Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार

ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार


  • 1.8K
    Shares

    ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार
    images

    पाल्पा। गाउँमै आफूलाई आवश्यक पर्ने सेवा पाएपछि ८० वर्षीय सन्तबहादुर विक हर्षित छन् । 

    बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरु, छिमेकीसँग मनका दु: ख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरु साटासाट गर्छन् । रामपुर नगरपालिका–२ अत्रवासका विक सामाजिक सुरक्षा भक्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षण तथा औषद्योपचार सेवा पाएपछि उनी स्थानीय सरकार नै जनताको सरकार भएको बताउछन् ।

    “उमेरले डाँडापारिको घाम बनेका हामी ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले गाउँघरमा नै आएर सबै सेवा दिन थालेपछि धेरै सुविधा पुगेको छ”, उनले भने, “ज्येष्ठ नागरिक भत्ताको नवीकरण गर्ने, स्वास्थ्य परीक्षण गर्ने, औषद्योपचार कसरी गर्ने भन्ने अहिले पिरलो छैन ।”

    उनी बिरामी भएका बखत पनि धेरै पटक स्वास्थ्य संस्थामा आउने जाने समस्याले उपचार नगरिकन बसे । बुढ्यौली लागेको शरीर, त्यसैमाथि बिरामी परेपछि हिँडेर स्वास्थ्य संस्थामा जाने तागत नहुँदा धेरै पटक घरमै तातोपानीको भरमा बस्नुपरेको अनुभव सुनाए । हिजोआज गाउँमै नि: शुल्क स्वास्थ्योपचार, औषधि सेवा पाउँदा दम, खोकी, रिङ्गटा लाग्नेजस्ता रोगबाट लडेर बस्नु नपरेको उनी बताउछन्।

    वर्षायामका बेला ग्रामीण सडक ठाउँ–ठाउँमा बन्द हुँदा घण्टौँ समय लगाएर हिँडेर सम्बन्धित कार्यालयमा पुगेर सेवा लिन अप्ठ्यारो परेकाले गाउँबाटै सबै सेवा पाउँदा ७० वर्षीया मनकुमारी विक खुसी छिन् । “हामी पढाइलेखाइ नभएका ज्येष्ठ नागरिकलाई कति बेला भत्ता बुझ्ने कागजपत्र नवीकरण गर्ने केही थाहा हुँदैन, वडा कार्यालयबाट समय भएपछि आफैँ बुझेर आएर सबै काम गरिदिनुभएको छ, भक्ता बुझ्ने समय मात्रै बैंकमा जाने गरिएको छ, स्वास्थ्य जाँच गरेर औषधि ल्याएर नियमित सेवन गर्न थालिएको छ”, उनी भन्छिन् । 
           
    गाउँमा बेला–बेलामा स्वास्थ्य परीक्षण, औषधि वितरण हुने भएपछि टाउको दुखेका, ज्वरो आएको, रुघाखोकी, दम, झाडा पखला, सुगर, प्रेसरजस्ता रोग नियमित परीक्षण गराउन थालेको मनकुमारीले बताइन् । ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण सेवा गाउँ/गाउँमा दिन थालेपछि नियमित स्वास्थ्य जाँच गराउने, आफ्ना समस्या स्वास्थ्यकर्मी समक्ष राख्ने, नियमित औषधि सेवन गर्न थालेका छन् । यस कार्यले ज्येष्ठ नागरिक आफ्नो स्वास्थ्यप्रति पहिलाभन्दा धेरै सहज हुन थालेका छन् । 

    ज्येष्ठ नागरिक शारीरिक रुपमा अशक्त हुन्छन्, ढल्कँदो उमेरमा गाउँमै पुगेर सेवा दिनु स्थानीय सरकारको दायित्व भएकाले सोहीअनुसार दुर्गम, विकट, अपायक पर्ने स्थानमा पुगेर विविध सेवा दिने गरेको रामपुर–२ का वडाध्यक्ष कृष्ण बहादुर दर्जी बताउछन् ।

    स्वास्थ्योपचार, सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरण लगायतका सेवा लिन वडाकै स्वास्थ्य संस्था तथा वडा कार्यालयमा आवत जावत गर्न सहज छैन । उमेरले बुढ्यौलीमा टेकेका ज्येष्ठ नागरिकलाई वर्षायामका बेला गाउँका कच्ची सडक भत्कने, पहिरो खस्ने समस्याले यात्रा गर्न कठिन छ । यस परिवेशमा कार्यालयले दुर्गम, विकट ठाउँमा गाउँघरमा नै पुगेर सेवा दिन थालेपछि ज्येष्ठ नागरिकलाई स्वास्थ्योपचार, सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरण लगायतका विभिन्न सेवा लिन सम्बन्धित संस्थामा घण्टौँ समय खर्चेर जानु नपरेको रामपुर २ का वडा सचिव वासुदेव ढकालले बताइन् ।

    रामपुर नगरपालिकाले वडाभित्रका दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकलाई गाउँमै पुगेर सेवा दिन थालेपछि धेरै सजिलो भएको छ । सम्बन्धित वडाका कर्मचारी, जनप्रतिनिधिले समय समयमा नै वडा कार्यालय तथा नगरपालिका कार्यालयको पहुँचमा नभएका, आउनजान निकै झमेला गर्नुपर्ने, सडक सहज नभएका ठाउँमा घरदैलो सेवा दिने गरेको नगर प्रमुख रमणबहादुर थापा बताउछन् ।

    दुर्गम भेगमा परेका बस्ती, टोलमा बेला–बेलामा घुम्ती शिविर आयोजना गरेर ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरण, अपाङ्गता परिचय नयाँ दर्ता तथा नवीकरण, कृषि तथा पशु स्वास्थ्य शिविर लगायतका विभिन्न सेवा प्रवाह भइरहेको नगर प्रमुख थापाले बताए । घुम्ती शिविरले अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता, बालबालिका लगायतका व्यक्तिलाई धेरै सहज बनाएको छ । 

    रामपुर नगरपालिकाको कार्यालय, वडा कार्यालयमा एक दिनको समय बिताएर सेवा लिन बाध्य नागरिकलाई गाउँ–गाउँमा हुने घुम्ती सेवा शिविरले धेरै राहत पुर्याएको छ । गाउँमै सेवा पाइने भएपछि समय बचत, सम्बन्धित कार्यालयमा सेवा लिन आवत जावत गर्दा यातायात खर्च लगायतका विभिन्न समस्या बेहोर्नु नपरेपछि स्थानीयले घुम्ती सेवा शिविर मार्फत धेरै लाभ लिन पाउने छन् । घुम्ती सेवा शिविरमा स्थानीयको आकर्षण बढ्दो छ । रासस 

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - १०:४१:५० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij