२०८२ भाद्र १८ गते बुधवार
यो याममा जुम्लाको काँचो स्याउ बजारमा गएपछि जिल्लाका सरोकारवाला निकायले रोकथाममा चासो देखाएका छन्।
मंगलबार बसेको स्थानीय तहका प्रमुख, स्याउ किसान, स्थानीय व्यापारी, विषयगत कार्यालयका प्रमुख लगायतको सर्वदलीय बैठकले स्याउ परिपक्व भएपछि मात्रै बजारमा लैजाने निर्णय गरेको छ।
व्यापारीले स्याउ खरिद गर्दा कृषि विकास कार्यालयको सिफारिस अनिवार्य गरिएको जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आर्चायले जानकारी दिए। जिल्लाका केही स्थानीय तहको काँचो स्याउ साउनको पहिलो सातामै सुर्खेतमा पुगेपछि जिल्लाको स्याउको गुणस्तरमा प्रश्न उठेको थियो।
स्याउ राम्रोसँग परिपक्व भएपछि मात्रै टिप्न यहाँका आठवटै स्थानीय तहलाई निर्देशन दिएको आर्चायको भनाइ छ। उनका अनुसार काँचो स्याउको बिक्री रोक्न सिफारिसबिना निर्यात गर्न नपाइने निर्णय भएको हो।
जिल्लाको काँचो स्याउ धमाधम बिक्री भएपछि स्थानीयवासीले सामाजिक सञ्जालमा व्यापक विरोध पनि गरेका छन्।
तिला गाउँपालिकाको वडा नम्बर १ को काँचो स्याउ खरिद रोक्न लगाएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन्।
पूर्ण रूपमा पाकेको, परिपक्व भएको, रङ, गुलियो भरिएको स्याउ कृषि प्रविधि, कृषि कार्यालयको सिफारिसका आधारमा मात्र निर्यात गर्ने निर्णय भएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए।
काँचो स्याउ बजारमा जान नदिन सार्वजनिक सूचना समेत जारी गरिने भएको
काँचो स्याउ बजारमा ल्याउने व्यापारीलाई कानुनअनुसार कारबाही गरिने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए।
जिल्लामा अहिले करिब चार हजार दुई सय ५० हेक्टरमा स्याउ खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij