२०८२ भाद्र २५ गते बुधवार
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयमा कार्यरत सहायक संरक्षण अधिकृत राम एकवाल दासले तयार गरी प्रकाशन गरिएको वन रक्षक पदको लोकसेवा तयारी पुस्तकलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
उक्त पुस्तकमा महिलालाई लक्षित गरी प्रयोग गरिएको शब्दावली र वाक्यांशप्रति महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल लगायतका महिला अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले आपत्ति जनाएका हुन्।
उनीहरुले उक्त पुस्तकमा लेखिएको प्रश्नले हाम्रो समाजमा विद्यमान पितृसत्तात्मक सोच र महिलालाई हेर्ने विभेदकारी दृष्टिकोणलाई प्रतिविम्बित गरेको जनाएका छन्।
पुस्तकको सेट २४ को पेज नं। १४३, प्रश्न नं। १८ मा प्रयोग गरिएको प्रश्न र सो को वैकल्पिक उत्तरमा प्रयोग गरिएका शब्दावली र वाक्यांशले महिलाको समग्र पहिचानमा अफवाह फैल्याएको र आत्म सम्मानमा गम्भीर चोट पुऱ्याएको उनीहरुले जनाएका छन्।
यस्ताखाले प्रकाशन नेपालको संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने हक र धारा १७ को स्वतन्त्रताको हक, धारा १८ समानताको हक, धारा २४ छुवाछुत तथा भेदभाव विरुद्धको हक को उपधारा (३) को उत्पत्ति, जात वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने रहेको उनीहरुको तर्क छ।
वन रक्षकको लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक प्रश्नोत्तर
उक्त पुस्तक धारा ३८ महिलाको हक को उपधारा ३ मा महिला विरुद्ध धार्मिक सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन, लगायतका मौलिक हकहरुविरुद्धमा रहेको पनि विज्ञप्तिमा जनाइएको छ।
उनीहरुले वन तथा वातावरण मन्त्रालयमा उच्च पदमा कार्यरत दासको आममहिला माथिको बुझाइ र त्यसलाइ पुस्तक मार्फत नेपालभरीका पाठक समक्ष पुऱ्याउन राखिएको प्रश्न(उत्तर अत्यन्तै आपत्तिजनक, खेदजनक र भर्त्सनायोग्य रहेको जनाएका छन्।
महिलाहरुको संगठनले दास जस्ता व्यक्ति नेपाल सरकारको कुनै पनि पदीय जिम्मेवारीमा बस्ने अधिकार नरहेको पनि जनाएका छन्।
‘सरकारले निजलाई तत्कालै निलम्बन गरि सार्वजनिक रुपमा माफी माग्न लगाई प्रकाशित “नेपाल वन सेवा दिग्दर्शन, गेमस्काउट, वनरक्षक, सफलताको साथी” नाम गरेको पुस्तकलाई तत्कालै प्रतिबन्धित गरी आममहिलाको आत्मसम्मानमा लागेको चोटलाई सम्बोधन गर्नतर्फ ध्यानाकर्षण गराउँदै सरकार समक्ष जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij