२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद सुनील शर्मालाई प्रहरीले पक्राउ गरेकोबारे जानकारी लिइरहेको बताएका छन् ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीले सांसद शर्मा पक्राउबारे जानकारी लिइरहेको एवं किन र के कारणले पक्राउ गरिएको भन्ने आधिकारिक जानकारी लिइसकेपछि पार्टीको धारणा बनाउने बताए ।
प्रमुख सचेतक लेखकले संसद् चलिरहेकै बेला कुनै सांसदलाई पक्राउ गरेमा तत्काल त्यसको जानकारी सम्बन्धित संसद्मा जानकारी गराउनुपर्ने र त्यसबारेमा पनि सभामुखलाई सांसद शर्मा पक्राउ परेको जानकारी तत्काल गराएको हो वा होइन भन्नेबारेमा जानकारी लिने काम भइरहेको बताए । उनले हाउस चलिरहँदा देवानी मुद्दामा सांसदलाई पक्राउ गर्न नपाइने र सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइए पनि कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन् ? के छानबिन गर्ने कुरा हो ? यसमा आधिकारिक जानकारी लिएपछि मात्रै कांग्रेसले आफ्नो धारणा बनाउने बताए ।
‘सुनील शर्मालाई पक्राउ गरेको बारेमा हामीलाई भर्खर जानकारी भएको छ । के कारणले, किन उहाँलाई पक्राउ गरेको भन्नेबारे जानकारी लिइरहेका छौं । त्यसपछि केका लागि र किन पक्राउ गरेको भन्ने कुरा थाहा पाएपछि यसबारे आफ्नो धारणा सार्वजनिक गर्नेछौं । संसद् चलिरहेको बेलामा कुनै पनि माननीय सदस्यलाई पक्राउ गर्यो भने उहाँ जुन हाउसको सदस्य हो त्यसको जानकारी सभामुखलाई तत्काल दिनुपर्ने हुन्छ‚’ उनले भने, सभामुखलाई त्यसको जानकारी दिएको छ कि छैन, त्यो पनि बुझिरहेका छौं । जानकारी दिँदा के मुद्दा हो, किन र कसरी पक्राउ गरेको भन्ने आएपछि हामी बोल्नेछौं ।’
प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलको कार्य सम्पादन समितिको बैठकले शुक्रबार बस्ने संसदीय दलको बैठकबारे एजेन्डाहरू तय गर्नुका साथै त्यसको पूर्वतयारीबारे छलफल भएको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij