२०८२ भाद्र २३ गते सोमवार
बागलुङ । होटलमा मृत भेटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक निस्कर्ष छ। इलाका प्रहरी कार्यालय भिमगिट्ठे बागलुङका प्रमुख पौडेल होटलमा मृत फेला परेका थिए।
होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय बिनोद कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। बागलुङको बडिगाड गाउँपालिका ६ खालबजारस्थित आशा होटल एण्ड खाजा घरमा उनी मृत अवस्थामा फेला परेका थिए।
साउन ८ गते राति ८ बजेको समयमा होटलमा गएका उनी र होटल सञ्चालकबीच विवाद भएको र त्यसपछि हत्या गरिएको बागलुङका डीएसपी मदन केसीले बताए।
होटल सञ्चालक आशा कुँवर र उनका छोरा बिनोद कुँवरले वरिष्ठ सई पौडेललाई टाउकोमा मुक्काले हानेर लडाएको र छातिमा लात्तिले हानेर बेहोस बनाएपछि पर्दाको कपडाले घाँटीमा कसी हत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष रहेको डीएसपी केसीले बताए।
राति साढे ११ बजे हत्या गरेपछि उनीहरुले घाँटीमा लगाएको सिक्री समेत लगेको खुलेको छ। उक्त सिक्री प्रहरीले किचन र्याकबाट बरामद गरेको छ।
हत्याको आशंकामा प्रहरीले आशा र बिनोदलाई पक्राउ गरेको थियो। सोधपुछका क्रममा संलग्नता पुष्टि भएपछि बुधबार म्याद थपका लागि जिल्ला अदालत लगिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij