२०८२ भाद्र ७ गते शनिवार
आन्दोलन र क्रान्तिमा निकै फरक छ । आन्दोलनले सुधारको अपेक्षा गर्छ भने क्रान्तिले परिवर्तनको । नेपालमा तीनवटा ठूल्ठूला क्रान्ति भयो भनिन्छ । त्यसमध्ये पछिल्लो माओवादीको जनयुद्ध र २०६२/०६३को जनआन्दोलन सर्वाधिक महत्वको क्रान्ति थियो किनकी त्यसले ब्यबस्था नै परिवर्तन गरि नेपाललाई नयाँ युगमा प्रवेश गरायो ।
जनगायक जीवन शर्माले हाल सालै गाएका गीतको सुरुको अंश :
‘छैन मेरो शरीरमा अत्तरको सुगन्ध,
होला बरु जीउभरि पसिनाको गन्ध,
चाहिंदैन मलाई सिसाको महल,
चाहिंदैन मलाई चमेलीको बास,
यसै राम्रो छ यो मेरो जीवन,
चाहिंदैन मलाई सम्पत्तिको रास !
कुनै बेला क्रान्तिकारी कमरेडको ‘सादा जीवन, उच्च विचार’ नारा नै थियो । संसार बदल्न हिंडेको भन्थे उनीहरू । संसार बल्दन उनीहरूले त्याग र तपस्या, जेल र नेल भोग्न तयार भए । ब्यबस्थासम्म त बदले तर जनताको जीवनस्तर नै बदल्न हिंडेकाहरू जनताको अबस्था नबदलिंदै आफैं बदलिए ।
हरेक बिहान सहमति र सहकार्यको खोजी हुँदैछ भन्ने जस्ता विषयले पत्र–पत्रिका, रेडियो, टेलिभिजनमा गुन्जिन्छ साँझ हुँदासम्म विमतिका निष्कर्षले ढाकिएका हुन्छन् । हरेक संवाद अन्तरक्रियामा विवादमा, भेटघाटमा मतभेद र परस्पर कुराकानी खिचातानी अनि परिणाम के निकाल्न खोज्दैछौ ?
क्रान्तिबाट आएको नेतृत्वले मैले जनतालाई के दिएँ भन्दैन । मैले ४/५ जनता ब्यक्तिलाई प्रधानमन्त्री बनाएँ भनेर आफ्नो योगदानको आफै गर्व गर्छन् । यस्तो क्रियाकलाप क्रान्ति माथिको धोका होईन र रु जनताले अस्वीकार गरेकालाई देशको कार्यकारी पदमा पुर्याउन भएको हो क्रान्ति ?
ब्यवस्था परिवर्तनकै लागि १४ बर्ष जेल बसें भनेर जनतासामु हुकुमी शासन गर्ने क्रान्तिकारी प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलता भन्नुहुन्छ । सहनशीलता भनेको म केही गर्दिनँ तर मेरा आफ्नाले गरेको हेर्दै हेर्दिनँ भन्नुभएको पक्कै होइन होला । राष्ट्रिय दैनिक पत्रिका र राष्ट्रिय टेलिभिजनका साथै सामाजिक संजालमा अपारदर्शी धन जम्मा गर्ने स्विस बैंकको काण्ड बाहिर छरपस्ट आयो मेरो कम्युनिष्ट सरकारलाई छोएन । विमान खरिद (वाइडबडी काण्ड) भयो । नेपालमा मात्र होइन, विदेशमा समेत उक्त खरिद प्रक्रिया नै गलत भएको र भ्रष्टाचार भएको समाचार आए तर क्रान्तिकारी पार्टी र सत्तालाई कत्तिपनि छोएन । सत्तालाई त छोएन छोएन, निष्पक्ष रहेको संबैधानिक निकायलाई समेत छोएन । हरेक वर्ष ट्रान्सपरेन्सि इन्टरनेसनलले भ्रष्ट देशहरूको सूचीमा नेपालको पनि नाम लेखाउँदै आएको छ । सर्वसाधारण जनता लज्जित छन् तर सत्तामा बसेकाहरूले क्रान्ति र आन्दोलन अनि परिवर्तनको चर्को नारा लगाउन छोडेका छैनन् ।
ए निर्लज्ज क्रान्तिकारीहरू ! आयल निगमका जग्गा काण्डका दोषीलाई खै कारबाही गरेको ? वाइड बडीका दोषीलाई किन कारबाही नगरेको ? मेलम्चीका ठेकेदार खै ? राष्ट्रिय गौरवको आयोजनामा यति बदमासी गर्नेलाई त्यतिकै छोड्न मिल्छ ? क्रान्तिकारी क्याबिनेटको मन्त्रीले घुस मागेको अडियो/भिडियो बाहिरिँदा समेत पक्राउ परेनन्, कारबाही भएन । यदि पियन र खरदार स्तरका सामान्य कर्मचारीले अनियमितता गरेको भए घुस रकमसहित रंगेहात भन्दै सोही दिन पक्राउ पथ्र्यो १ आर्थिक अपारदर्शिता, चन्दा र कमिसनको दुष्चक्रमा फसेको सत्तालाई म कसरी क्रान्ति र परिवर्तनको संबाहाक भनूँ ?
कम्युनिस्ट क्रान्तिकारी सर्वहाराहरू आज सत्तामा पुग्दा कार्यशैलीको समीक्षा गर्दा कार्लमाक्र्स, लेनिन, माओ जीवित भएको भए नेपालका सर्वहारा क्रान्तिकारी कम्युनिस्टहरूलाई के भन्थे होलान् ? उत्तर कसैबाट सहजै आउदैन । कम्युनिस्टहरू आफैं भन्छन्, हामी सर्वहाराका मुक्तिदाता हौं ? खै त ? झण्डै दुई तिहाइ बहुमतका साथ सरकार हाँकिरहेका कम्युनिस्टहरूको यात्रा यतिबेला कतातिर जाँदैछ ? कार्लमाक्र्स लेनिनको बाटोमा या, हिटलरको पथमा ?
आर्थिक अपारदर्शिताको जालो यहाँसम्म छ कि भ्रष्टाचारको विरोध गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन गएका केही सामाजिक अभियान्ता र विवेकशील पार्टीका पाँच/सात जना अभियान्ताहरूलाई कार्यालयको ढोकासम्म पनि जान दिइएनछ । भ्रष्टाचारीलाई कारबाहीको त कुरा छाडौं, भ्रष्टाचार भयो भनेर सम्बन्धित निकायसम्म जान पनि नपाइने ?
भनिन्छ, लाज शरम हराएको नकच्चरोपनमा थच्चिएपछि मान्छेलाई जुनसुकै स्तरमा गिर्नपनि अप्ठ्यारो हुँदैन । लाज र घीन पचाएकालाई कुनै कुराको बात लाग्नुमा लाज्जाबोध हुँदैन । लाज र जवाफदेहिता पचेको उदाहरण अहिलेको सरकार हो ?
आफुलाई परिवर्तनको संबाहाक भन्ने क्रान्तिकारी शक्ति केवल एउटा निर्वाचनदेखि अर्को निर्वाचनसम्म जाने निर्लज्ज राजनीतिक दल बन्ने हो वा बृहत सामाजिक/आर्थिक/साँस्कृतिक यथोचित परिवर्तन गर्न सक्ने आदर्श पछ्याउन सक्ने कार्यकर्ता आधारित संगठन अनि सत्ता निर्माण गर्दै जाने हो ?
यही बीचमा छिमेकबाट आशीर्वाद दिन गुरुहरू आए । आफूले समर्थन गर्नेहरू क्रान्तिकारीहरू झुक्दै भेट्न गए भने विरोध गर्नेहरू पनि लुक्दै भेट्न गए । कसैले खुल्ला भेटेर समाचारमा आए, कोही गोप्य भेट गरेर चर्चामा आए । क्रान्तिकारी सत्ता र शक्तिपनि राष्ट्रवाद र राष्ट्रियताको मामिलामा प्रधानमन्त्रीको कुर्सी सग जोडिएको रहेछ भनेर प्रष्ट भयो ।
६२/६३ आन्दोलनमा हिँड्दा काठमाडौको सडक ठूलो फराकिलो देख्दा सोचिन्थ्यो, ओहो १ अब यति ठूलो व्यबस्था नै बदल्ने क्रान्ति भएपछि त हाम्रो अवस्था कसो नबदलिएला... तर, दुःखका साथ भन्नुपर्छ - त्यति ठूलो बलिदान बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धि अहिले हामीले अभ्यास गरिरहेको शासन प्रणाली वास्तविक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली जस्तै लागेन, लोकतान्त्रिक ब्यबस्था भनेको छ, अधिकारका कुरा गरिएको छ, बिकास र समृद्धिको कुरा गरिएको छ तर अधिकार दिँदा र नियुक्ति गर्दा पहिले मेरो पार्टी र मेरो गुटको मान्छे, अलिपछि आफ्नो मान्छे/हाम्रो मान्छे भनेको सुनिन्थ्यो तर अहिले मेरो मान्छे ! कठै ! निर्लज्ज हामी क्रान्तिकारीहरू !
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij