२०८२ भाद्र २५ गते बुधवार
गोरखा । राष्ट्रिय विभूति भीमसेन थापाको २४९ औँ जन्म जयन्तीको अवसरमा गोरखाको भीमसेन थापा गाउँपालिकाले साउन ९ गते मंगलबार सार्वजनिक बिदा दिएको छ ।
असार १४ को गाउँ कार्यपालिका बैठकबाट निर्णय गराएर पालिकाभर सार्वजनिक बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।
यस अवसरमा पालिकाभित्रका सरकारी कार्यालय, संघसंस्थाहरु बिदा रहने उनले बताए । मंगलबार वडा नम्बर ८ को चण्डीथानमा अवस्थित भीमसेन थापाको सालिकमा माल्यार्पण लगायतका कार्यक्रम पनि आयोजना गरिएको पालिकाले जनाएको छ ।
वि सं १७१८ मा जन्मिएका थापाको वि सं १७८२ मा निधन भएको थियो । तत्कालीन राजा रणबहादुर शाहका शाही सचिव तथा सल्लाहकार भएपछि उनको उदय भएको हो । रणबहादुर शाहको हत्यापछि त्यसको बदलामा ९३ जनाको हत्या गरी भीमसेन थापाले मुख्तियारी (प्रधानमन्त्री सरहको पद) सम्हालेका थिए ।
भीमसेन थापाकै कार्यकालमा नेपाल विस्तार भएर पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदीसम्म पुगेको थियो ।तर, उनकै कार्यकालमा नेपालले अंग्रेजसँगको विनाशकारी युद्धको सामना गर्नुपरेको इतिहास छ । सुगौली सन्धिमार्फत् नेपालको एक तिहाई जमिन इस्ट इन्डिया कम्पनीलाई बुझाएपछि नै युद्ध रोकिएको इतिहासविदहरू बताउँछन् । भीमसेन थापाको नामबाटै गोरखामा गाउँपालिकाको नामकरण पनि गरिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij