२०८२ भाद्र ४ गते बुधवार
राजेन्द्रमान डङ्गोलकृत तेस्रो नियात्रा सङ्ग्रह 'बादलडाँडा'को एक विशेष समारोहबीच राजधानीमा लोकार्पण गरियो ।
लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा•डा• रमेश भट्टराईले विषयवस्तु,परिष्कार, आत्मपरकता, सामूहिक पद्धति आदिका हिसाबले कृति यस वर्ष निस्केका बाईस वटामध्ये सर्वाधिक हस्तक्षेपकारी रहेको बताए । पर्यावरण संरक्षणको सवाल होस् वा लेखनलाई स्थानीय जनजीविकासँग जोड्ने वा विवरण, वर्णन र आत्मानुभूतिको सन्तुलन- यी सबै सन्दर्भमा नियात्राकार अत्यन्तै सचेत र सन्तुलित भएको भट्टराईको कथन थियो । लेखनलाई थप जीवन्त र सशक्त बनाउन नियात्राकारले अन्य चर्चित नियात्राकारका नियात्राकृति अध्ययन गर्न उनले सुझाए । त्यसरी नै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा• धनप्रसाद सुवेदीले भूगोललाई संस्कृति र समाजसँग जोडेका कारण 'बादलडाँडा' एक मानक नियात्रा सङ्ग्रह बनेको अभिमत राखे । आफूले चीनमा भर्चुअल माध्यमबाट अध्यापनरत रहँदा त्यहाँ अध्ययनरत विद्यार्थीहरूले खोजेका उत्कृष्ट सामग्री नपाएपछि सिफारिसयोग्य सामग्री खोजमेल गर्न कम्ती धामा नभएको अनुभव राख्दै 'बादलडाँडा' जस्ता कृति आएकामा आफू प्रसन्न भएको उनको दृढोक्ति थियो ।
प्राज्ञहरूको रारा यात्राका दौरान भएका टीकाटिप्पणीलाई परिलक्षित गर्दै यात्रा लेखनीको अपरिहार्य कच्चा पदार्थ भएको तथ्य साहित्यिक क्षेत्रले जतिसक्दो छिटो मनन गर्नुपर्ने उनको तर्क थियो । यसरी नै कृतिको साङ्गोपाङ्ग टिप्पणी गर्दै कवि तथा समालोचक डा• विन्दु शर्माले कृतिका प्रत्येक मूल शीर्षकमा फोटो भएको, उप-शीर्षकमा समेत सुरुमै यात्राका आयोजक, सहभागी र अन्य विवरण समेटिएकोले यो पृथक् सङ्ग्रह भएको प्रसङ्ग उल्लेख गरिन् । मिहिन सूचना पस्किइएको, स्थानको सूक्ष्म वर्णन र अभिरुचि प्रवर्धन, आर्थिक सम्बन्ध र जनजीविकाको उठान, पर्यावरण र बेथितिबारे तथ्यगत प्रस्तुति, पर्यटन व्यवसायमा देखिएका जोखिम जस्ता सकारात्मक कुरा आएका दाबी गर्दै स्थानीयसँगको संवादमा त्यहाँका पीडाका पन्तरा र सम्वेदनाका पेटारा पनि खोलिए आगामी कृतिहरू थप सशक्त हुने उनको भनाइ थियो । आलोचनात्मक चिन्तनमा नियात्राकारको सीमा रहेको भन्दै मिथक र किंवदन्तीप्रति नियात्राकारको अभिमत के हो ?भन्ने उनको जिज्ञासा थियो । कतिपय सम्वाद प्रयोजनविहीन भएको शर्माको तर्क थियो। त्यस्तै अर्का टिप्पणीकार समालोचक तथा स्तम्भकार राम लोहनीले कृतिकारको भाषामा निकै राम्रो पकड रहेको र नयाँपन दिन सकेकाले नियात्रासङ्ग्रह पठनीय भएको बताए । केही अन्वेषणका निम्ति आफैँलाई हराउने विधा नै नियात्रा भएको दाबी गर्दै सङ्ग्रहमा संस्कृति, डाँडा, गुम्बा मात्र नभई नदीको छङछङे गुञ्जनको समेत वर्णन भेटिने लोहनीको कथन थियो । हरेक नियात्रा तुर्दै गर्दा आफूलाई पनि यस्तै नियात्रा लेखूँ लेखूँ लाग्ने खाले जीवन्तता भएको उनको स्पष्टोक्ति थियो । एक फरक प्रसङ्गमा 'हिमाल कसरी कुमारी हुन्छ ?' भन्ने व्यङ्ग्यात्मक जिज्ञासा पनि उनले राखे ।
नियात्राकार राजेन्द्रमान डङ्गोलले कृतिको सार्वजनिकीकरणपछि कृतिकार मर्ने दाबी गर्दै 'बादलडाँडा' पाठकको दिलदिमागमा रहे मात्र नियात्राकार बाँच्न सक्ला, अन्यथा किमार्थ सम्भव नभएको तर्क गरे । कृति यो रूपमा आइपुग्नुमा धेरै विद्वान समालोचक, समीक्षक र साहित्यकारको साथ र सहयोगले काम गरेको उनको स्वीकारोक्ति थियो । शुभकामना मन्तव्य सिलसिलाको दैलो उघार्दै वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी आङछिरिङ शेर्पाले नियात्राकृति 'बादलडाँडा'ले पर्यटन प्रवर्धनमा दरिलो टेवा पुर्याउने राय प्रकट गरे । हिमाल र पहाडलाई देखाएर मात्र पनि कमाइ गर्न सकिने क्षेत्र पर्यटन भएको परिचर्चा गर्दै यो क्षेत्र आज उपेक्षित हुँदै गइरहेको उनको गुनासो थियो । त्यसै गरी टानका पूर्व अध्यक्ष नवराज दाहाल, प्रा •डा• ऋषिराम शर्मा र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पनि कृति विमोचनको उपलक्ष्यमा नियात्राकारलाई शुभकामना दिएका थिए ।
कवि तथा समालोचक आरएम डङ्गोलले नियात्राकार डङ्गोलको परिचय, व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए भने गाउँ पर्यटन मञ्च(भिटोफ)का महासचिव निशेष थापाले अतिथिहरूको स्वागत गरेका थिए भने धन्यवाद ज्ञापन भिटोफका पूर्व अध्यक्ष बोधराज भण्डारीले गरेका थिए । कवि तथा सम्पादक लक्ष्मी रूम्बाले सहजीकरण गरेको सो कार्यक्रमको अध्यक्षता भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij