रहरी पर्ने गरेका छन्। पूर्वसुरक्षाकर्मीको छिटो भिसा लाग्ने र आकर्षक कमाइ हुने भन्दै सामाजिक सञ्जालमा विज्ञापन राख्ने गरेका थिए।
पक्राउ परेका ईश्वर अधिकारीले प्रहरीसँग इन्कारी बयान दिएका छन्। उनले आफूले कसैलाई पनि प्रलोभन नदिएको र जान चाहनेका लागि मात्रै कागजी प्रक्रिया मिलाएको बताएका छन्। प्रहरीका अनुसार ईश्वरका दाजु हाल फरार छन्। उनको नेपाली युवालाई रुस लैजान प्रत्यक्ष भूमिका रहेको बताइएको छ।
मुख्य योजनाकार विश्वकर्मा को हुन् ?
पक्राउ परेकामध्ये उदयपुरको कटारी नगरपालिका–६ का हरिबहादुर विश्वकर्मा यो प्रकरणका मुख्य आरोपी हुन्। उनी म्यानपावर सञ्चालकसमेत हुन्। उनी पूर्वसैनीकसमेत हुन्। सैनिक पेसा छाडेपछि वैदेशिक रोजगारीका लागि उनी विदेशसमेत गएका थिए। पछिल्लो ६ वर्षदेखि मेनपावर चलाइरहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अंगुर जिसीका अनुसार हरिबहादुरले १८ जना व्यक्तिलाई रुस पठाएका छन्। प्रहरीसँगको बयानका क्रममा उनले कोहीलाई नेपालबाट र केहीलाई भारतको बाटो हुँदै रुस पठाएको बताएका छन्।
डीएसपी जिसी भन्छन्, ‘नेपाल सरकारले रुस जान कडाइ गरेपछि हरिबहादुरले दुबईको भिजिट भिसा लगाएर तथा भारतीय एयरपोर्ट प्रयोग गरेर रुस पठाएको स्विकार गरेका छन्।’ उनी पूर्वसैनिक भएका कारण पनि केही बहालवाला प्रहरीले समेत रुस जाने प्रक्रिया अघि बढाएको जिसीले बताए। उनले नेपाली सुरक्षा निकायका अधिकृतहरूलाई नै समेत प्रलोभन देखाएर रुस पठाउने गरेको अनुसनधानका क्रममा खुलेको छ। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij