Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे नि: शुल्क घाँसको बिरुवा

तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे नि: शुल्क घाँसको बिरुवा


  • 2.1K
    Shares

    तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे नि: शुल्क घाँसको बिरुवा
    images

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चले किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् । 

    पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका ५२३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर नि: शुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताए। 

    उपप्रमुख राईले वडा नं १ दिक्तेलका १००, वडा नं २ सोल्माका ५०, वडा नं ३ बाम्राङका ५०, वडा नं ४ खाल्लेका ३०, वडा नं ५ लफ्याङका ३०, वडा नं ६ नेर्पाका १००, वडा नं ७ दोर्पाचिउरीडाँडाका ५०, वडा नं ९ निर्मलीडाँडाका ३०, वडा नं १३ नुनथलाका ३०, वडा नं १४ बुइपाका ३० र वडा नंं १५ विजय खर्कका ५० जना किसानलाई नेपियर र अम्लिसो जातका घाँसको बिरुवा नि: शुल्क वितरण गरे । 

    त्यसैगरी वडा नं ८ दोर्पाचिउरीडाँडा र वडा नं ९ निर्मलीडाँडाबाट खरिद गरेर ल्याइएको सुपर नेपियर, स्मार्ट नेपियर, रेड नेपियर र बङ्गाली रेड नेपियर तथा वडा नं ३ बाम्राङबाट खरिद गरिएको अम्लिसो जातको घाँसका बिरुवा नि: शुल्क वितरण गरिएको नगर उपप्रमुख राईले जानकारी दिए । 

    पशुपालनलाई व्यावसायिक बनाउन नगरपालिकाबाट यस आवका लागि रु १ करोड बजेट समेत विनियोजना गरिएको राईले बताए । “निर्वाहमुखी पशुपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन यो वर्ष भैँसी र बाख्रामा अनुदान दिने योजना बनाएका छौँ ।

    पशुपालनमा लगानी गरेर मासु र दूधजन्य पदार्थमा नगरपालिकालाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य छ”, उनले भने, “व्यावसायिक पशुपालनका लागि सम्भाव्यता अध्ययनसँगै किसानसँग भेटघाट गर्दै आफ्नै खर्चमा खरिद गरेर उन्नत जातको घाँसको बिरुवा नि: शुल्क वितरण गरेको हुँ । यसले कृषकसमेत उत्साहित भएका छन् ।” 

    पशुपालन तथा व्यावसायिक कृषिका लागि नगरपालिकाले यस आर्थिक बर्षमा ब्याज अनुदान स्वरुप किसानलाई रु ४ करोड रकम उपलब्ध गराउने गरी पहल थालेको जनाइएको छ । जिल्ला स्थित विभिन्न बैंकसँगको सहकार्यमा नगरपालिकाले ब्याज तिरिदिने सर्तसहित नगरपालिका नै जमानी बसेर रकम उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । 

    पन्ध्र वडा रहेको यस नगरपालिकाले पशु तथा कृषि व्यवसायका लागि पकेट क्षेत्र निर्धारण गर्ने तयारी गरेको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रम बनाएर लागू गर्ने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ । 

    कृषि उत्पादनलाई जोड दिने नीति लिएको नगरपालिकाले पशुपालनसँगै फलफूलका बिरुवा वितरण तथा विभिन्न नगदे बालीमा अनुदान दिँदै आएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको यस नगरपालिकामा अनुदान पाएका कतिपय कृषक व्यावसायिक भएका छन् भने कतिपयले काम नै नगरी अनुदान मात्र लिएको गुनासो आउने गरेको छ । 

    दश स्थानीय तह रहेको जिल्लामा कृषकको आम्दानी वृद्धिका लागि सबैले व्यावसायिक कृषि प्रणालीमा जोड दिएका छन् । जिल्लाका कतिपय स्थानीय तहले कृषि उत्पादनलाई आफ्नै क्षेत्रमा प्रशोधन गरेर बजारीकरण गर्नेसम्मको योजना बनाएका छन् । रासस

     

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - ०९:५८:११ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij