२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ। भूकम्प प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रूपैयाँ बराबरको राहत सामाग्री वितरण गरेको हो।
जिल्ला विपद् व्यवस्थापन समिती जाजरकोटद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुबेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन्।
गत शुक्रबार मध्यरात जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पश्चिम नेपालमा ठुलो क्षति पुर्याएको छ। प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने नबिल बैंकको आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको हो।
प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाका अनुसार बैंकले खाद्यन्न, त्रिपाल, ब्लाङ्केट, औषधी लगायतका एक करोड बराबरको राहत सामाग्री उपलब्ध गराउने भएको छ।
'हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौं। यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो,' उनले भने। उनले जाजरकोट र रूकुम-पश्चिम दुवै क्षेत्रमा राहत सामाग्री उपलब्ध गराउने जानकारी दिए।
राहत सामाग्री बोकेर नबिल बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत सुबेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुगेका थिए। नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा भइरहेको दैविक प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदै आएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij