२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘पाइलट प्रोग्राम’को रुपमा पहिलो चरणमा एक सय जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो।
नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा एक सय जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो।
श्रम मन्त्रालय र बेलायती दूताबास, काठमाडौंले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिअनुसार, बेलायत जान इच्छुक नेपाली नर्सले शुक्रबारदेखि आवेदन दिन सक्नेछन्।
श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोट्रल समेत बनाएको छ। बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म https://ferms.dofe.gov.np/ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
सरकारले ‘गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी)’ प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागेको हो। उनीहरूले वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउनेछन् भने बेलायतमा रजिस्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन्। उनीहरूले ५ वर्ष मात्र काम गर्न पाउनेछन्।
नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत भदौमा दुई देशबीच सम्झौता भएको थियो। सम्झौताअनुसार, न्युनतम पीसीएल नर्सिङ अध्ययन पूरा गरेकादेखि नर्सिङमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरेका नर्सले आवेदन दिन पाउनेछन्। तर, आवेदन दिनको लागि आईईएलटीएसमा भने न्यूनतम ७ अंक ल्याएको र दुई वर्षको कार्य अनुभव भएको हुनुपर्छ।
रोजगारीका लागि छनोट भएर बेलायत पुगेकाहरूले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij