२०८२ भाद्र १ गते आइतवार
काठमाडौ । शोधपत्रको आवश्यक प्रकृया पुरा गरेर क्याम्पसले समयमै नम्बर पठाउँदा पनि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले लापारबाही गर्दै विद्यार्थीको ट्रान्स्कृप्ट जारी गरेको छ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनमा मानविकी सङ्काय तर्फ समाजशास्त्र स्नातकोत्तर तहका विद्यार्थी रूद्रप्रसाद अधिकारीको ट्रान्स्कृप्टमा कार्यालयले लापरवाही गरेको हो ।
शोधका लागि उनले ९१ नम्बर प्राप्त गरेको क्याम्पसको रेकर्डमा उल्लेख छ । तर ट्रान्स्कृप्टमा भने शुन्य नम्बर राखेर जारी गरिएको छ । त्यही शुन्य नम्बर सहित जारी ट्रान्स्कृप्टमा सेकेण्ड डिभिजनमा पास भएको उल्लेख गरिएको छ । एकातिर क्याम्पसले दिएको नम्बर नराख्ने अर्कातिर शुन्य नम्बर प्राप्त विद्यार्थीलाई सेकेण्ड डिभिजनमा पास भएको प्रमाणित गर्नुले कार्यालयको लापरवाहीको पराकाष्टा देखाउँछ ।
कार्यालयको यो शैलीले आफूलाई धेरै तनाव भएको अधिकारी बताउँछन् । अब के कसरी यसको सुधार हुन्छ भन्ने बारेमा अन्योल भएको पनि उनी बताउँछन् । यस अघि सोही क्याम्पसमा अङ्गेजी विषय तर्फ अधिकारीले ब्याच टप गरेका थिए । समाजशास्त्र तर्फ २०७३,२०७५ समूहमा सबै लिखित विषय पास गरेका अधिकारीको शोधका लागि समाजशास्त्र विभागले मौखिक परीक्षा सहित आवश्यक सबै प्रकृया समयमै पुरा गरेर परीक्षा नियन्त्रण कार्यालय बल्खुमा शोधको नम्बर समेत पठाई सकिएको विभागीय प्रमुख केशवराज सापकोटा दावी गर्छन् ।
क्याम्पसको परीक्षा शाखाका शालीग्राम पौडेलले १०० पूर्णाङ्कमा शून्य अङ्क राखेर पास भएको ट्रान्सक्रिप्ट जारी हुनु परीक्षा नियन्त्रण कार्यालयको ठूलो त्रुटी भएको बताउँछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij