२०८२ भाद्र २५ गते बुधवार
गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिका–८, बोर्लाङ्ग स्थित महादेवटार फाँटमा हिउँदे सिञ्चाईका लागि पानी संकलन गर्न पोखरी निर्माण गरिएको छ ।
सुख्यायाममा बाँझो जमिनमा सिञ्चाइको सुविधा पुर्याउन पोखरी निर्माण गरिएको वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठले जानकारी दिए। करिब ५ सय रोपनी बाँझो जमिनमा सिञ्चाईको सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको उनले बताए ।
बुढीगण्डकी नदीको पानी तानेर पोखरीमा जम्मा गर्ने र हिउँको सुख्यायाम महादेवटार फाँटमा हिउँदे तरकारी बालीमा सिञ्चाईको सुविधा पुर्याइने वडाध्यक्ष श्रेष्ठको भनाई छ । महादेवटार लिफ्ट सिञ्चाई योजनाको अन्र्तगत गण्डकी प्रदेश सरकार मार्फत पोखरी निर्माणका लागि बजेट प्राप्त भएको उनले बताए।
‘महादेवटार ठूलो टार हो, वडध्यक्ष श्रेष्ठले भने, ‘सिञ्चाईको अभावको कारण हिउँदको समयमा जमिन त्यत्तिकै बाँझो राख्नुपर्ने बाध्यता यहाँका किसानको छ, तरकारी खेतीका लागि मात्र भनेपनि मोटर लगाएर नदीबाट पानी तानेर सिञ्चाई गर्ने गरी पोखरी निर्माण गरिएको हो ।’
पोखरी निर्माण सम्पन्न भएपछि महादेवटारका करिब २ सय घरपरिवारले करेसाबारीमा हिउँदे सिञ्चाईको सुविधा प्राप्त गर्ने स्थानीयबासी रामकुमार दरैले जानकारी दिए। ‘नदीमा मोटर जडान गरी फलामको पाइप मार्फत पोखरीसम्म पानी तान्ने व्यवस्था गरिएको छ, उनले भने, ‘यो योजनाबाट यहाँका स्थानीयले तरकारी खेती गरी पर्याप्त लाभ लिनसक्ने सक्नेछन् ।’
पोखरीमा जम्मा हुने पानीबाट महादेवटार क्षेत्रको करिब ५ सय रोपनी भन्दा बढी जमिनमा हिउँदका बेलामा तरकारी खेतीमा सिञ्चाई गर्न सकिने उनको भनाई छ ।
‘लिफ्ट मार्फत बुढीगण्डकी नदीको पानी तानेर पोखरीमा पानी जम्मा गरी हिउँदमा तरकारीबालीमा सिञ्चाई गर्ने योजना अनुसार पोखरी निर्माण गरिएको हो, उनले भने, ‘योजना सम्पन्न भएपनि कम्तीमा यहाँका स्थानीयबासीले आफ्ना लागी आफैले तरकारी खेती गर्न पाउने भएपछि बाहिरबाट तरकारी आयात गर्नुपर्ने हाम्रो बाध्यता पनि हट्छ । ’
योजना सम्पन्न भएपनि आगामी हिँउददेखि महादेवटारका किसानहरुले हिउँदे तरकारीबालीका लागि सिञ्चाई सुविधा प्राप्त गर्ने स्थानीयबासी दरैले बताए। योजना सम्पन्न गर्न स्थानीयबासीहरुले उपभोक्ता समिति मार्फत पोखरी निर्माण गरिरहेको उनले जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij