Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

१११ औं नारी दिवस र नेपालमा महिलाको अवस्था

१११ औं नारी दिवस र नेपालमा महिलाको अवस्था


  • 21.4K
    Shares

    १११ औं नारी दिवस र नेपालमा महिलाको अवस्था

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्दा प्रत्येक वर्ष मार्च ८ तारिखका दिन  मनाइने अन्तर्राष्ट्रिय नारी दिवस उत्पीडित महिलाहरूको लैङ्गिक विभेद विरुद्धको आवाज हो । विश्वव्यापी रूपमा महिला शसक्तीकरणको अभियानलाई बुलन्द पारिदै महान् सङ्कल्पका  साथ निरन्तर जारी राखिने अनन्तकालीन यात्रा हो नारी दिवस ।

    विगतका वर्षमा जस्तै यो वर्ष पनि १११ औं अन्तर्राष्ट्रिय नारी दिवसलाई संसारभरका महिलाहरूले विभिन्न कार्यक्रमका साथ मनाउँदै छन् । पुरानतवादी सोच, पुरुषवादी मानसिकतामा परिवर्तन नभएसम्म नारी मुक्ति सम्भव छैन । तसर्थ यो अन्तर्राष्ट्रिय नारी दिवस चेतनशील नारीहरूको मात्र नभइ समाज र राज्यको नारी मुक्तिप्रतिको गहन जिम्मेवारी समेत हो । 

    ढुंङ्गे युगमा नारीहरूको अवस्था

    मानव सभ्यताको विसकाससँगै आजको समाजलाई यो अवस्थासम्म ल्याइ पुर्याउने मुख्य पात्र नारी नै थिए । आदिमकालमा पुरुषहरू जंगलमा सिकार गर्ने काम गर्दथे भने नारीहरू आफ्नो बासस्थानमा कन्दमुल बटुल्ने, फलफुल खोज्ने र विभिन्न जंगली अन्नहरू बटुलेर आफू बस्ने ठाउँ वरीपरी उमार्ने काम नारीले नै गरे । समग्र मानव जातिलाई सामाजिकरणमा ल्याउने र समाजमा स्थायीत्व ल्याउने काम पनि नारीले नै गरेका थिए । त्यसैले त तत्कालीन आदिम समाजमा महिलाको स्थान उच्च थियो । वर्तमान अवस्थामा मानिसहरू सबै शिक्षित हुँदै गए पनि अहिले आएर यिनै महिलाको हक अधिकार क्रमशः खोसिदै गए र विस्तारै दोस्रो दर्जाको नागरीक बनाउन थालियो । 

    नेपालमा महिलाको अवस्था

    वर्तमान अवस्थामा नेपालमा महिलाको अवस्थालाई हेर्दा केही सुधारजस्तो देखिएतापनि तात्विक भिन्नता आउन सकेको छैन ।  विभिन्न किसिमका घरेलु हिंसा, बलात्कार, भ्रुण हत्या, चेलीवेटी वेचविखन, यौन हिंसा, असमान ज्याला र सम्पत्तिमा अधिकारहिनता जस्ता धेरै असमानताहरू अहिलेपनि विद्यमान छन् । अहिलेसम्मको वर्गीय समाजलाई अध्ययन गर्दा पितृसत्तावादी पुँजीवादी विश्वव्यवस्थामा समेत महिला समानता छैन । प्रत्येक दिन १ अर्व महिलामाथि हिंसा र प्रत्येक ४ सेकण्डमा १ महिला वलात्कृत हुने तथ्याङ्क आइरहँदा पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन किन जरुरी छ ? यहाँ प्रश्न चिन्ह खडा भएको छ । आफ्नो सन्तानको भविष्य, इज्जत जाने डर र पितृ सतात्मक सोचाइका कारण पनि नारीहरूले श्रीमान र घरपरिवारको दमन, अन्याय, पिटाइ, परिवारको धम्की, गाली गलौज विभिन्न किसिमका लान्छनालाई सहेर आफ्नो भाग्यलाई दोष दिएर बाँच्न बाध्य भएका छन् ।

    हुन त शिक्षित र सचेत भनिने महिलाको परिवारमा पनि महिला घरेलु हिंसा नभएको होइन सासु बुहारीको झगडा, नन्द अमाजुको झगडा, देउरानी जेठानीको झगडा र बोक्सीको आरोप लगाउने काम पनि महिलाबाट सुरु भएको हो भन्न सकिन्छ । साँच्चै भन्नुपर्दा महिलाहरूले विभिन्न हिंसा सहनुको कारण महिलाहरूमा सामाजिक, शैक्षिक र आर्थिक हैसियत नहुनु पनि हो । महिलामाथि हुने हिंसा केवल पुरुषहरूबाट मात्र हुन्छ भन्ने पनि होइन कहिलेकाहीँ महिलाकै व्यवहार र चरित्रको कारणबाट पनि महिलामाथि जवरजस्ती हिंसा गरिएको देखिन्छ । समाजमा सबै महिलाहरूको चरित्र र व्यवहार एकै  किसिमका हुन्छ भन्ने हुँदैन । कतिपय घटनाहरू महिलाकै सहमतिमा पनि घटेका छन् । यस्ता कलंकीत घृणीत विषयहरू उठिरहँदा नारीमाथिको अत्याचारको चाप झन् बढीरहेको सन्दर्भमा नारी दिवसको अवसर पारेर त्यस्ता अन्याय र अत्याचार अन्त गर्ने तर्फ लाग्नुपर्ने हुन्छ । संसारका अन्य देशहरूमा झैं प्रत्येक वर्ष नेपालले पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आएको भएतापनि विडंवना यो छ कि हाम्रो देशका  महिलालले आफ्नै लैङ्गिक अधिकारको समानताको अनुभूति पूर्ण रूपमा सुरक्षित गर्न पाएका भने छैनन् । वास्तवमा जनसंख्याको हिसावले हेर्दा आधा धर्ती ओगट्ने महिलाको अवस्था नाजुक रहेको विभिन्न तथ्याङ्कले देखाएको छ । अहिलेको २१ औं शताब्दीमा आइपुग्दा पनि नेपाली नारीहरू परिवार, समाज तथा राष्ट्रकै दृष्टिमा पनि दोस्रो दर्जाको नागरीकको रूपमा बाँच्न वाध्य छन् । 

    नारी मुक्ति आन्दोलनको इतिहास

    नेपाली महिला इतिहासको आन्दोलनलाई केलाउँदा विभिन्न कुसंस्कार र वेथितिका विरुद्ध नेपाली महिला आन्दोलनको सुरुवात भएको हो । महिलालाई देवीको प्रतिक मान्ने यही समाजले उनीहरूलाई दोस्रो दर्जाको नागरीक सरह व्यवहार गरेका कारण नेपाली महिला आन्दोलनको जन्म भएको हो । नेपालमा महिलाहरूमाथि हुने सामाजिक विभेदको अन्त्य गर्ने पहिलो प्रयास स्वरूप वि.सं. १९७७ मा सामाजिक मान्यता प्राप्त सति प्रथालाई गैरकानुनी घोषणा गर्दै यस्तो प्रथाको अन्त्य गरियो । यस्ता आन्दोलनहरूमा योगमाया, मंगलादेवी, साहना प्रधान जस्ता प्रवुद्ध महिलाहरूको मुख्य भूमिका रहेको थियो । त्यस्तैगरी नेपाली महिला आन्दोलनको इतिहासलाई हेर्दा सुरुमा योगमाया न्यौपानेलाई लिन सकिन्छ । ७ वर्षको उमेरमै विवाह गराइएकी योगमाया ९ वर्षको उमेरमा विधवा हुन पुगेकी थिइन् ।

    शताब्दीऔं अगाडिको तत्कालीन समाजमा परिवर्तनको पक्षमा आवाज उठाउँदा घर र माइती पक्ष दुवैतिरबाट अपमान सहनु परेको पीडा त्यतिकै थियो । त्यो बेलाको समाजमा पनि २७ वर्षको उमेरमा आफुमाथि नै चुनौति दिँदै विधवा अवस्थामा विवाह गर्ने आँट उनले गरिन् । तर आजका दिनमा पनि सबै एकल महिलामा यस्तो साहस आउन सकेको छैन । लगभग १९७४ मा सन्यास ग्रहण गरेकी योगमायाले सतिप्रथा विभेद र धनी, जातभातको नाममा हुने अन्याय, अत्याचारका साथै राणाकालीन विरुद्धमा पनि विद्रोह गरेकी थिइन् । यति हुँदाहुँदै पनि उनले लडाईंको नतिजा प्राप्त नगर्दै १९९८ असार २२ गते ६८ जना महिला अनुयायीका साथ अरुण नदीमा सामुहिक जीवन समाप्त गरी तत्कालीन समाज र राज्यको व्यवस्था माथि नै चुनौति दिएकी थिइन् । तर त्यो बेलाको नारी चुनौति पनि त्यतिमै सीमित रह्यो । त्यस्तै गरी महिला आन्दोलनको अर्को कारण त्यो थियो कि ज्यालामा विभेद । त्यसैले श्रमिक महिला दिवस  पनि भन्ने गरियो । अहिले पनि नेपालको सन्दर्भमा ज्यालामा विभेद विभिन्न क्षेत्रमा कायमै रहेको छ । 

    महिला सशक्तिकरण

    वास्तवमा जति नै कानुन बनेर संविधानमा अंकित भए पनि रुढीवादी परम्परा समाप्त नहुँदासम्म महिलामाथि गरिने विभेदको अन्त्य हुँदैन । सबैभन्दा पहिले महिलाको आँखाबाट हेरौं, समानता घरैबाट सुरु गरौं, नारी पुरुषलाई समान रूपमा हेरिन्थ्यो भने नारी दिवस मनाउनुपर्ने अवस्था आउने थिएन ? वर्ष दिनभरी नारीले अपहेलना हिंसा, विभेद सहँदै आएका छन् भने १ दिन नारी दिवस मनाएर नारीको हक, अधिकार र स्वतन्त्रता हुन्छ ? के १ दिन मनाउने नारी  दिवसले साँच्चै महिलाको अधिकारलाई परिपूर्ण गर्छ ? तसर्थ समानता घरैबाट सुरु गरौं । म र मेरो भाइमा किन विभेद हुने ? तपाई र तपाईको बहिनीमा किन विभेद हुने ? यस्तो किसिमको रुढीवादी परम्परा कहिलेसम्म रहने ? जुन समाजमा महिला हिंसा  र कुरितीले जरो गाडीरहेको छ, त्यो समाजले प्रगतिको सपना देख्नु भनेको दिउँसै रात पर्नु हो । त्यसैले महिलाहरू सामाजिक, आर्थिक, राजनैतिक र वौद्धिक क्षेत्रमा सक्षम हुन जरुरी छ । तसर्थ यो अन्तर्राष्ट्रिय नारी दिवस चेतनशील नारीहरूको मात्र नभैकन समाज र राज्यको नारी मुक्तिप्रतिको गहन जिम्मेवारीको विषय हो । 

    महिला सशक्तिकरणलाई ‘उनीहरूमाथि आइपर्ने विभिन्न समस्यालाई समाधान गर्न सक्ने बन्नु हो’ भन्ने अर्थमा बुझिनु पर्दछ । महिला सशक्तिकरण यस्तो शक्ति हो, जसले घर, परिवार, समाज, राष्ट्र र सिंगो विश्वमै परिवर्तन ल्याउन सक्छ । त्यसैले महिला स्वयं पूर्णरूपमा सक्षम र सबल हुनु जरुरी छ । तसर्थ आउने दिनहरूको सुखद् प्रतीक्षा गर्दै, सकारात्मक र समतामूलक  सोचमार्फत महिलाहरूको प्रगतीको आधार निर्माण गर्न सकियोस् भन्ने ध्येले हामी सबै अघि बढ्नु पर्दछ । यही नाराका साथ मनाइन लागेको १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसले सबै प्रकारका महिला हिंसाहरूको अन्त गर्न सकोस्, शुभकामना !

    (लेखक : आर आर क्याम्पस मानवशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्यनरत विद्यार्थी हुन् ।)

     

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - ०९:२९:५९ बजे
    प्रतिक्रिया

    विष्णु चुडाल

    writer

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij