२०८२ भाद्र ७ गते शनिवार
नेपाली नियात्रा साहित्यको पछिल्लो कृति हो बादलडाँडा । कृतिको नाम सुन्दै यस्तो लाग्छ, प्रकृतिको सौन्दर्यले नियात्राकारको मन अग्घोरै लोभ्याएको छ । उसो त बादलको डाँडा कस्तो होला ? भुँइकुहिरोले छपक्कै छोपेको डाँडाभन्दा यो कत्तिको पृथक होला ? उत्सुकताको बलियो छायाले हामीलाई पक्कै छोप्छ । पक्कै पनि यो कृतिले बादलडाँडा कुन स्थानमा पर्छ भनेर खोजीनीति गर्न पाठकलाई झकझकाएको छ भन्ने सामान्य अनुमान कृति नै नपढी गर्न सकिन्छ ।
यात्राका पाइला (२०७६), पैतालामा हिउँ र आँखामा हिमाल (२०७८) प्रकाशन गरिसकेका डङ्गोलको यो तेस्रो कृति हो । दुई दुई वर्षको अन्तरमा लेखिएका यी साहित्यिक कृति नेपाली साहित्य जगत्का लागि ठूलो प्राप्ति हो । चार वर्षको समयभित्रै खँदिला तीनओटा कृति प्रकाशन गर्न सानो मिहिनेतले अवश्य पुग्दैन । नियात्रा विधाप्रति असीम प्रेम र लगनशीलताले नै यो सफल भएको मान्न सकिन्छ ।
लेखकको ‘कञ्चनजङ्गालाई नियाल्दा’ नियात्रा सरकारी विद्यालयको नेपाली विषयको पाठ्यक्रममा समाविष्ट भई २०७९ सालदेखि नै पठनपाठन सुरु भइसकेको छ । हिमाल र हिमाली क्षेत्रबारे लेख्ने स्रष्टा औलामा गन्न सक्ने छन् । यिनै मध्ये बलियो सम्भावना बोकेर उदाएका स्रष्टा हुन् राजेन्द्रमान डङ्गोल ।
साँच्चै न डङ्गोल आफ्नो पेसामा जति दत्तचित्त छन् त्यति नै लेखनमा पनि मरिमेट्ने स्रष्टा लाग्छ । प्राकृतिक सौन्दर्यले धपक्क बलेका भूगोलहरुमा जब उनी पुग्छन्, थकाइसमेत नमारी त्यहाँको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वको अवस्था के कस्तो छ भनेर बूढापाका र जान्नेबुझ्नेसँग सोध्न थाल्छन् गाउँको नाउँको सार्थकता खोज्दै उधिन्न थाल्छन् किवंदन्ती र मिथकहरु । साहित्यमा नोबेल पुरस्कार पाउने भारतीय मूलका लेखक भीएस नइपालले कतै भनेका थिए । ‘यात्रा लेख्ने मान्छेले अन्वेषण गर्न सक्नु पर्छ । स्थानीयहरुबाट नयाँ नयाँ कुरा लिन सक्नु पर्छ । अनि मात्र यात्रा लेखकलाई पूर्ण बनाउँछ ।’ डङ्गोल पनि त्यस्तै लेखक हुन् जसले स्थानीय कथा र मौलिक संस्कृतिलाई आफ्नो लेखनमा समेट्न प्रयासरत हुन्छन् । यात्रामा थकाइ लाग्यो भनेर उनी सुस्केरा हालेर बस्दैनन् । जब अतिथिहरु होटलमा आराम गर्न थाल्छन् उनी नोटबुक निकाल्छन् र यात्राको अभिलेखीकरण गर्न लाग्छन् । ठाउँविशेषको महत्वपूर्ण कुराको बारेमा स्थानीयसँग सोधखोज गर्न थाल्छन् । अरुको आँखामा नपरेका गहन र पृथक सामग्री पाउनासाथ लेखनमा उतार्न थाल्छन् । आपूmलाई सफल यात्रीसँगै जिम्मेवार लेखकको भूमिकामा उभिन प्रयासरत हुन्छन् ।
बादलडाँडा कृतिमा सात जिल्लाका एक्काइस यात्रा अनुभूतिहरु समेटिएका छन् । तनहुँबाट सुरु भएर म्याग्दीमा पुगी कृतिले विश्राम लिन्छ । उनीसँगै पाठक पनि यी विविध ठाउँमा अक्षरमार्फत घुम्न पाउँछन् । लेखकको यात्रा अनुभूतिको रमरमले पाठकलाई पनि लठ्ठ पार्छ । हुन पनि चुड्काको प्रेमिल आँगनमा पुग्दाको अनुभूति होस वा चौरीखर्कको सुस्केरा किन नहोस् यात्राका स्वर्णिम पलहरुलाई स्मृतिको गर्तमा बिलाउन नदिई अक्षरमा सजाउन पुग्छन् । आन्तरिक पर्यटनको शंखघोष गर्छन् । स्थानीय संस्कृति, पुरातात्विक महत्वका मठमन्दिर र रीतिरिवाजको जगेर्नामा थाहै नपाइकन अघोषित दूत बन्न पुग्छन् ।
बादलडाँडा पढ्दा पाठकलाई तानिरहने अनेक किस्साहरु छन् । राजा महेन्द्र तनहुँको डुम्रेबाट बन्दीपुर उक्लेको, रामकोटमा पुग्दा होमस्टेका मगर समुदायले गरेको सम्मान, अतिथिका लागि टक्र्याएको स्थानीय रैथाने परिकार, देवीदेवताको नाम लिदैँ गाइएका चुड्काको मन हर्ने माहोल, ग्रामीण जनजीवनमा भेटिने असुरो किम्बु आदि जडीबुटी र तिनको चर्चा, स्थानीय तरकारी टुसा, निगुरो, सिप्लीकान, पड्के च्याउ लगायतको सन्दर्भ, छाब्दी बाराहीको प्रसङगसँग जोडिएको महाभारतकालीन कथा, छाब्दी बाराहीका माछा किन खान नहुने किंवदन्ती, देवदेवीको चर्चा लगायत अनगिन्ती रोचक सन्दर्भले पुस्तक पढूँ पढूँ लाग्ने खालको छ । हरेक सन्दर्भ पढ्दा पाठकका आँखामा चित्रात्मक परिदृश्य आउनु कृतिको सबल पक्ष हो । नियात्रा भए पनि भाषिक मिठासले गर्दा कुनै आख्यान पढिरहेको प्रतीत हुन्छ । साक्ष्य स्वरुप कृतिका केही गद्यांश यहाँ उद्धृत गरिन्छः
‘चारपाटे रुमालजस्तै चिटिक्क परेका खेतका गरा । सुत्ला च्यापेका मकैका बोट । तोरीको पहेँलो रङ । बसन्ते गहुँका बाला । हरिया सागसब्जीले भरिएका छन् करेसाबारी । हरित क्रान्तिको सूक्ष्म दृष्टान्त हो यो । श्रम गर्न सके के फल्दैन चितवनको माटोमा ? धान यहीँको । मकै यहीँको । तरकारी यहीँको । भुटुन यहीँको । सबैथोक तरोताजा खान पाउँछन् यहाँ आउने पाहुनाले ।’ (पृष्ठः६४)
‘खोलामा डुबुल्की मार्दाको जस्तै जङ्गल प्रवेश गर्दा पनि मलाई स्नान गरेकै अनुभूति हुन्छ । श्वासप्रश्वास गहिरिदैँ जाँदा गहिरो शान्तिको आभास हुन्छ । विशाल वृक्षहरु आफ्नो सामु उपस्थित हुँदा चराको चिरबिर र पात पतिङ्गरको स¥याकसुरुक कानमा ठोक्किदाँ इन्द्रिय जागेको महसुस हुन्छ । मान्छेमा अद्भुत भाव सिर्जना गराउँदो रहेछ जङ्गलले । प्राकृतिक चिकित्सा भनेको यही होला सायद ।’ (पृष्ठः१०६)
विदेशीहरुले नेपाल र नेपालीलाई कसरी हेर्छन् भन्ने कुरा विदेशी नागरिकसँग गरेका संवादले बुझन् सकिन्छ । नेपालीहरुले विदेशीलाई गरेको व्यवहार कस्तो छ ? खानपान लगायत नेपालको प्रकृतिले उनीहरुमा कस्तो प्रभाव पारेको छ भनेर उनी सोध्न चाहन्छन् । उपयुक्त मौका पाउनासाथ विदेशीका अनुभव सुन्न बिसिन्नन् उनी ।
हिमालप्रेमी जोनाथन र लेखकको आत्मीय व्यवहारले पाठक पनि मुसुक्क हाँस्छ । पर्यटन क्षेत्रका मानिसले विदेशी पर्यटकलाई यसरी प्रभाव पार्न सक्नु र बारम्बार नेपाल घुमाइरहन सक्नु पनि उल्लेख्य पक्ष हो । त्यो क्षमता पनि लेखक डङ्गोलसँग रहनु अर्को सुखद पाटो लाग्छ । पर्यटन क्षेत्रको अपार सम्भावना बोकेको नगरकोटलाई लेखक सुनको पहाड भनेर चिनाउन चाहन्छन् । नगरकोटको झैँ पर्यटन प्रवर्धन गर्न सके ललितपुरको गोदावरीमा अवस्थित देवीचौर पनि अर्को नगरकोट बन्न सक्छ भनेर त्यहाँको प्राकृतिक सौन्दर्यताको वर्णन गर्छन् ।
पक्कै पनि यात्रा गर्नु कठिन कार्य हो । यसका दुःख र पीडाको आफ्नै कथा छ । जो कोही यात्राको लागि तयार हुन पनि सक्दैनन् । अझ लेखक कठिनभन्दा कठिन यात्राको साक्षी बन्न पुग्छन् । हप्तौँ लागेर कठिनले पुगिने लेक तथा हिमालहरुमा पुगेर नयाँ नयाँ भूगोल र प्रकृतिको अनुपम दृश्य पाठकसामु ल्याइपु¥याउँछन् । चुम, नुब्री उपत्यकाका कथाहरु नियात्रा साहित्यमा खासै यसअघि लेखिएजस्तो लागेन । पर्यटकीय हिसाबले यति सुन्दर ठाउँहरुको पनि प्रशस्त प्रचारप्रसार हुन नसकेको देख्दा नमिठो लाग्छ । यो पुस्तकले यो अभावलाई थोरै भए पनि पूरा गरेको महसुस हुन्छ ।
पुस्तकमा यात्राका देखिएका केही नरमाइला पक्षहरु पनि आएका छन् । जथाभावी फोहोर गर्ने र व्यवस्थापन गर्न नसक्ने नेपालीको व्यवहारले विदेशी पर्यटकका अघि लेखकको शिर निहुरिन्छ । यो सन्दर्भ पढिरहदाँ समग्र नेपालीको शिर झुकेको महसुस हुन्छ । कहीँकहीँ कुनै कुनै नेपालीले शिष्टतापूर्वक बोल्न नजान्दा पनि लेखकको मन भारी हुन्छ । पहिल्यै सूचना दिएर जाँदा पनि कोठा नपाएर पैतालीस जनासम्म डाइनिङमा सुत्न परेको सन्दर्भले प्रशस्त होटल, लज र रिर्सोटको अभाव खट्किन्छ । बढीभन्दा बढी पर्यटक भित्रयाउन यही आधारभूत कुराहरुमाथि विचार गर्ने पर्छ भनी सम्बन्धित पक्षलाई झकझकाउने कामसमेत गर्छ ।
रोजगारका लागि विदेश चाहार्नु पर्ने अवस्थाबाट मुक्त हुन पनि हामीले हाम्रो पर्यटन क्षेत्रको प्रवर्धन गर्न अत्यन्त आवश्यक छ । सबै पर्यटन व्यवसायीले आफ्नो यात्राको अभिलेखीकरण गर्दैनन् । हजारको संख्याभन्दा बढी होलान् गाइडको लाइसेन्स लिने तर हालसम्म कतिले पुस्तक निकालेका छन् यो एउटा विचारणीय प्रश्न हुन सक्छ । डङ्गोलजस्ता जुझारु, जाँगरिला र पर्यटन क्षेत्रलाई प्रवर्धन गर्न सक्ने लेखक पाउनु समग्र पर्यटन क्षेत्रका लागि खुसीको कुरा हो । कहिले नसुनेको नाम बादलडाँडा हाम्रोमाझ ल्याइपु¥याउने लेखक धेरै धेरै धन्यवादका पात्र छन् यही बादलडाँडा खोज्दैखोज्दै हरेक पाठक प्राकृतिक सौन्दर्यले धपक्क बलेका ठाउँमा बादलडाँडा खोज्नेछ ।
पुस्तकमा नयाँ प्रयोग गरेका छन् लेखकले । यात्राको नाम, यात्रा अवधि, व्यवस्थापक, पदयात्री, गन्तव्य, सहकर्मी आदि सम्पूर्णको नाम हरेक शीर्षकका प्रथम पृष्ठमा दिइएको छ । तिनको अध्ययनबाट पाठकलाई अत्यन्त सजिलो हुन्छ अगाडि बढ्न । लेखकसँगै यात्राअनुभूतिको डोरोमा पाठक पनि सँगसँगै डोरिन्छ र सुखद पठनको बरियोमा बेरिदै जान्छ । ठाउँठाउँमा केही विशिष्ट वाक्यहरु शीर्षवाक्यको रुपमा आएका छन् ती पनि नयाँ प्रयोग प्रतीत हुन्छ । जस्तैः तिब्बती हितोपदेशले भन्छ, विपद्को चट्टान नचढी सुखको घाँसेमैदानमा पुग्न सकिदैन । यस्ता खालका वाक्य प्रायः शीर्षकको शीर्षभागमा राखिएको छ । यसबाट लेखक आफ्नो लेखनलाई विशिष्ट बनाउन मिहिनेत गरेको आभाष पाठकले प्राप्त गर्छ ।
पुस्तकको बीचबीचमा अंग्रेजीमा संवाद छन् । विदेशीहरुसँग कार्यव्यापार हुने भएकोले यसलाई अन्यथा ठान्न सकिदैन । केही वर्णविन्यासगत त्रुटि पनि छन् । नगन्य मात्रामा देखिएका यी त्रुटि आगामी संस्करणमा सच्चिऊन् । पढ्दा पाठकले औला उठाउने ठाउँ पाउने छैन । बादलडाँडा शीर्षकमा पुस्तकको नाम आए पनि कभरले न्याय गर्न सकेजस्तो लागेन । बादलडाँडा र भित्रको विषयवस्तुलाई कभर डिजाइनले अझै सुन्दर बनाउन सकेको भए लेखकको मिहिनेतमा सुनमा सुगन्ध हुने थियो । समग्रमा कृति पठनीय छ । नियात्रा साहित्य मात्रै होइन हरेक विधा, तह र तप्काका पाठकको हृदयलाई उद्वेलित बनाउँछ ।
कृतिमा उल्लेखित विभिन्न स्थानमा यो पुस्तक पु¥याउन सके अतिथिप्रति गरिने हलुका व्यवहारमा पनि आशातीत सुधार आउने थियो । यसका लागि पनि प्रकाशकले आवश्यक पहल गर्न पनि यही पाठकीय समीक्षमार्फत आग्रह गर्न चाहन्छु । हरेक यात्रीले आन्तरिक पर्यटनमा जाँदा अवश्य पनि यो डाँडाका बारेमा सोधखोज गर्नेछ । कलमको शक्ति पनि यही हो आखिर । यति सुन्दर कृति प्रकाशन गरी नियात्रा साहित्यलाई समृद्ध बनाउन खोज्ने र पर्यटन क्षेत्रलाई प्रवर्धन गर्न खोज्ने राजेन्द्रमान डङ्गोललाई धेरेै धेर्रै साधुवाद ।
लेखकः राजेन्द्रमान डङ्गोल
विधाः नियात्रा
प्रकाशकः भुँडीपुराण प्रकाशन
पृष्ठः २७६
मूल्यः ६००/-
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij