Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

विदेशबाट फर्किएका युवाद्वारा स्वरोजगार बनाउन नि: शुल्क कपाल काट्ने तालिम दिन सुरु

विदेशबाट फर्किएका युवाद्वारा स्वरोजगार बनाउन नि: शुल्क कपाल काट्ने तालिम दिन सुरु


  • 2.2K
    Shares

    विदेशबाट फर्किएका युवाद्वारा स्वरोजगार बनाउन नि: शुल्क कपाल काट्ने तालिम दिन सुरु
    images

    चितवन । विदेशमा श्रम बेचेर स्वदेश फर्किएका चितवनका एक युवाले आफूझैँ विदेशिनु नपरोस् भन्नका लागि ३० युवालाई नि: शुल्क कपाल काट्ने तालिम दिन थालेका छन् । तालिमको बिहीबार एक कार्यक्रमबीच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरे ।

    भरतपुरस्थित सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले स्वरोजगार बनाउन स्थानीय युवालाई तालिम दिन सुरु गरेका हुन् । तालिम उद्घाटन समारोहमा श्रेष्ठले आफूले रकम बचाएर नि: शुल्क तालिम गरेकामा सिग्देललाई बधाई दिँदै सहभागीलाई तालिमपछि स्वदेशमै स्वरोजगार बन्न सुझाव दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका डा. निराजन भट्टराई लगायतले आ–आफ्नो धारणा राखेका थिए । विदेशबाट फर्किएर सैलुन सञ्चालन गर्दै आएका सिग्देलले आफ्नो निजी खर्चबाट तालिम दिन लागेका हुन् । उनका अनुसार तालिमका लागि ८३ जनाले दरखास्त दिएकामा उनीहरूबाट ३० जना छनोट गरिएको हो । तीमध्ये छ महिला छन् । 

    ४५ दिनसम्म उनीहरूलाई दाह्री र कपाल काट्ने तालिम दिइने छ । यससँगै उनीहरूले आफैँले सैलुन सञ्चालन गर्न सक्ने उनले जानकारी दिए । शुल्क लिएर तालिम दिँदै सिग्देलले एक जनाको रु २० हजार लिने गरेका छन् ।

    सिग्देलले आफूले सैलुन सुरु गरेको १०औँ वर्षको अवसरमा जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीको नि: शुल्क कपाल काट्दै आएका छन् । हरेक हप्ताको शुक्रबार सैलुनका कर्मचारीले विद्यालयमै पुगेर विद्यार्थीको कपाल काट्ने र स्वस्थ रहन सुझाव दिने गरेका छन् । गएको शुक्रबार सातौँ हप्ता कपाल काटेको उनले बताए । हरेक हप्ता ४५ देखि ६० जनाको कपाल उनको समूहले काट्दै आएको छ । रासस 

     

    प्रकाशित मिति :श्रावण १९ २०८० शुक्रवार - ११:४२:१२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij