२०८२ भाद्र १७ गते मंगलवार
माछापुच्छ्रे बैंक लिमिटेडको पच्चीसौँ वार्षिक साधारण सभा विहीबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ।
साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि जि.पि.राजबहाक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ।
बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट रु. १ अर्ब ३६ कोड ४२ लाख १ हजार ६९२ (चुक्ता पूँजीको १३.३० प्रतिशत) बोनस शेयर र रु. ७ करोड १८ लाख ८९ रुपैयाँ (चुक्ता पूँजीको ०.७० प्रतिशत) नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साथै साधारणसभाले माछापुच्छ्रे बैंक लि. र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो। हाल बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित रहेको बैंकले जनाएको छ।
साधारण सभामा बोल्दै बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले देशको आर्थिक स्थितीलाई मजबुत बनाउन बैंकको तर्फबाट यथासक्य योगदान पुर्याउने उद्धेश्यका साथ सन्तुलित रुपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको बताए।
डा.महतोले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकारी गराउँदै बैंक सधैँ अर्थपूर्ण मर्जरका लागि सकारात्मक रही सोही बमोजिम छलफलहरु समेत गर्दै आइरहेको जानकारी गराए।
कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु मुकुन्द महत र जयमुकुन्द खनालले आ–आफ्नो मन्तव्य राख्दै बैंकले आफ्नो आन्तरिक तथा बाह्य लेखापरिक्षण कार्यलाई नियमित बनाई बैंकको वित्तीय अवस्थालाई थप पारदर्शी बनाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यहरुलाई निरन्तरता दिने कार्यमा संचालक समितिको साथ रहिरहने प्रतिबद्धता व्यक्त गरे।
बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij