२०८२ माघ ८ गते बिहिवार
पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन्।
अभिनेत्री प्रियंका कार्कीको 'द फोर्थ ट्राइमेस्टर' नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि नै श्रीमानसँग सम्बन्ध विच्छेद गरेको बताएकी हुन्।
आफ्नो छोरा दुई वर्षको हुँदा घर छाडेको बताउँदै उनले कार्यक्रममा भनेकी छन्, 'मेरो विवाह बिग्रिसकेपछि त्यो घर छाडेर जाँदासम्म हाम्रो सम्बन्ध एकदमै राम्रो थिएन। हामी एक-अर्कासँग बोल्न पनि सक्दैन थियौं। हामी जहिल्यै झगडा गर्थ्यौं। तर बाबु कोठामा हुँदैन थियो वा नजिक हुँदैनथ्यो। ऊ धेरै नै सानो थियो। छोरा दुई वर्षको हुँदा मैले घर छोडेँ। मलाई धेरै गाह्रो भइसकेपछि म एक्लैले त्यो निर्णय लिएँ। मेरो परिवारले मलाई समर्थन गर्नुभएन। अहिले ठिक छ। त्यो समर्थन लिन पनि मलाई तीन-चार वर्ष लाग्यो।'
उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताइन्। 'मैले सम्बन्ध विच्छेद गर्दा केही लिइनँ। मलाई केही चाहिँदैन, बच्चाको लागि मात्र हेरिदेऊ भनेँ। हामीले समझदारीमै छोराको को-कस्टडी गर्ने निर्णय लियौं। सम्बन्ध विच्छेद गरेर पछुताएको होइन तर त्यति बेला मैले रित्तो महसुस गरेँ,' उनले भनिन्।
श्रीमानसँग सम्बन्ध बिग्रिए पनि छोरालाई उसको बुबा र परिवारबाट कहिल्यै पनि नछुट्ट्याउने आफ्नो सोच रहेको उनले बताइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij