२०८२ भाद्र २ गते सोमवार
पोखरा । पोखराको एक होटलमा मंगलबार अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजेको अचेत अवस्थामा फेला परेकी थिइन् ।
२ वर्षदेखि सोही ठाउँकै शिला रेस्टुरेन्टमा काम गर्दै आएकी विकको अचेत अवस्थामा होटलबाट उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, उपचारकै क्रममा साँझ करिब साढे ७ बजे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद रहेको खुलेको छ । ‘घटना अलि शंकास्पद नै छ । हामीले अनुसन्धान गरिरहेका छौं ’, उनले भने ।
प्रहरीका अनुसार दिउँसो विक र एक जना पुरुष होटलको कोठामा प्रवेश गरेका थिए । कोठामा प्रवेश गरेको केही समयमै पुरुष बाहिरिएको र महिला साँझसम्म ननिस्किएपछि होटल सञ्चालकले खोजी गर्दा अचेत अवस्थामा फेला परेका थिइन् । विकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको कास्की प्रहरीले जनाएको छ । यो घटना अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij